‘नेशनल डे कन्सर्ट’ सम्पन्न

टेलिकमले लियो नेपाली भाषाको हुर्मत

काठमाडौँ । बिहीबार बिहानै  नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्तालाई ‘गज्जब’को  रिङ टोन सहित लिखित सन्देश पठायो। धेरैले के रहेछ भनेर आफ्नो मोबाइल खोलेर हेरे। त्यसमा लेखिएको भाषा र शुद्धाशुद्धिको स्तर भने कन्तबिजोग थियो। 

लेखिएको थियो– “सम्वृद्ध नेपालको आधार, सुचना प्रविधि र सन्चार“

जब कि त्यो सन्देशको शुद्ध भाषा हुनुपर्ने थियो यस्तो‘ समृद्ध नेपालको आधार, सूचना, प्रविधि र सञ्चार

६ अक्षरको सन्देश लेख्दा टेलिकमले समृद्धलाई सम्वृद्ध बनायो भने सूचनाको सू नै उल्टो लेखिदियो। त्यस्तै  सञ्चार आधी ञ् लाई निगुरमुन्टी न को आधा अक्षर लेखेर  झारा टारिदियो  । 

 

यो घटनाले सरकारी स्वामित्वको नेपाल टेलिकमले संविधानमै उल्लेखित नेपाली भाषा शुद्ध नलेखेर दुनियाँलाई रमिता देखाउँदै नेपाली भाषाको समेत हुर्मत लिएको छ । 

टेलिकमको यो ताल देखेपछि पूर्व प्रशासक प्रतीक ढकाललाई समेत असह्यै पीडा भएछ। उहाँले  आफ्नो फेसबुक स्ट्याटसमा  सरकारी भाषाको नमुना भन्दै  यस्तो भाषा प्रयोग गर्नेलाई लठैतको संज्ञा दिँदै थोरै भए पनि लाज लाग्नुपर्ने कडा टिप्पणी गर्नुभएको छ। त्यति मात्र  होइन उहाँले टेकिमका अध्यक्षको हैसियतले सञ्चार सचिव  रामकृष्ण  सुवेदीले नैतिक जिम्मेवारी लिनुपर्ने समेत उल्लेख गर्नुभएको छ।  

साहित्यकार समेत रहेका ढकालले यस विषयमा लेख्नुभएको स्ट्याटस जस्ताको तस्तै: 

सरकारी भाषाको नमुना

“सम्वृद्ध नेपालको आधार, सुचना प्रविधि र सन्चार“

यी लठैतहरूलाई थोरै भए पनि लाज लाग्नुपर्ने !

अलिकति भए पनि दायित्वबोध हुनुपर्ने !!

छवटा शब्द लेख्दा तीनवटामा हिज्जे खत्तम छ ।

विकसित देशतिर भए यसरी भाषामाथि खेलबाड गर्दा कति हर्जाना तिराइन्थ्यो थाहा छैन । हिज्जे बिगारेर लेखिएका शब्दहरू भएको पत्रमा सही गरेको भनेर राष्ट्रपति फ्रेङ्कलिन डी रुबेल्टलाई त अमेरिकी सिनेटले बोलाएरै ठिङ्ग्याएको थियो । भारतमै भए पनि यो हदसम्मको दादागिरी देखाउँदा अघि नै पक्रेर लगिसक्थ्यो । यहाँ त जसले जति बिगार्न सक्यो, त्यति नै महान् । कि यसमा पनि कतैको ’भाषाभाँड्ने’ लगानी छ ? टेलिकमको अध्यक्ष हुनुका नाताले सञ्चारसचिवले यसको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?

सबैले सबै कुरा जानेर नसकिएला, यो स्वाभावएक पनि छ । तर त्यही संस्थामा बसेर आफ्नै कार्यक्षेत्रका “समृद्ध, सूचना र सञ्चार“ जस्ता शब्द पनि लेख्न नजानेर लाखौँ विद्यार्थीको सिकाइलाई प्रभावित पार्ने दुष्कर्म गर्ने यस्ता अपराधीलाई सरकारले दण्डित गर्नुपर्छ कि पर्दैन ?

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  २ : १५ बजे