‘सुशासन र समृद्धिको महाअभियानमा सूचना प्रविधि महत्वपूर्ण आधार’

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिका क्षेत्रमा लगानी वृद्धि र यसको प्रयोगलाई सुरक्षित बनाउन आवश्यक नीति, कानुन र पूर्वाधार विकासका काम भइरहेको बताउनुभएको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा उहाँले साइबर स्पेसलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको बताउनुभयो । 

“त्यसकै आधारमा राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम भइरहेको छ”, मन्त्री शर्माले भन्नुभयो, “डिजिटल पूर्वाधारको महत्वपूर्ण आधार दूरसञ्चार क्षेत्रलाई समयानुकूल व्यवस्थित गर्न दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको छ ।”

उहाँले सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको महाअभियानमा सूचना प्रविधि महत्वपूर्ण आधार बनेको बताउनुभयो । मन्त्री शर्माले सरकारसँग हातेमालो गर्दै सूचना प्रविधिको विकास र प्रयोगमार्फत समृद्धिको यात्रामा अगाडि बढ्ने अभियानमा साथ सहयोगका लागि आह्वानसमेत गर्नुभयो । 

सूचना प्रविधि क्षेत्रमा भएको विकास र विस्तारसँगै नेपालमा पनि यसको प्रयोगमा उल्लेख्य रुपमा बढोत्तरी आएको उल्लेख गर्दै उहाँले विभिन्न सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोग बढेको जानकारी दिनुभयो । 

“दैनिक जीवनमा प्रयोग हुने आधारभूत सेवादेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका कार्यहरुमा विद्युतीय प्रणालीको उपयोग बढेको छ”, मन्त्री शर्माले भन्नुभयो, “राष्ट्रिय परिचयपत्र, एमआरपी, सवारी चालक अनुमतिपत्र, नागरिक एप, एकीकृत कार्यालय व्यस्थापन प्रणाली, कम्पनी दर्ता तथा नवीकरण, कर भुक्तानी जस्ता सेवा प्रवाहका कार्य विद्युतीय प्रणालीबाटै गर्ने गरिएको छ ।”

उहाँले डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई अझै तीब्र र प्रभावकारी बनाउन आधारभूत डिजिटल पूर्वाधारको रुपमा देशभर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिइएको छ । सूचना प्रविधिको प्रयोगका कारण नागरिकले घरैमा बसेर राज्यले प्रदान गरेका सेवाहरु लिन सक्ने अवस्थाको सुरुवात भइसकेको जनाउँदै मन्त्री शर्माले देशका अधिकांश भू–भागमा दूरसञ्चार र अधिकांश वडा केन्द्रमा ब्रोडव्याण्ड इन्टरनेटको पहुँच पुगेको जानकारी दिनुभयो । 

पछिल्लो समय सूचना प्रविधि आर्थिक समृद्धिका लागि नवीनतम एवं उदीयमान क्षेत्रका रुपमा स्थापित हुँदै गएको छ भन्दै मन्त्री शर्माले भन्नुभयो, “अहिलेसम्म हामीले आर्थिक समृद्धिका आधारको रुपमा कृषि, जलस्रोत र पर्यटनलाई प्रस्तुत गर्दै आएकोमा अब नयाँ र उदीयमान क्षेत्रको रुपमा सूचना प्रविधि थप भएको छ ।”

सूचना प्रविधि क्षेत्रको विकासका लागि निजी क्षेत्र निकै उत्साहित भएर आएको उल्लेख गर्दै उहाँले निजी क्षेत्रले सूचना प्रविधि सेवा निर्यातमार्फत बर्सेनि अर्बौं वैदेशिक मुद्रा भित्रयाइरहेको बताउनुभयो । झण्डै एक लाख युवाले देशभित्रै बसेर विभिन्न देशमा सूचना प्रविधि सेवा निर्यात गरिरहेको उहाँको भनाइ छ । 

 “रोजगारीका लागि लाखौं युवाहरु बिदेशिने आजको अवस्थामामा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिले देशभित्रबाटै सेवा निर्यात गरेर बिदेशी मुद्रा आर्जन गर्ने अवस्थाले सूचना प्रविधि क्षेत्रको व्यवस्थित विकास गर्दै यसमा आवश्यक लगानी आकर्षित गर्न सकियो भने यसलाई समृद्धिको ढोका खोल्ने महत्वपूर्ण आधारको रुपमा चाँडै स्थापित गर्ने बलियो संभावना छ”, मन्त्री शर्माले भन्नुभयो । 

उहाँले दूरसञ्चार पूर्वाधारको क्षेत्रमा भइरहेको दोहोरो लगानीको अन्त्य गर्न पूर्वाधार सहप्रयोगको नीतिलाई आवश्यक पुनरावलोकन गरी प्रभावकारी कार्यान्वयन गर्नु जरुरी रहेको औँल्याउनुभयो । उहाँले सूचना प्रविधि उद्योग र बढिरहेको आइटीसम्बन्धी सेवा निर्यातलाई व्यवस्थित बनाउनका लागि आइटी हब सञ्चालन गर्नु अनिवार्य भइसकेको बताउनुभयो । 

“सूचना प्रविधिसम्बन्धी सेवा निर्यातलाई प्रवर्धन गर्न सूचना प्रविधि उद्योग र स्टार्टअपहरुलाई एकै थलोबाट सञ्चालन गर्ने गरी आवश्यक पूर्वाधार निर्माण गर्न सकियो भने यसबाट देशभित्र र बाहिरका लगानीकर्ताको पूँजी तथा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्तिको ज्ञान, सिप र श्रमको एकीकृत परिचालन गर्ने वातावरण बन्नेछ”, मन्त्री शर्माले भन्नुभयो । 

 सूचना प्रविधिको प्रयोग सुरक्षित बनाउन देशभर डिजिटल साक्षरता एवम् जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सूचना प्रविधिको क्षेत्रमा विश्व समुदाय धेरै अगाडि बढेपनि नेपालमा अझै डिजिटल डिभाइड बाँकी नै छ । एकातिर सबै ठाउँका जनताको सूचना प्रविधिमा पहुँच स्थापित गर्नुपर्ने छ भने अर्कोतिर सबै नागरिकले समानरुपमा यसको प्रयोग गर्ने अवस्था पनि सिर्जना गर्नुपर्ने छ । यसका लागि सरकार गम्भीर र प्रतिबद्ध छ ।”

कार्यक्रममा प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले सूचना प्रविधिले दैनिक जनजीवन निकै सहज बनाउनुका साथै मुलुकको आर्थिक रुपान्तरणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । “राष्ट्रको उन्नति र प्रगति तथा समृद्धिमा सूचना प्रविधिको प्रयोगलाई व्यापक बनाइनुपर्छ”, उहाँल भन्नुभयो, “सूचना प्रीवधिलाई समृद्धिको आधार बनाउन सरकरकाले ध्यान दिनुपर्छ ।”

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  १२ : ५९ बजे