बाबु–छोरा दुवैसँग हारे खड्का

काठमाडौं ।  इलाम क्षेत्र नम्बर २ मा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई दुःखद संयोग मिलेको छ । 
उनी बाबु र छोरा दुवैसँग चुनाव हार्ने उम्मेदवार बनेका छन् । २०७९ को निर्वाचनमा कांग्रेसका खड्का नेकपा ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित भएका थिए । 

सुवासको निधनपछि भएको उपनिर्वाचनमा अहिले उनी छोरा सुहाङ नेम्वाङसँग फराकिलो मतान्तरमा हारेका छन् ।

मंगलबार बिहान सकिएको मतगणनामा सुहाङले २७ हजार ७७२ मत ल्याए भने दोस्रो स्थानका खड्काले २१ हजार ९४२ मत पाए ।

मतान्तर बढेर ५ हजार ८३० मत पुगेको छ ।  सभापति शेरबहादुर देउवा पक्षधर खड्कालाई उम्मेदवार बनाउने कुरामा कांग्रेसमा विवाद भएको थियो । इतर पक्षका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापाले भेषराज आचार्यलाई उम्मेदवार बनाउन चाहेका थिए । तर देउवाको अगाडि उनीहरूको केही जोर चलेन ।

निर्माण व्यवयायीसमेत रहेका खड्का कांग्रेसका इलाम जिल्ला सभापति हुन् । साथै उनी नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष पनि हुन् । उनले ग्रासरुटमै रहेर काम गरेको दाबी गर्दै आएका थिए । तर भारी अन्तरले पराजित हुन पुगेका छन् । 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ७ : २६ बजे