माछा कस्तो खाने, कस्तो नखाने ? यसरी चिन्न सकिन्छ

माछा उत्कृष्ट जलीय जीव हो। यो राम्रो पोषण भएको आहारा पनि हो। यसमा शरीरलाई चाहिँने प्रोटीन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, भिटामिन, खनिज र  ओमेगा तीन जस्ता तत्वहरू प्रशस्त पाइन्छन्। जुन मानव स्वास्थ्यको लागि नभइ नहुने तत्वमा पर्छन्। तसर्थ माछा खानु मानव स्वास्थ्यका लागि अपरिहार्य मानिन्छ। 

वैदिक मान्यतामा विष्णु देवताको दश अवतार मध्ये माछा पहिलो अवतार हो। माछालाई प्राचिनकालदेखि सगुन र शुभ चिन्हको रूपमा लिने गरिएको छ। आजसम्म पनि अनेक धर्म, जाति र सम्प्रदायमा हुने शुभ कार्य, पूजा र खानपिनमा माछा नभइ हुँदैन। सनातन हिन्दू, बौद्ध र प्रकृति पुजकहरूका लागि माछा विशेष महत्व राख्ने जीव हो। 

पुरातात्विक खोजहरूले प्राचिन मानव ढुङ्गाको हतियारबाट माछा, जनावर, पन्छी,  र किरा मारेर खान्थे भनेर पुष्टि गरेको छ। पाँच लाख वर्ष अगाडि अस्ट्रेलोपिथेकस मानवले ढुङ्गाको हतियारले शिकार गर्ने गरेको कुरा पुरातत्वविद्हरूले प्रष्ट पारेका छन्। यसै समयमा मानिसले पानीभित्र पाइने माछालाई पनि शिकार गर्थे। 

चीनबाट चार हजार वर्ष पहिले माछा पालन शुरू भएको मानिन्छ। आजकाल सन्सारभर माछा पालन गरिन्छ। मानव निर्मित पोखरीहरूमा पालन गरिने बाहेक प्राकृतिक जलाशयबाट पनि माछा प्राप्त हुन्छ। 

माछा स्वादिलो हुने भएकोले सबैले मन पराउछन्। माछा भन्ने र सुन्ने बित्तिकै सबैको जिब्रो चञ्चल भइ हाल्छ। यसका अनेक परिकार र ब्यञ्जन बनाउन सकिन्छ। आफ्नो स्वाद अनुसार यसलाई अनेक परिकारमा तयार गर्न सकिन्छ। उसिने, तारेर, भुटेर, रस हालेर तथा साँधेर माछाका परिकारहरू बनाउन सकिन्छ। नेपालमा केही वर्ष यता माछाको मःम पनि बनाइने गरेको पाइन्छ। 
जिउँदो वा ताजा माछाको परिकार बनाएर खानु स्वास्थ्यको लगि राम्रो हुन्छ। जिउँदो माछा त प्रत्यक्ष हेरेर चिन्न सकिन्छ। तर ताजा माछा हो कि होइन भनेर चिन्न निकै कठीन हुन्छ। किनकी बजारमा नेपाली उत्पादनदेखि विदेशबाट आयात गरिएका माछा पनि प्रशस्त पाइन्छन्। ठूला सहर बजारमा जिउँदो र ताजा दुबै थरि माछा पाइन्छन्। बजारमा बिक्री गर्न राखिएका सबै माछा ताजा हुँदैनन्। माछा खानका लागि कुन माछा ताजा हो र खान योग्य हुन्छ भन्ने कुरा थाहा पाउन जरूरी हुन्छ। यसमा विचार गर्नु पर्ने कुरा के छ भने, सबैभन्दा राम्रो जिउँदो माछा पकाएर खानु राम्रो हुन्छ। केही वर्ष यतादेखि नेपालका सबै जसो ठूला बजारहरूमा जिउँदो माछाका पसलहरू खुलेका छन्। विर्तामोड, दमक, विराटनगर, धरान, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, कलैया, हेटौडा, काठमाडौं उपत्यका, बनेपा, पोखरा, भैरहवा, बुटवल, दाङ, नेपालगञ्ज, कोहलपुर, सुर्खेत र धनगढी जस्ता सहरहरूमा जिउँदो माछाका पसलहरू खुलेका छन्। अझ राजधानी काठमाडौंमा त पचासभन्दा बढी जिउँदो माछा पसलहरू भएकोले माछाका पारखीहरूलाई सजिलो भएको छ।

ताजा माछा पहिचान गर्न खास गरेर शरीरको रङ, आँखा, गन्ध, मांसपेसीको अवस्था, बिक्रीस्थल, बरफको प्रयोग र अखाद्य रसायनको मिसावट बारे थाहा पाउन जरूरी हुन्छ।

जिउँदो बाहेक खान योग्य ताजा माछाको भने पहिचान गर्न त्यती सजीलो छैन। तर केही सामान्य कुराहरूमा ध्यान दिन सकेमा ताजा माछा पनि पहिचान गर्न सकिन्छ। ताजा माछाको पहिचान गर्न त्यसको शरीरलाई नजिकबाट हेर्नु पर्छ। ताजा माछाको आँखा चम्किलो र शरीर चिल्लो हुन्छ। माछाको शरीरमा हातको औलाले थिच्दा खाल्डो नपर्ने हुनु पर्दछ। जुन माछा धेरै दिन पहिले मरेको हुन्छ, त्यसको आँखा फुस्रो सेतो र भित्रसम्म दबिएको हुन्छ। ताजा माछा हो कि होइन भनेर त्यसको गन्धबाट पनि थाहा पाउन सकिन्छ। किनकी लामो समयअघि मरेको वा पोखरीबाट निकालिएको माछाको गन्ध एकदमै खराब र अप्राकृतिक हुन्छ। अझ कुहिएको रहेछ भने सडेको गन्ध आउछ। कत्ला नझरेको, चिल्लो र चमकदार हुनु पर्छ। पेट फुलेको भए माछा बासी हो भनेर बुझ्नु पर्छ। माछाको कानेपत्र अर्तात् गिल्सबाट पनि ताजा हो कि होइन भनेर पत्ता लगाउन सकिन्छ। यदि माछाको गिल्सको रङ रातो रगत बग्लाजस्तो छ भने त्यो माछा ताजा हो। तर गिल्स फुस्रो सेतो छ भने त्यस्तो माछा ताजा होइन भनेर बुझ्नु पर्छ। ताजा माछाको शरीरमा चिप्लोपना हुनु पर्दछ। हातले छाम्दा खस्रो छ भने त्यो ताजा हुन सक्दैन। 
माछाको मांसपेसीमा एक प्रकारको सफा र पातलो रेखाहरू हुन्छन। त्यस्तो मसिना रेखाहरूको रङ उड्को छ भने माछा ताजा छैन भनेर बुझ्नु पर्छ।  मांसपेसी हल्का रातो वा गुलावी छ भने ताजा हो तर मांसपेसीको रङ कालो वा बढी सेतो देखियो भने त्यस्तो माछा ताजा होइन।  

बिक्री गर्ने स्थलमा राखिएका माछामा कुनै झिङ्गा, भुसुना र ससाना किराहरू झुम्मिएका छैनन् भने त्यस्तो माछा पनि ताजा होइन। बिहानदेखि बेलुकासम्म घाम लाग्ने खुला स्थानमा माछा बिक्री गर्न राखिएको छ भने पनि त्यस्तो माछा ताजा रहनँ सक्दैन। विदेशबाट आयातित माछामा फर्मालिन र अन्य घातक रसायन मिसाइएको पनि हुन सक्छ। यस्तो रसायन मिसाइएको माछा हेर्दा तजा देखिए पनि खान योग्य हुँदैन। तर प्रयोगशाला परिक्षण नगरिकन कुनै रसायन मिसाएको छ वा छैन भनेर निश्चित गर्न सकिँदैन। आयातित माछाको प्याकेटमा खान मिल्ने अन्तिम मिति उल्लेख गरिएको हुन्छ। तसर्थ माछा खरिद गर्दा मिति अनिवार्य रूपमा हेर्नु पर्दछ।

पोखरीबाट निकालेर बजारसम्म ल्याउदा माछामा उचित मात्रामा बरफको प्रयोग भएको हुनु पर्दछ। विदेशबाट ल्याइएका माछामा बरफ र माछाको समान अनुपात राखेर हावा र तातो नछिर्ने थर्माकोल नामक चिसो कायम रहि रहने बक्सामा ल्याइएको हुनु पर्दछ। माछालाई भण्डारण र ढुवानी गर्दा डिप फ्रिज वा बरफमा राखिएको हुनु पर्दछ। यसरी भण्डारण वा ढुवानी गरिएको माछा ताजा रहन्छ र खान योग्य पनि हुन्छ। 

पोखरीबाट निकालेर बजारमा बिक्रीका लागि राखिएका माछा पनि बरफमा राखेर ढुवानी तथा बिक्री गर्नु पर्दछ। माछालाई जथाभावी चलाउने, चोट पुर्याउने, फोहोर ठाउँमा राख्ने, बरफ प्रयोग नगर्ने र घाममा राख्ने काम गर्न हुँदैन। लामो समयसम्म बिक्री नभएको माछा बिग्रेर जाने भएकोले संरक्षणको उपायहरू अपनाउनु पर्छ। सम्भव भएका सबै प्राविधिक उपायहरू अपनाएर माछालाई ताजा अवस्थामा राखि रहन सकिन्छ। यदि कुनै कारणले माछा बिक्री नभइ खान योग्य रहेन भने त्यस्तो माछालाई खाडल खनेर गाड्नु पर्दछ।

माछाका ग्राहकले सकेसम्म नेपालमै उत्पादित जिउँदो माछा उपभोग गर्नु उचित हुन्छ, किनकी यसलाई पहिचान गर्न कुनै समस्या छैन। जिउँदो नपाएमा ताजा माछा खोज्नु पर्छ। ताजा माछाको पहिचान गर्न माथि भनिए जस्तै माछाको शरीर, मांसपेसीको रङ, आँखा, कत्ला, गिल्स, गन्ध, बरफको प्रयोग र बिक्रीस्थल कस्तो छ भनेर आफैले अवलोकन गर्नु पर्दछ। ताजा छ वा छैन भन्ने कुरा निश्चित गरेर मात्र माछा खरिद र उपभोग गर्नु पर्दछ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  २ : १९ बजे