‘एउटै नाउरको सिकार गर्न २३ लाख’

म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

याङ्गुन, म्यान्मा । जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा गरेको म्यान्माको सीमाक्षेत्रमा रहेको महत्वपूर्ण शहर म्यावाडीमा सेना पुनः फर्किएको सैनिक स्रोतहरूले  जानकारी दिएका छन् ।

करेन नेसनल युनियन (केएनयू) र ‘पिपुल्स डिफेन्स फोर्स’का लडाकुहरूले गत अप्रिल १० मा म्यावाडीको आकर्षक व्यापारिक केन्द्र म्यावाडीमा रहेका करिब २०० सैनिकलाई त्यहाँबाट पछि हट्न बाध्य बनाएका थिए । 

थाइल्याण्डको माए सोत शहरसँग म्यावाडी जोड्ने पुलमा सेना र जातीय विद्रोही समूहबीच भएको झडपपछि हजारौं मानिस भागेर थाइल्याण्डतर्फको माए सोत शहरमा शरण लिन पुगेका थिए भने झडपपछि पुलबाट सेना पछि हटेको थियो ।
जुन्टाका प्रवक्ता जाउ मिन टुनले म्यावाड्डीमा यसअघि खाली गरिएको सैन्य अड्डालाई सङ्केत गर्दै एएफपीसँग भन्नुभयो, “हाम्रा सेना २७५ सैनिक सैन्य शिविरमा पुनः पुगेका छन् ।”

उहाँले मङ्गलबार शहरमा भिडन्त भएको हो वा होइन भन्नेबारे केही पनि उल्लेख नगरीकन सेनाको अझै पनि म्यावाडीमा पूर्ण नियन्त्रण नभएको बताउनुभयो । 

नाम नबताउने शर्तमा अर्का एक सैन्य स्रोतले एएफपीलाई बताएअनुसार सेनाले मङ्गलबार २७५ बेस लाई पुनः कब्जामा लिएको बतायो ।

स्थानीय बासिन्दाका अनुसार सेनाले हालैका दिनहरूमा म्यावाडीको वरपर हवाई आक्रमण गरेको छ र शहरतर्फ थप बल पठाएको छ ।

जाउ मिन टुनका अनुसार म्यावाडी जाने बाटोमा पर्ने कावकारिक शहरवरपर लडाइँ जारी छ ।

उहाँले भन्नुभयो, “अहिले सेनाले उक्त सहरलाई नै नियन्त्रणमा लिएको छ ।”

स्थानीय सैन्य–सम्बद्ध लडाकू ‘क्यारेन स्टेट बोर्डर गार्ड फोर्स’ ले म्यावाडीको धेरै भाग नियन्त्रण गरेको जनाएको थियो । 

म्यावाडीको वरिपरि हालै भएको लडाईंमा यसले के भूमिका खेलेको थियो भन्ने स्पष्ट छैन ।

म्यान्मारमा सन् २०२१ मा सेनाले गरेको ‘कू’ पछि सुरु भएको द्वन्द्वले थाइल्याण्डसँगको दुई हजार ४०० किलोमिटर लामो सीमातर्फ नागरिकहरू सुरक्षाको लागि दैनिक पलायन हुने गरेका छन् । 

थाइल्याण्डका विदेशमन्त्रीले मङ्गलबार मे सोतको भ्रमण गरी द्वन्द्व अन्त्यका लागि आह्वान गर्नुभएको छ । 

सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरी प्रजातन्त्रमाथिको प्रयोग अन्त्य गर्दै दक्षिणपूर्वी एशियाली राष्ट्र म्यान्मालाई उथलपुथलमा धकेल्ने गरी जुन्टा सत्तामा आएको थियो ।

यस घटनाले जातीय विद्रोही समूहहरूसँग नयाँ द्वन्द्व निम्त्यायो र दर्जनौं नयाँ ‘पिपुल्स डिफेन्स फोर्सेज’को जन्म भयो ।
 विश्लेषकहरूले उनीहरूको प्रभावकारिताले सेनालाई आश्चर्यचकित पारेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यो लडाइँका कारण २५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ७ : ०२ बजे