देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

देशले खोजिरहेको मान्छे : ‘गणतन्त्रको गौरव’ विद्यादेवी भण्डारी

“छाडेर काम सारा एक काम खोजी रहेछु, यो देशमा म एउटा मानिस खोजिरहेछु” डा. विश्वनाथ प्रेमको रचना र शिशिर योगीको गायन रहेको यो गीतमा लुकेको मर्म हामी देशका हरेक सचेत नेपालीहरूले त्यति बेला खोजिरहेका हुन्छौ, जतिबेला देशले एउटा असल अभिभावकीय भूमिकाको केही न केही अभावको महसुस गरिरहेको हुन्छ । जसको अभावमा आफ्नो गन्तव्यमा पुग्न हिँडिरहेको एक यात्रीबीच बाटोमा अलमलिएको अवस्था जस्तै देशले आफ्नो बाटो र गन्तव्य पता लगाउन सकिरहेको हुँदैन । आज हाम्रो मुलुकको गन्तव्य यस्तै यस्तै अलमलिएको अवस्थामा छ । 

देश अलमलिनु भनेको देशको राजनीतिक व्यवस्था अलमलिनु हो । देश अलमलिनु भनेको देशको आर्थिक अवस्था अलमलिनु हो । देशको सामाजिक, सांस्कृतिक अवस्था अलमलिनु हो । देशको स्थायित्व, स्वाधीनता, स्वतन्त्रता, राष्ट्रिय अखण्डता र स्वाभिमानमाथि हस्तक्षेप बढ्नु हो । देश अलमलिनु भनेको हरेक नागरिकहरूले आफूले चाहेका आर्थिक सामाजिक गतिविधि गर्न नपाउने वा गर्न नसक्ने अवस्था हो । अहिले हाम्रो देशको सामाजिक र आर्थिक अवस्थालाई हेर्ने हो भने यो भन्दा अब देश बिग्रने र भत्कने कुनै ठाउँ नै छैन भन्दा हुने अवस्था छ । हो यस्तै अवस्थामा देशले देशको यो दुरावस्थालाई पार लगाउन सक्ने एउटा असल अभिभावक खोज्छ ।

आम रूपमा स्वीकार गर्न नसकिरहिएको तर पूर्वबाट उदाएको घाम जतिकै रहेको सत्य के हो भने अहिले नागरिकहरूमा मुलुकले अवलम्बन गरेको राजनीतिक, आर्थिक र सामाजिक प्रणालीप्रति निकै वितृष्ण बढेको छ । प्रणालीप्रति वितृष्णा रहनुमा हामी सबैका गुण र दोषहरू हुन सक्दछ । हामीकहाँ विद्यमान संवैधानिक प्रावधान, त्यसको कार्यान्वयन पक्ष, सत्ता र शक्ति केन्द्रित राजनीतिमा पुष्टि भएको हाम्रो व्यवहारिक पक्ष आदि जिम्मेवार हुन सक्दछ । तर हाम्रा अनुभवहरूबाट हामीले सिकेका, जानेका र परिमार्जन गरिनु पर्ने आवश्यक ज्ञानहरूलाई समेत हामीले समय सापेक्ष रूपमा परिवर्तन गर्न सकिरहेका छैनौ । आखिर समयको बहावलाई कसैले पनि रोक्न सक्दैन ।

विगत ३४ वर्षको हाम्रो राजनीतिक अनुभव र २०७२ पछिको हाम्रो संवैधानिक प्रावधानलाई मुलुकको आर्थिक र सामाजिक संरचनासँग, मुलुकको नीतिगत अवस्थासँग नमिलाउने हो भने हाम्रो मुलुकको अवस्था आर्थिक सामाजिक अवस्था अझै तल ओर्लन सक्दछ र यो भन्दा अझै बढी राजनीतिक अस्थिरताले प्रश्रय पाउन सक्दछ । तर विद्यमान नेतृत्व यो सत्यलाई स्वीकार गर्न तयार छैन । यदि यो अवस्थालाई स्वीकार नगर्ने हो भने उपरि संरचनाले मात्रै आधार संरचनालाई धान्न सक्दैन । कहिले काहीँ आधार अनुसार पनि उपरि संरचना बद्लिनु पर्दछ ।   

सङ्घीयताको सन्दर्भमा अपनाएका हाम्रा मोडलहरूमा, शासकीय स्वरूपमा हामीले अपनाएको संवैधानिक प्रावधान, समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हामीले अवलम्बन गरेको कानुनी र नीतिगत प्रावधानहरू र यसले मुलुकको राजनीति र आर्थिक रूपमा पारेको प्रभाव, हाम्रो योजना र नीति निर्माण र कार्यान्वयनको पक्षलाई ध्यान नदिने हो भने हामीले अपनाएको राजनीतिक प्रणालीप्रति नागरिकहरूको निराशाको आयतन अझै फराकिलो बन्न सक्दछ । यो विषयमा जिम्मेवार तहबाट परिवर्तनको हिम्मत देखाउनै पर्दछ । तर यो हिम्मत देखिने अहिलेसम्म कुनै छाँट देखिएको छैन । त्यसैले त देशले यो हिम्मत देखाउने एउटा मान्छे खोजिरहेछ । जसले अहिले नागरिकहरूको अनुहारमा देखिएको निराशालाई पोत्न सकोस् । जसले नागरिकहरूको मनमा गढेको पीडाको काँडो चटक्क निकाल्न सकोस् । जसले देश समृद्ध भएको र नागरिकहरूको सुखी बन्ने चाहना पुरा गर्न सकोस् । चरम राजनीतिक अस्थिरतामा गुज्रिएको मुलुकलाई जसले राजनीतिक स्थायित्व तर्फको लम्काउन सकोस् । देशको स्वाभिमान माथि खेलिरहेको बाह्य हस्तक्षेपलाई जसले रोक्न सकोस् । आज देशले त्यही सर्वसम्मत मानिस खोजिरहेको अवस्था छ । 

अहिलेका समकालीन राजनीतिका शीर्ष नेताहरूमा यो यथार्थको महसुस नभएको होइन, तर उहाँहरूबाट यो काम सम्भव छ ? छ, तर एक्लैबाट सम्भव छैन, यसका लागि उहाँहरू मिल्न सक्नु पर्दछ, तर उहाँहरू सबै एक ठाउँ मिल्न सम्भव छ ? भनेर विगतको अभ्यास हेर्ने हो भने यो सम्भावना देखिँदैन । त्यसैले त समकालीन शीर्ष नेताहरूको एक साझा र स्वीकार्य मान्छे फेरी देशलाई एकपल्ट चाहिएको छ । अनुभव, समर्पण, बलिदान, शालीनता, विवादरहित छवि, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रले पत्याएको, देशलाई लामो समय अभिभावकत्व प्रदान गरिसक्नु भएको र सबै शीर्ष नेताले पनि स्वीकारेको नेता विद्यादेवी भण्डारीलाई नागरिकहरूले यति वेला खोज्नु उहाँको आवश्यकता होइन, देशको आवश्यकता हो ।  

उहाँलाई देशले खोज्नु पर्ने राजनीतिका केही वस्तुगत अवस्था र कारणहरू छन् । जब सिंह गुफाभित्र बस्छ नि स्यालहरू सडकमा कराउँछन् । तर जब सिंह सडकमा देखिन्छ, तर त्यहाँ स्याल हुइया मच्चिनै सक्दैन । गणतन्त्र प्राप्ति पछिको १५ वर्षपछि सडकमा अहिले गणतन्त्रका विरुद्धमा प्रतिगमनका स्वरहरू अलि केही तीव्र भएका छन् । मुलुकको आर्थिक अवस्था अब यहाँ भन्दा तल भत्कन सक्ने ठाउँ छैन, त्यति तल पुगेको अवस्था छ । सामाजिक अराजकताले सीमा नाघेको छ । मुलुककासामु हजारौँ बग्रेल्ती समस्याहरू छन्, यी सबै समस्याको जड र यसको पछाडिको कारण भनेको राजनीतिक अस्थिरता हो र यो राजनीतिक अस्थिरताको कारण वर्तमान संविधानले व्यवस्था गरेको शासकीय स्वरूप र निर्वाचन प्रणाली हो । यदि यसो हो भने गणतन्त्रको संस्थागत विकासकालागि पनि बेलाबेलामा संवैधानिक प्रावधानहरूमा परिवर्तन गरिनु पर्दछ । त्यसैले यसको अगुवाइ गर्दै गणतन्त्रको संस्थागत विकासका लागि सबैलाई एक ठाउँमा ल्याउन सक्ने अविकल्प नेता विद्यादेवी भण्डारीलाई यति वेला देशले खोज्नु अस्वाभाविक होइन । 

आज नेपाली राजनीति र नीति निर्माण तहमा महिलाहरूको जुन सम्मानित स्थान छ, त्यसमा उहाँको सोच र सङ्घर्ष दुवैको महत्त्वपूर्ण योगदान छ । उहाँले राजनीतिमा गरेको योगदान, सङ्घर्ष, चट्टानी अडानकै कारण नेपालको राजनीतिमा शीर्ष नेताकोरुपमा स्थापित हुनु भएको हो । तर नेपालका समकालीन शीर्ष नेताहरूमा प्राय सबै नेताहरूले पार्टीको वा देशको कार्यकारी प्रमुखको भूमिकामा दोहोरिएर, तेहरिएर काम गरेको हामीले देखेका छौ । विद्यादेवी भण्डारीले पनि राष्ट्रपतिको भूमिकामा रहेर देशको अविभावकरुपमा लामो समय काम गरे पनि उहाँले आफ्नो सोच र अनुभवलाई यो राष्ट्रको हितमा खर्चन पाउनु भएको छैन । उहाँको राजनीतिक विरासतलाई हेर्ने हो भने उहाँसँग पनि पार्टीको प्रमुख भएर काम गर्ने सम्भावना थियो, देशको कार्यकारी प्रमुख बन्ने सम्भावना थियो । तर उहाँको क्षमता र शालीनता त्यो अवसरबाट परीक्षण हुन नै पाएन, पाएको छैन । त्यसैले पनि गणतन्त्र पक्षधर आम नागरिकहरू उहाँको बदलिएको भूमिकाबाट उहाँबाट मुलुकप्रति गरिने योगदान हेर्न चाहन्छन् । तर यो विषयमा लेखि रहँदा मुलुकले वर्तमानमा उहाँप्रति गरेको अपेक्षा उहाँको इच्छा बाहिर पनि हुन सक्दछ । तर मुलुक आर्थिक रूपमा सङ्कटमा परेको वेला, राजनीतिकरूपमा अस्थिरतामा फसेको वेला नागरिकहरूले त्यसबाट मुलुकलाई पार लगाउने एक सर्वसम्मत सर्वस्वीकार्य अभिभावकको खोजी गर्दछन्, त्यो नाम हो “हामी नेपालीको गौरव, देशको गौरव, गणतन्त्रको गौरव”विद्यादेवी भण्डारी ।

 

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ७ : ५० बजे