हाम्रो समाजमा हामीले मनाइआएका अधिकांश चाडपर्वहरू देवी/मातृशक्ति आधारित छन् । देवी÷मातृशक्ति भनेका महिला हुन् भनेर बुझ्न गाह्रो नहोला । आज हामी चैतेदसैँ मनाइरहेका छौँ । यसलाई चैत्र नवरात्र पनि भनिन्छ । नवरात्र भनेको नवदुर्गासँग जोडिएको विषय हो । यो पर्व दशमीमा नभई अष्टमीमा नै दसैँ भनेर सकाइन्छ । यसो हुनुको पछाडिको कारण देवीलाई रक्तबलि दिइने गरिएको र भोलिपल्ट नवमी (रामनवमी) हुँदा मारकाट नगरिने भएकोले यसो गरिएको अनुमान लगाउन सकिन्छ ।
हुन त सनातन धर्म र संस्कृतिलाई कसै कसैले मनुसँग हेरेर, जोडेर बुझ्ने गरेको पाइन्छ, तर त्यसले पनि मातृशक्तिलाई कमजोर स्थानमा मात्र राखेको देखिँदैन । मनुस्मृति अध्याय ३ को ५६ औँ श्लोकमा यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु नपूज्यन्ते सर्वास्तत्राफा क्रियाः अर्थात् जहाँ महिलाको पूजा(सम्मान) हुन्छ, त्यहाँ देवता खुसी हुन्छन् । जहाँ उनीहरू पूजिँदैनन्, त्यहाँको सबै कर्म निष्फल हुन्छ भनिएको छ । तर, जानेर हो कि नजानेर हो हाम्रो परम्परा धान्ने कर्म चलाउने पुरुष पुरोहित(अगुवा)हरूमाथि यस विपरीत आरोपहरू लाग्ने गरेको छ । यद्यपि, सबै पुरोहितहरू र पुरुषहरूमा यो कुरा लागू हुँदैन । कामना गरौँ, वहाँहरूमाथिको आरोप ‘आरोप’ मात्र प्रमाणित होस् । यसो भनिरहँदा महिलाद्वेषी भनेका पुरोहित—पण्डितहरू मात्र हुन्, अरु क्षेत्र निष्कलंक छ भन्ने अर्थ लगाउन हुनेछैन । महिला प्रतिका केही असहिष्णु प्रवृत्तिको चर्चा गरौँ ।
‘…….नो, नो, नो खुट्टाको पानी, नो व्रत प्लीज !’ यस्तै केही छ । यो गीत गएको तीजछेक सोफिया थापाले गाइन् र एल्बम निकालिन् । युवाहरूमाझ यो गीत लोकप्रिय नै लाग्दथ्यो, तर आजका युवाहरू पारम्परिक पर्वका मर्ममा त्यति नभिजेकाले होला, यसले खासै उत्साह भने ल्याएको थिएन । यस गीतको माध्यमबाट सोफियाले निस्क्रिय रहेको परम्पराको त्यस खण्डको क्रमलाई भंग गर्न खोजेकी थिइन् । गीत मन पराइनु, मन नपराइनु आफ्नै ठाउँमा छ । सबै सर्जकका सबै सिर्जना सबैलाई मन पर्छ वा पर्नैपर्छ भन्ने केही छैन । पछि, उनको कुरा सुन्दा थाहा भयो, उनले त यो गीत गाए वापत ठुल्ठूला धम्की व्यहोर्नु परेको रहेछ ।
यस्तो आसय र सन्देश दिने गीत प्रगतिशील कलाकारहरूले जनवादी गीत भनेर गाउने गर्दथे । अहिले पनि महिला—पुरुष समान हुन् भन्ने मान्यता राख्ने जो कोहीले पनि एउटाले अर्कालाई खुट्टै पखालेर पानी खुवाउने चलनलाई राम्रो मान्न सकिँदैन । महिला र पुरुषबीच प्राकृतिक कारणले हुने भूमिका फरक छ । केही सामाजिक मान्यताका विषय पनि केही हदसम्म सहन सकिने होला । तर महिलालाई मसिन नै ठान्ने, पूरा मानिस नै नठान्ने, मानिस ठाने पनि दासी नै ठान्ने विषय मानवताका दृष्टिले असभ्य र अपराध हो । राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा महिला सम्मानको कुरा उल्लेख गरेका छन्, समानताका कुरा उल्लेख गरेका छन् । देशको संविधान समानताको प्रावधान छ । कुनै धार्मिक, सामाजिक, सांस्कृतिक संघ—संस्थाले पनि महिलालाई उपेक्षित गर्ने, खुट्टा पखालेको पानी खुवाउने प्रावधानको पक्षपोषण गर्न सकेका छैनन् । नत्र, यति ठुल्ठूला महायज्ञहरू सञ्चालन भइरहेका ठाउँमा गाईदान, तुलादान एवं अन्य अनेकौँ क्रियाकलाप सञ्चालन गर्दा, सांस्कृति जागरण, धार्मिक जागरणको कुरा गर्दा श्रीमतीले श्रीमानको खुट्टा पखालेको पानीलाई ‘जल’ भनेर खुवाउने गरेको हुनुपर्ने । तर, सोफियाको विषयमा त्यो ‘शक्ति’ पनि अघि सरेर बोलेको सुनिएन । माइतीघर मण्डलातिर पनि कोही देखा परेनन् ।
महिलालाई दासी बनाइएको र त्यही अनुसार व्यवहार गर्ने गरिएका विषय छन् । तर, त्यसको सन्दर्भ नै बेग्लै छ । यो प्रसंग युद्ध जितेर ल्याइएका र विजयी पक्षद्वारा दास—दासी बनाइएकाहरूमाथि गरिएको उन्मत्त व्यवहारलाई धर्म र संस्कृति भनेर परम्पराको नाममा निरन्तरता दिनेहरू ‘परम्परा’ बारे थोरै पनि ज्ञान नभएका मानिस हुन् । के खुट्टाको पानी खुवाउनु महिलाप्रतिको सम्मान हो ? यसै गरेर देवता खुसी हुन्छन् त ? यतिसम्म नबुझ्नेहरूलाई के भन्ने ? बरु तिनलाई त भन्न सकिन्छ : ते मत्र्यलोके भुविभार भूता, मनुष्यरूपेण मृगाश्चरन्ति अर्थात् मानिस भएर पशुको जस्तो आचरण गर्ने तिनीहरू पृथ्वीको लागि भार हुन् ।
खुट्टाको पानी र तिजका व्रतका विषयमा सोफियासँग होइन धन कमाउन, शिक्षा लिन र विदेश बसेका आफन्तसँग बस्न विदेशिएका आफन्तसँग बुझ्दा यसप्रतिको दृष्टिकोण, व्यवहार र परम्पराको निरन्तरताबारे थाहा हुने थियो । यस्तो गीत—संगीतको विषयमा पनि एकजना महिला कलाकार असहिष्णुताको सिकार बन्नुपरेको एउटा उदाहरण हो । बरु, सोफियाप्रति असहिष्णु बन्नुभन्दा, यसमा शक्ति क्षय गर्नुभन्दा उनी र उनीजस्ता धेरैका बीचमा सनातन परम्पराको विज्ञान र त्यसको निरन्तरताबारे अभियान चलाएको भए केही राम्रो हुँदो हो । अथवा त्यसो भन्नु, त्यसरी गीत गाउनु सर्वथा अनुचित नै थियो भने ‘किन नखाने, खुट्टाको पानी खानैपर्छ’ भनेर त्योभन्दा जोडदार गीत बनाएर घन्काइदिन पर्ने थियो । यसो हुन त सकेन ।
अब राजनीतितिर हेरौँ । राजनीति आफैमा भिन्न—भिन्नका बीचमा संघर्ष र एकता, एकताभित्र भिन्नता र संघर्षको क्रम दोहोरिइरहने क्षेत्र हो । यहाँ स्थायी मित्र र स्थायी सत्रुको मान्यता हुँदैन । यहाँ अनेकौँ बेमेलका बीचमा मेल र मेलका बीच अनमेलका घटना घटिरहन्छन् । सभ्य मानिसहरूले आफ्नो सभ्यताको हदमा रहनु पर्दछ । फेरि सँगै हुँदा वा हुनुपर्दा विगतले आफैलाई नतर्साओस् भन्ने हेक्का राख्नुपर्दछ ।
शास्त्रको प्रसंग लिने र निर्देशन मान्ने हो भने — आत्मनः प्रतिकूलानि परेषां न समाचरेत् ! अर्थात् आफुलाई प्रतिकूल हुने व्यवहार अरुलाई नगरौँ । कम्युनिष्ट राजनीति गर्ने भनिएको एउटा जमात विख्यात गायिका, राष्ट्रिय सभा सदस्य कोमल ओलीको विषयमा पनि त्यस्तै असहिष्णु देखाप¥यो । उनका सारा योग्यता—क्षमता, विधि, स्थानको मानसम्म नरहने गरी ‘सारी सर्काएर, पिडुँला देखाएर’ राष्ट्रिय सभामा लगिएको भन्ने जस्तो घृणित अभिव्यक्ति सार्वजनिक भयो । पार्टीभित्र उनीभन्दा योग्य र बलिया दाबेदार अरु थिए होलान्, उनको स्थानमा अरुलाई नै लगेको भए हुन्थ्यो होला, यो एउटा सन्दर्भ हुन सक्दछ । तर, उनको योग्यता योग्यतै होइन, उनको क्षमता क्षमतै होइन भने जसरी टिप्पणी गरियो, सारी र पिडुँलाको कुरा गरियो, यो पनि महिला भएकै हुनाले व्यक्त भएको असहिष्णुता थियो । कलालाई योग्यता, क्षमता र कामको विषय नठान्नुलाई के भन्न सकिन्छ ? यस्तालाई नीतिमा भनिएको छ— साहित्य संगीत कला विहीन, साक्षात् पशु पुच्छ विषाणहीन अर्थात् साहित्य, संगीत र कलाविहीन मानिस सिंग र पुच्छर नभएको पशु हो ।
सामन्तवादको अन्त्य भइसकेको र समाज अब समाजवादी क्रान्ति उन्मुख विचारको खेतिपातिमा लागेका केही मानिसहरू अहिले परिवार नै सामन्त÷जमिन्दारको दास बन्ने प्रथाको कमलरी जीवनबाट मुक्त भएर राजनीतिमा सक्रिय, नेकपा एमाले केन्द्रीय सदस्य, प्रतिनिधि सभा सदस्य शान्ता चौधरीलाई पनि अहिले तुच्छ शब्दबाण प्रयोगमा छन् । उनीहरू अहिले पनि शान्ता चौधरीलाई कमलरी नै देख्न चाहन्छन् । उनी बोलेको सुहाँदैन भन्दैछन् । उनका मुक्तिदाता थिए रे कोही र उनको राजनीतिक कमलरी बन्नपर्छ रे शान्ता चौधरी पनि । उनी स्वतन्त्र ढंगले बोल्न हुँदैन रे, उनको औकात त्यस्तो होइन भनेर औकात सिकाउँदैछन् । गरिबी र दासत्वबाट माथि उठ्न अरुले हुन्छ, भएको छ । तर, शान्ता कमलरी हुन्, दासत्वबाट मुक्त महिला हुन्, त्यसैले उनीप्रति सहिष्णु हुन सकिँदैन भन्ने आसय प्रकट छन् ।
यति मात्र होर ? राजनीतिमा संभावित अस्थिरताको लोकतान्त्रिक विकल्पको रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिधि सभा विघटन र ताजा जनादेशको मिति तोकियो । यस विषयलाई प्रतिगमन देख्ने एउटा हुलले सडक आन्दोलनको सर्कस ग¥यो । राजनीतिमा सहमति मात्र हुँदैन, असहमति पनि हुनु स्वाभाकिै हो । संवैधानिक विषय भएकोले न्यायालयमा मुद्दा जानुलाई पनि अस्वाभाविक मान्न मिल्दैन । तर, न्यायालयमा मुद्दाको सुनुआइ भइरहेकै बेलामा जुलुसमा गणतन्त्रको प्रतिक मानिएको सम्मानित र गरिमामय राष्ट्रपति पदमा आसीन व्यक्तित्वमाथि नै अभद्र, अशिष्ट, उच्छृंखल नारा भट्याइयो । ती नारामा महिला अस्मिता र वैधव्यमाथि प्रहार भएको बिर्सिएको छैन ।
हामीले हाम्रा सांस्कृतिक पर्वहरूमाथि गौरव गरिरहँदा तिनीहरूका आधार पक्षमाथि ख्याल गर्नुपर्दछ । संस्कृतिको अनुशीलन भोजभतेरमा सीमित पार्न हुँदैन । बोक्रे तडक—भडक प्रदर्शन गर्न आवश्यक छैन । आजापूजा गर्नेले पनि मन्त्रका सारलाई व्यवहारमा लागू गर्नुपर्दछ । भनिएकै छ नि— मन्त्रार्थाः सफला सन्तु…आदि अर्थात् मन्त्रका अर्थ सार्थक होऊन् । हाम्रा सांस्कृतिक पर्वको माध्यमबाट हाम्रो परम्परा र पुर्खाबाट प्राप्त विरासतलाई अझ सारगर्भित, सद्भावमय, सहिष्णुतायुक्त बनाऔँ । महिलामैत्री संस्कृतिलाई महिलाद्वेषी नबनाउँ । चैते दसैँको शुभकामना ।
प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार ११ : १९ बजे
प्रतिक्रिया