साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना   

कैलाली  । कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् ।

जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।    
    
सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले उक्त दुईवटै नयाँ बिओपीको उद्घाटन संयुक्तरुपमा गर्नुभयो ।

सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीको काँधमा राज्य र जनताको सेवा र सुरक्षाका खातिर ठूलो जिम्मेवारी आएको बताउनुभयो ।    
    
उहाँले सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रणमा बिओपीको प्रमुख काम भएकाले व्यावसायिक ढङ्गले कार्य क्षेत्रमा खटिन निर्देशन दिनुभयो ।

भजनी नगरपालिकाका उपप्रमुख देवकोटाले बिओपी स्थापनाले सीमा इलाकाका बासिन्दाले सुरक्षित महसुस गरेको र सीमा अपराध नियन्त्रण एवं सीमा सुरक्षा बिओपीले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।    
    
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवर, स्थानीय जनप्रतिनिधिलगायतको सहभागिता थियो ।

एक सय एक किलोमिटर खुला सिमानामा रहेको कैलाली जिल्लामा १६ बिओपी स्थापना भइसकेको र क्रमिकरुपले बिओपीको सङ्ख्या बढाउँदै लैजाने नीति रहेको बताइएको छ ।  रासस 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ६ : ४७ बजे