साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पशुपतिको जग्गामा मनपरी : बगैचा बनाउन छुट्याएको जग्गा गुठी संस्थानले हडप्यो

काठमाडौं । पशुपतिनाथको सिफल भण्डारेश्वरमा रहेको करिब ८ रोपनी जग्गा गुठी संस्थानले भाडामा दिएर तरकारी बजारका लागि संरचना निमार्ण गर्न थालेपछि विवाद शुरु भएको छ । सिफलस्थित धोविखोला किनारमा रहेको पशुपतिको जग्गा गुठी संस्थानले एकलौटी रुपमा भाडामा लगाएको थाहा भएपछि पशुपति क्षेत्र विकास कोषले असन्तुष्टि व्यक्त गरेको हो । 

२०२१ सालको नापीमा भगवानस्थान वडा नं ६ को कित्ता ६२ को ५ रोपनी १२ आना कायम भई जग्गा धनी पशुपति गुठी र मोही मनकामना महेश्वर भारती सिफल कायम भै पुर्जा प्रमाणित गरेको उक्त जग्गा २०६१ पुस २० गते गुठी संस्थानका तर्फबाट प्रशासक दिलीप कुमार भटट र कोषका तर्फबाट सल्लाहकार धर्म प्रसाद गौतमबीच भएको सहमति विपरित गुठी संस्थानले भाडा दिएको कोषको दाबी छ । 

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलन कुमार थापाले दुईपक्ष बीच भएको सम्झौताको बुँदा नम्बर ९ मा पशुपतिनाथ मन्दिर नजिकै रहेको ८ रोपनी जग्गामा बगैचा बनाउने र त्यहाँ फुलेका फूलहरु पशुपतिमा चढाउने सहमति गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,–‘ पशुपतिका लागि बगैचा बनाउन छुट्याएको जग्गा सहमति विपरित एकलौटी ढंगले टहरा निमार्ण हुन थाले जति ताकेता गरेपनि गुठी संस्थानले सहयोग गरेन । ’

कोषाध्यक्ष थापाका अनुसार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषबीच भएको समझदारीमा जग्गा द्धैत स्वामित्वको हुन्छ तर जे गरेपनि दुबैपक्षको सहमति गरेर मात्रै अगाडि बढने उल्लेख छ । कोषले बन्दै गरेको संरचना छिटो भन्दा छिटो रोक्का गरि लिजमा गरिएको सम्झौता रद्ध गर्न सरोकारवाला सवै निकायसँग आग्रह गरेको छ ।
 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १ : २१ बजे