‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमाले सिध्याउने प्रचण्ड–माधव योजना

नयाँ बर्ष २०७८ लाइ स्वागत गरिरहँदा नेपाली राजनीतिमा यो बर्षारम्भ सकारात्मक भएन । त्यसको नेतृत्व लियो कर्णाली प्रदेशले । कोही मुख्यमन्त्री टिक्नु वा नयाँ बन्नुसँग सकारात्मकता वा नकरात्मकता जोडिएको छैन । सत्ताका लागि शुरुभएको संसदीय मुल्य मान्यताविरुद्धको राजनीतिक कदम चिन्ताको बिषय हो ।  

कर्णालीमा २०७८ बैशाख ४ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध एमालेले राखेको अविश्वासको प्रस्ताव एमालेकै चार सांसदले ‘फ्लोर क्रस’ गरेपछि असफल भयो । एमालेमै रहेर एमालेकै ह्वीप नमान्ने प्रदेश सांसदहरु हुन्– प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापा । उहाँहरुले माओवादीका मुख्यमन्त्रीलाई बिजयी गराउनुभयो र आफ्नै पार्टीलाई पराजित गर्नुभयो । 

संसदीय व्यवस्थामा पार्टी संसदीय दलको ह्वीप नमानी ‘फ्लोर क्रस’ गर्नु गम्भीर घटना मानिन्छ । जुन पार्टीबाट प्रदेशसभा निर्वाचित भयो, त्यही पार्टीको निर्देशन नमान्नु भनेको पार्टी परित्याँग नै गरेको अवस्था हो । त्यसको अर्थ यी चार जना सांसद अव एमालेका सांसद रहेनन् । पार्टीबिरुद्ध लाग्ने सांसद प्रकाश ज्वालाले पार्टीले कारवाही गर्ने थाहा हुँदाहुँदै मुख्यमन्त्रीलाई मत दिएको बताउनुभएकै छ । घात गर्नेहरुत प्रष्टै हुनुहुन्छ । अर्को कोणबाट हेर्दा, एमालेमै रहेर पार्टी ध्वंश गर्नेहरु उदागिंनु सकारात्मक नै भयो ।
यो फ्लोरक्रम काण्डले एकैसाथ दुइ राजनीतिक सोच र योजनालाई अघिल्तिर ल्यायो ।

पहिलो, माधवको योजना कार्यान्वयन  
नेपालसहितका निलम्वित चार नेता र उहाँहरुसँग रहनुभएका अन्य नेताहरुका समानान्तर गतिबिधिको लक्ष्य प्रष्ट पार्यो । निलम्वित बरिष्ठ नेता माधव नेपालले बिधि, प्रक्रिया, पद्धतीको आवरणमा एमालेलाई कता डोहोर्याउन खोज्नुभएको हो भन्ने प्रमाणित भयो । १५ बर्ष पार्टी महासचिव भएको एक नेता राजनीतिको उतरार्धमा पार्टी समाप्त पार्ने आत्माघाती बाटोमा योजनाबद्ध रुपमा लाग्नुभयो । ओलीलाइ देखाएर यस्ता कदमको औचित्य प्रमाणित कहिल्यै हुँदैन, त्यो दुस्साहस नगरे हुन्छ ।  

समानान्तर गतिविधि तलैसम्म गरिरहँदा त्यसले माधव समुहको योजना एकतावद्ध र बलियो एमाले निर्माण होइन भन्ने प्रष्टै थियो । तर त्यहाँ शंकाको सुविधासँगै थियो । समानान्तर क्रियाकलाप गरिरहने र अन्तत् फेरी सामुहिक मोलाहिजा गरी पार्टीमै फर्कने सम्भावना पनि हुनसक्थ्यो । तर त्यसका लागि केही महिना लाग्नसक्थ्यो । त्यसोत प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै गुट, समुहसँग अव छलफल नहुने र व्यक्तिगत रुपमा कोही पार्टीमा फर्कने हो भन्ने तीनलाइ स्वागत गरिने बताउनुभएको थियो ।

तर अव माधव नेपालले एमालेमा फर्कने ढोका सँधैका लागि बन्द गरेको देखियो । अपराधपछिको आत्मासमिक्षाको कुनै अर्थ हुँदैन । फेरी एकपछि अर्का पार्टीबिरोधी हर्कत गरिरहने तर पार्टी एकताका पक्षमा रहेको प्रचार गरिरहने त्यो खण्ड पनि अव बन्द भयो । तीन कार्यकाल प्रमुख हुँदा पार्टी औसत र त्यसभन्दा ओरालो लागेको अवस्थामा ओलीले आफ्नो पहिलो कार्यकालमै कुन हैसियतमा पुर्याउनुभयो भन्ने तथ्यहरुबाट प्रमाणित छ । जव पार्टी शक्तिशाली भयो, पार्टीले नागरिकको व्यापक समर्थन बटुल्यो, माधव नेपाललाइ असह्य भयो । ओली नेतृत्वको पार्टी र सरकारले पाएको राष्ट्रिय र अन्तराष्ट्रिय समर्थनबाट आफु कार्यकारी राजनीति नफर्किने आंकलनमा उहाँले बबण्डर मच्चाउनुभयो । र, आज कर्णालीसम्म पुग्दा माधव नेपालको राजनीतिको पछाक्षेप भएको छ ।

दोश्रो, प्रचण्ड–माधव प्रेमको परिणाम 
ठूलो कम्युनिष्ट पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको सपना देख्नुभएका पुष्पकमल दाहाल प्रचण्डले ओलीबिरुद्ध माधव नेपाललाइ भरपुर उपयोग गर्नुभयो । उपयोग गर्दागर्दा उहाँहरुबीच प्रेमको सम्वन्ध समेत विकास भयो । प्रचण्डले माधवसँग आफ्नो गहिरो प्रेम भएको स्मरण गरिरहनुहुन्छ । ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाल अध्यक्ष बन्ने र प्रधानमन्त्रीबाट हटाएर प्रचण्ड प्रधानमन्त्री बन्ने स्वार्थबाट निर्देशित प्रेम र गठवन्धन अन्तत् असफल भयो । किनकी यो पार्टी कार्यकर्ता र नागरिकको मतादेश विपरित बुनिएको जालझेलपूर्ण भूमिगत षड्यन्त्र थियो । माधव नेपालको अध्यक्ष बन्ने सपना भने कार्की पार्टी प्यालेसबाट पुरा भयो किनकी उहाँलाई बिधि प्रक्रिया चाहिएको थिएन, चाहिएको थियो अध्यक्ष, जो पाउनुभयो । जसरी पाउनुभयो, त्यसरी नै सकियोपनि । 

सर्वोच्चले पूर्व हैसियतमा राजनीति गर्न आदेश दिएपछिपनि माधव नेपालको पहिलो रोजाइ रह्यो पेरिसडाँडा र पहिलो नेता रहनुभयो प्रचण्ड । पेरिसडाँडामा गएर प्रचण्डसँग परामर्श गरेपछि उहाँहरुको समानान्तर गतिविधि शुरुभयो । त्यसपछि बारम्बार प्रचण्डले माधव नेपालले सके एमाले कब्जा गर्ने, नकसे माओवादीसँग मिल्ने नीति लिएको र त्यस्तो परामर्श भएको खुलाशा गर्नुभएकै थियो । ती सवै नीति, रणनीति र योजना सार्वजनिक भइरहँदा पनि प्रचण्डले एमालेभित्र खेलेका हुनसक्छन् र माधव नेपाल प्रचण्डको पार्टी प्रवेश गर्नुहुन्न भन्ने ठानिएको थियो । तर त्यो अनुमान गलत सावित भयो ।  

कर्णालीको फ्लोरक्रस काण्डले ती सबै शंकाका सुविधा र आकंलनलाइ असफल पार्यो । प्रचण्ड र माधवको गहिरो प्रेम कर्णालीका प्रकट भयो, दशकै लगाएर बनाएको आफ्नै घर भत्काउन माधव नेपाल लाग्नुभयो । कसैले राजनीतिक आत्माहत्याको बाटो रोज्छ भने त्यसको साक्षी हुनुवाहेक अर्को विकल्प हुँदैन । एमालेबाट अलग भएको घोषणा गरेर अर्को पार्टी गठन वा माओवादी केन्दमा प्रवेश गरेको घोषणा गरेरै यी गतिविधि भएको भए स्वभाविक मानिन्थ्यो ।  आफ्नो घरमा आगो लगाएर छिमेकीमा ओत खोज्ने काम भयो ।

तेश्रो : खुम्चदो पार्टी र जनमत । 
माधव नेपालले किन प्रचण्ड र उहाँको पार्टी रोज्नुभयो, त्यो उहाँलाइ थाहा होला । तर दुबै अहिले अलोकप्रिय र कमजोर हुनुहुन्छ । शायद उहाँहरुकै भाषामा ओली पींिडतको मोर्चा हो कि ? प्रचण्डलाई जनयुद्धका सबै नेताले पालैपालो छाडेर कोही नयाँ पार्टी गठनमा लागे, कोही तुलनात्मक निस्क्रिय भएभने कोही अहिले एमालेमा प्रवेश गरेका छन् । प्रचण्डले यो समिक्षा गरेको देखिदैंन । माधव नेपालसँग गठवन्धन गर्नु बिशुद्ध व्यक्तिगत सत्तास्वार्थ थियो । जुन व्यक्ति जनयुद्धका कमाण्डरहरुबाट परित्यक्त हुन्छ, जनयुद्धका एजेण्डालाई व्यक्तिगत स्वार्थमा लेनदेन गर्छ, त्यो विस्तारित हुँदैन, सिमित हुन्छ । भयो त्यस्तै । 

हुँदाहुँदा सर्वोच्चको फैसलापछि रामबहादुर थापा बादलसहितका प्रतिनिधिसभा र प्रदेशसभाका गरी एक दर्जन बढी सांसदले प्रचण्डलाइ छाडेर एमाले प्रवेश गरिसकेका छन् । पद पाएपनि नपाएपनि एमालेमै बस्छौं भन्दै सांसद र केन्द्रीय नेता एमालेमा आउनुको अर्थ प्रचण्डको औचित्य समाप्त भयो भन्ने लाग्दैन ? प्रचण्डको मात्र यो अवस्था छैन, माधव नेपालका पनि अवस्था यही हो । ओलीसँग हाराहारी मत भएको दावी गर्ने माधवसँग भएका सांसदहरु समेत घर फर्कनुभयो, फर्कनेक्रममा हुनुहुन्छ ।

बिधि, प्रक्रियाका भाषणमा रमाउने तर आफ्ना सांसद र नेताले साथ छोड्दै जाने अवस्थाले के संकेत गर्यो बुझ्न नसक्दा यस्तो हुन्छ । राजनीतिमा दल अदलबदल पनि हुन्छ । तर ठूला नेतालाई यो संकटपूर्ण हुन्छ । एमालेको प्रमुख भएको व्यक्ति सानो कम्युनिष्ट पार्टीको प्रचण्डपछिको तहको नेता बन्न अग्रसर रहनु भनेको उन्नती हो कि दुर्गती ?
कर्णालीको राजनीतिक बिकासक्रमले राजनीतिक पुर्नगठनको संकेत गरेको हुनसक्छ । कर्णालीमा भयो, अन्यत्र पनि यस्ता आकस्मिक आत्माघाती खेल खेलिन सक्छन् । जव संसदीय व्यवस्था मान्दिन, पार्टी मान्दिन कसैले भन्छ भने निकालेर फाल्नुबाहेक के बिकल्प रहन्छ ?

भ्रामक प्रचार
राजनीतिमा रणनीतिक चाल हुन्छन् । राजनीतिमा सत्ता गठवन्धन पनि निर्माण हुन्छन् । अध्यक्ष ओलीमात्रै प्रधानमन्त्री भइरहनुपर्छ भन्ने छैन । ओलीले त्यसो भन्नुभएको छैन । उहाँले भन्नुभएको छ – बहुमत पुर्याएर जसले सरकारको नेतृत्व लिएपनि हुन्छ । संसदीय विधिप्रक्रियामार्फत् हटाउँदा हुन्छ । राजिनामा दिन्न, संसदको सामना गर्छु ।’  यो भन्दा प्रष्ट के हुन्छ ? माओवादीको एकमात्र एजेण्डा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने हो तर त्यसका लागि प्रचण्ड प्रक्रिया अवरुद्ध गरेर बस्नुभएको छ । भर्खरैसम्म प्रधानमन्त्री दावी गर्नेको हालत कस्तो छ भने उहाँले प्रस्ताव गरेको प्रधानमन्त्री बन्न समेत अरु नेता तयार छैनन् । तर प्रधानमन्त्री ओलीबिरुद्ध अराजनीतिक ‘प्रोपोगाण्डा’ को जुन खेती अहिले हुँदैछ, त्यसले समाप्त पार्ने कमजोरलाइ हो, बलियोलाइ होइन । ओली सबैभन्दा ठूलो दलका अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्छ । घुमीफिरी ठूलो दल हैसियत प्रदर्शन गर्ने ठाउँमै हुन्छ । उहाँ शिघ्र निर्वाचनका लागि पनि तयार हुनुहुन्छ र प्रतिनिधिसभाले पूर्ण कार्यकाल पुरा गरोस् भन्ने अदालती चाहनालाइ कार्यान्वयन गर्न तयार हुनुहुन्छ ।

तर कहिले सामन्तकुमार गोयलले भेटेपछि सहमति भएको भन्दै ‘फेक डकुमेन्ट’ ल्याउने र त्यसलाई पानी अनलाइनबाट प्रचार प्रसार गर्ने र कहिले पदकबाट चुच्चे नक्सा गायव जस्ता भ्रामक प्रचार गलत छन् । हुँदै नभएको सहमतिलाइ बक्तब्य बनाएर प्रचार गर्नेहरु नागिंएका छन् । उता, २०७७ मा चुच्चे नक्सा तयार हुन्छ तर २०७६ मा दिने पदकमै नक्सा गायव भनेर रोइलो गर्नेले २०७८ बैशाख १ मा दिएको पदकको चुच्चे नक्सा हेरे वा हेरेनन् ? बिचारको युद्ध लड्दा भयो, सिद्धान्त र नैतिकतालाई मुद्दा बनाउँदा भयो, कोभिड महामारीबिरुद्ध सरकारको प्रभावकारी लडाइलाई उठाए भयो, विकास निर्माणबारे स्वस्थ्य वहस छेड्दा भयो । तर नक्कली धन्दा किन गर्नु ? 

एमालेको प्रभाव र प्रकड जनस्तरसम्म राम्रो छ, त्यसैले अन्य पार्टीलाई एमाले सक्न पाए हुन्थ्यो भन्ने लाग्छ । प्रचण्डको पनि लाइन त्यही हो । राजनीतिमा आफ्नो पार्टी बलियो बनाउने प्राथमिक उदेश्य बन्छ । कसैलाई नेतृत्व मन परेन भने पार्टी छाडेर अर्को रोज्ने वा खोल्ने छुट हुन्छ । अन्याय सहेर बसिरहनुपर्छ भन्ने छैन । तर आफू नेतृत्वमा नहुँदैमा पार्टी सकिन्छ भन्ने निश्कर्ष निकाल्नु गलत हुन्छ । यसलाई बिद्रोह भनिदैन, गद्धारी भनिन्छ । बस्नै मन नलागेपछि बस्नुहोस भनिरहनु हुँदैन । तर त्यसले आफ्नो पार्टी, जनता र देशलाई कस्तो प्रभाव पार्छ भन्ने हेर्नुपर्छ । व्यवस्थाको सीमाभित्र बसेर व्यवस्थाबिरुद्ध गद्धारी चाँही गर्नुहुँदैन ।
  

     
   
 
 

 
 
  
  

  
 

 

 
 

 

 
 
    
 
 
 
   
 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १ : ०८ बजे