‘नेशनल डे कन्सर्ट’ सम्पन्न

हेटौँडा अस्पतालमा डायलायसिस सेवा शुरु हुने

मकवानपुर । हेटौँडा अस्पतालमा वैशाखको दोस्रो हप्तादेखि मिर्गौलाको डायलायसिस सेवा शुरु हुने भएको छ । 

सो सेवा सञ्चालन गर्नका लागि ३ वटा डायलायसिस मेसिन जडान गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । 

मिर्गौला रोगबाट पीडित बिरामीलाई उपचारमा सहजता ल्याउनका लागि हेटौँडा उपमहानगरपालिकाले दुई र शिवम् सिमेन्ट उद्योग प्रालिले एक गरी तीन वटा डायलायसिस मेसिन खरिद गरी अस्पताललाई उपलब्ध गराइसकिएको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी गराउनुभयो । 

उहाँले जिल्लाका विभिन्न गाउँपालिकाबाट डेढ सयभन्दा बढी मिर्गौला रोगबाट पीडितले डायलायसिस सेवा लिन सम्पर्कमा आइसकेको बताउनुभयो । 
    
उहाँका अनुसार रोटरी क्लब अफ हेटौँडाले अबको केही हप्ताभित्रै थप दुई वटा डायलायसिस मेसिन उपलब्ध गराउने भएको छ ।

मुटु रोगको शल्यक्रिया तथा नवजात शिशुको आपतकालीन उपचारका लागि विशिष्ट कक्षको निर्माण र सम्बन्धित विशेषज्ञ चिकित्सक उपलब्ध गराउन अस्पतालले सङ्घीय सरकार र प्रदेश सरकारसँग माग गरेको बताइएको छ । 

यसैगरी आगामी आर्थिक वर्षको पुस मसान्तसम्ममा मुटु रोगसँग सम्बन्धित उपचार सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा।प्रविण श्रेष्ठले जानकारी दिनुभयो । 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ७ : ११ बजे