भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

अध्यक्ष बस्नेतलाई हिमडमरु उपाधि

​​​​​​​काठमाडौँ । नेपाल प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई हिमडमरु उपाधिले सम्मान गरिएकाे छ । हिमाल तथा पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असरबारे सचेत गराउन पत्रकारिता क्षेत्रबाट योगदान पुर्‍याएको भन्दै साहित्यिक पत्रकार संघले बिहीबार  बस्नेतलाई सम्मान गरेको हो ।

साहित्यकार रोचक घिमिरे, कलाकार मदनदास श्रेष्ठ, सगरमाथा आरोही तेम्बाछिरी शेर्पासहितले अध्यक्ष बस्नेतलाई दोसल्ला, माला र प्रमाणपत्रसहित सम्मान गर्नुभएकाे हाे  ।

सम्मानित बस्नेतले हिमाल र पर्यावरण जोगाउन सके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ पनि केन्द्रित हुनुपर्ने बताउनुभयाे  ।  “हिमाल बाँचे मात्रै, जल रहन्छ, पर्या–पर्यटन क्षेत्र रहन्छ हिमाल हेर्न विदेशी आउँछन् । त्यसैले हामी हिमाल बचाउनतिर लागौँ”, उहाँले भन्नुभयो । बस्नेतले देशको सम्पदा, भाषा, संस्कृति, रहनसहन, वेषभूषाको संरक्षण गर्नु पनि समृद्धि भएको उल्लेख गर्नुभयो । विश्वभरका मान्छे, नेपाल, ताल, जङ्गल र हिमाल हेर्न आउने गरेको बताउनुभयो । 

सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले हिमाली क्षेत्रमा बस्नेतको अध्ययन र रुचि रहेको उल्लेख गर्दै आफूले समेत सँगै रहेर काम गरेको अनुभव सुनाउनुभयाे  ।

संघका अध्यक्ष राधेश्याम लेकाली, कलाकार श्रेष्ठ, साहित्यकारहरू घिमिरे, प्रमोद प्रधान, श्रीओम श्रेष्ठ, ठाकुर बेल्वासे, नरेन्द्र श्रेष्ठ, विमल भौकाजी लगायतले साहित्य र पत्रकारिताका क्षेत्रबाट पर्यावरण जोगाउन थप पहल गर्नु जरुरी भएको बताउनुभयाे  ।

 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १२ : ३८ बजे