‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

हमास प्रमुखका ‘तीन छोराको इजरेली आक्रमणमा मृत्यु’

​​​​​​​गाजा । हमासका प्रमुख नेता इस्माइल हानियाले गाजामा इजरेलले गरेको हवाई आक्रमणमा आफ्ना तीन जना छोराहरू र चार जना नातिनातिना मारिएको बताएका छन्। हमास सम्बन्धित सञ्चार माध्यमले उनका छोराहरू यात्रारत कारमाथि गाजास्थित अल शाति क्याम्प नजिक प्रहार भएको जनाएको छ।

हानियाले यो घटनाका कारण इजरेलसँगको वार्तामा हमासको अडान परिवर्तन नहुने बताएका छन्। हमास र इजरेलबीच युद्धविराम गर्न वार्ताका लागि पहल भइरहेका छन्। इजरेलको सेनाले उनका छोराहरू पनि हमासको सैन्य एकाइका सदस्य रहेको बताएको छ। उनीहरूको समूह मुस्लिम पर्व इदको बिदा मनाउन जाने क्रममा हमलामा परेको बताइएको छ। हानियाले अलजजिरासँग आफ्ना छोराहरू हाजिम, अमिर र मोहम्मद युद्धभरि गाजामै बसेको बताएका छन्।हमासले जारी गरेको वक्तव्यमा हानियाका चार जना नातिनातिनाहरू मोना, अमल, खालिद र रजान पनि उक्त आक्रमणमा मारिएको जनाएको थियो। हमासले उक्त आक्रमणलाई “विश्वासघाती र कायर” भनेको छ।

हानियाले कतारको दोहामा घाइते प्यालेस्टिनीहरूलाई भेट्न जाने क्रममा आफूले छोराहरू मारिएको खबर थाहा पाएको बताएका छन्। हमासका कतिपय नेताहरू कतारको राजधानीमा बस्दै आएका छन्। “यदि दुस्मनले मेरा छोराहरूमाथि निसाना साँधेर युद्धविरामका लागि भइरहेका छलफलहरूमा हाम्रो अडान परिवर्तन हुन्छ भनेर सोचेको छ भने त्यो उनीहरूको भ्रम हो,” उनले अल जजिरासँग भनेका छन्।हमासको टेलिग्राम च्यानलमा राखिएको टिप्पणीमा उनले आफ्ना “छोरा र नातिनातिनालाई सहिद बनाएर” दिएको “सम्मान”का लागि ईश्वरलाई धन्यवाद दिएका छन्।

इजरेलले के भन्यो
इजरेलको सेनाले “मध्य गाजा क्षेत्रमा हमासका तीनवटा सैन्य सञ्चालन एकाइहरू समाप्त गरिएको” बताएको छ।

उनीहरू इस्माइल हानियाका छोराहरू भएको इजरेलले पनि पुष्टि गरेको छ। तर इजरेलको विज्ञप्तिमा हानियाका नातिनातिना मारिएको विषय उल्लेख छैन।

गाजामा युद्धबाट प्रभावित सर्वसाधारणहरूलाई विमानहरूबाट राहत सामग्री वितरण गरिँदै आएको छ

वार्ताको प्रयास
इजरेल र हमासबीच युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति जो बाइडनले सीआईए प्रमुख विलियम बर्न्सलाई वार्ता गर्न कायरो पठाएका छन्।हमासले विश्लेषण गरिरहेको भनिएको वार्ताको पछिल्लो प्रस्तावमा हमासले बन्धक बनाएका ४० जनालाई मुक्त गर्ने र त्यसको बदलामा इजरेलले बन्दी बनाएका ९०० जना प्यालेस्टिनीहरूलाई रिहा गर्ने उल्लेख छ।

हानिया हमासका प्रमुख नेता मानिन्छन्। उनी सन् १०८० देखि नै हमाससँग जोडिएका थिए। सन् २०१७ मा हमासको राजनीतिक एकाइ प्रमुखमा निर्वाचित भएका उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो।हमास नेता हानियाको परिवारका मानिसहरू मारिएको यो पहिलो घटना भने होइन। उनका अर्का एक जना छोरा गत फेब्रुअरीमा मारिएको विवरण सार्वजनिक भएका थिए। उनका भाइ र एक जना भतिजको अक्टोबरमा अनि एक जना नातिको नोभेम्बरमा मृत्यु भएको थियो।गत अक्टोबर ७ मा हमासको नेतृत्वमा इजरेल प्रवेश गरेका बन्धुकारीहरूले १,२०० जनाको ज्यान लिएका थिए भने २५० जना भन्दा धेरैलाई बन्धक बनाएर लगेका थिए।

इजरेलले त्यसमध्ये अझै १३० जना बन्धकहरू गाजामा रहेको र त्यसमध्ये कम्तीमा ३४ जनाको मृत्यु भइसकेको बताउने गरेको छ। अक्टोबरमा इजरेलले हमासमाथि सुरु गरेको प्रत्याक्रमणमा हालसम्म ३३ हजारभन्दा धेरै गाजावासीहरूको मृत्यु भएको र अधिकांश सर्वसाधारण रहेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  १२ : ०१ बजे