सफलतालाई छेक्दैन अपाङ्गताले

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० वर्षीय भक्तबहादुर विश्वकर्मा दृष्टिविहीन हुनुहुन्छ । दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा इपिएम (एजुकेसन म्यानेजमेन्ट प्लान)मा स्नातकोत्तर अध्ययनरत विश्वकर्मा शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको परीक्षामा खुला, दलित र अपाङ्ग गरी तीनवटा समूहमा नाम निकाल्न सफल हुनुभएको छ । 

पहिलोपटक शिक्षक सेवा आयोगको परीक्षा दिनुभएका विश्वकर्माले शिक्षा विकास तथा समन्वय एकाइबाट मङ्गलबार नियुक्तिपत्रसमेत बुझिसक्नुभएको छ । आठ वर्षको उमेरमा आँखाको ज्योति गुमाउनुभएका विश्वकर्मा स्थायी शिक्षकमा नाम निकालेर नगरपालिकामा सिफारिस हुनुभएको छ । 

कक्षा १० मा अध्ययनरत नवराज भट्टराईलाई लेखक सहयोगी राखेर परीक्षा दिनुभएका विश्वकर्मा दोस्रो पेपरमा एक सय १० जनाले परीक्षा दिएकामा ७८ जना उत्तीर्ण हुँदा ४९औँ नंमा नाम निकाल्नुभएको थियो । अरूले पढेर सुनाएको भरमा शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण गर्नुभएका दिक्तेलस्थित सुर्केडाँडा आधारभूत विद्यालय बाम्राङमा सिफारिस हुने निश्चित भएको छ । 

विसं २०६९ मा आफ्नै गाउँ खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएका विश्वकर्मा दुई वर्षअघिदेखि दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलमा सङ्गीत शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । विसं २०६५÷६६ र ०६७ सालसम्म तीन वर्ष श्री सङ्गीत पाठशाला डिल्लीबजार काठमाडौँमा बसेर सङ्गीत सिक्नुभएका अहिले साइनो कला केन्द्र, खोटाङका अध्यक्ष हुनुहुन्छ । 

विसं २०७१ देखि सङ्गीतमा लाग्नुभएका विश्वकर्माका छवटा गीत रेकर्ड पनि भएका छन् । गीतसङ्गीतसँगै अध्ययनलाई समेत निरन्तरता दिँदै आउनुभएका विश्वकर्मा दृष्टिविहीन भएर पनि शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर स्थायी शिक्षक हुनुले धेरैका लागि प्रेरणाका स्रोत बन्नुभएको छ । 

कक्षा–८ मा अध्ययन गर्दै गर्दा वैवाहिक जीवनमा बाँधिनुभएका विश्वकर्माको श्रीमतीसहित एक छोरा र एक छोरी छन् । वाद्यवादनमा समेत उत्तिकै दखल राख्नुहुने विश्वकर्माले साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी वेदना राईसँग १२ वर्षअघि अन्तरजातीय विवाह गर्नुभएको हो । 

आँखामा दृष्टि नभए पनि व्याख्यान, प्रश्नोत्तर र छलफल विधिबाट कक्षा शिक्षण गर्ने विश्वकर्माले बताउनुभएको छ । “घरमा पूर्वतयारी गरेर कक्षामा प्रवेश गर्छु । कक्षामा विद्यार्थीलाई पाठ वाचन गर्न लगाएर पनि सिकाउने छु”, उहाँले भन्नुभयो, “मसँग ट्युसन पढाएको अनुभव पनि छ । जस्तै बोटबिरुवाको विषयमा पढाउने हो भने बोटबिरुवा लगेर जरा, काण्ड, पात, फूललगायत देखाएर पढाउन सकिन्छ ।” 

 विश्वकर्मा आठ वर्षको उमेर हुँदा टाउकोमा आएको पिलोका कारण दृष्टिविहीन भएको पारिवारिक स्रोतले बताएको छ । स्वास्थ्यचौकी बाक्सिलामा गएर पिलो फुटाउने क्रममा आँखाको नसा बिग्रेका कारण आफूले ज्योति गुमाएको विश्वकर्माको भनाइ छ । 

उता, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका दृष्टिविहीन उमेश राई र उहाँकी श्रीमती सूर्यमायाँ लिम्बूले पनि विश्वकर्मासँगै स्थायी शिक्षकमा नाम निकाल्नुभएको छ । उहाँहरु दुवैजनाले शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय खोटाङबाट सोमबार नियुक्तिपत्र बुझ्नुभएको छ । 

जन्मजात दृष्टिविहीन राई दम्पतीले मङ्गलबार केपिलासगढी गाउँपालिकाबाट पदस्थापना पत्रसमेत लिइसक्नुभएको छ । राई केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित शुक्रजित मावि र लिम्बू केपिलासगढी गाउँपालिका–३ बास्पानीको मनोकामना आधारभूत विद्यालयमा सिफारिस हुनुभएको छ । 

स्थायी शिक्षकमा नाम निकाल्न सफल दृष्टिविहीन राई दम्पती दुवैजनाले सहयोगी राखेर परीक्षा दिनुभएको थियो ।  राई एक वर्षदेखि भगवती मावि बेलबारीमा मावि राहतमा शिक्षकमा कार्यरत हुनुहुन्थ्यो । 

उहाँकी श्रीमती लिम्बू भने हालसम्म पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा अध्यापन गरिरहनुभएको थियो । खोटाङबाट धरान झरेका राई र बराहक्षेत्र नगरपालिका चक्रघट्टी, सुनसरी निवासी लिम्बूबीच २०७७ सालमा विवाह भएको थियो। 

राई आँखाको उपचारका सिलसिलामा बाल्यवस्थामै धरान झरेको सुनाउनुहुन्छ । धरानमा राईको आँखाको ज्योति फर्किएन तर धरानले उचित शिक्षादीक्षा दिलाएको थियो । स्थायी शिक्षकमा नाम निस्केपछि राई श्रीमतीसहित गाउँ फर्किनुभएको छ । 

दृष्टिविहीन विश्वकर्मा र राई दम्पतीको सफलताले सपाङ्ग व्यक्तिका लागि चुनौती थपिएको छ । मेहनत गर्नेका लागि सफलता चुम्न शारीरिक अपाङ्गताले नछेक्ने विश्वकर्मा र राई दम्पतीको सफलता उदाहरणीय बनेको छ । 

गत जेठ २० गते पहिलो पेपर, असोज १३ गते दोस्रो पेपरको लिखित परीक्षा तथा फागुन २९ गतेको अन्तर्वार्ता भएको शिक्षक सेवा आयोगको परीक्षामा विश्वकर्मा र राई दम्पतीसँगै ७८ जना स्थायी शिक्षक भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा ९२ जना माग भएकामा ७८ जनाले मात्र नाम निकाल्न सफल भएका छन् । 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १२ : ३५ बजे