माओवादीले बझाङमा पनि एमालेलाई सघाउने

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले बझाङमा हुने उपचुनावमा पनि सत्ता सहयात्री एमालेलाई समर्थन गर्ने भएको छ । यही १५ वैशाखमा बझाङ १ को प्रदेशसभा (१) मा उपचुनाव हुँदैछ ।

उक्त उपचुनावमा बझाङमा माओवादी केन्द्रले जनक बुढालाई उम्मेदवार बनाएको थियो । उता एमालेले भने दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ ।

यसअघि इलाम २ मा हुने उपचुनावमा पनि माओवादीले एमालेलाई सघाएको थियो । बझाङमा पनि एमालेलाई सघाउने भएको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएसँगै बझाङमा माओवादीले एमालेलाई सघाउने भएको हो । आज उम्मेदवारी फिर्ता लिने समय हो ।

बझाङमा अहिले पार्टीको बैठक बसिरहेको र केही समयमा यसबारे निर्णय हुने माओवादीका प्रदेश अध्यक्ष हरि चौधरीले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ११ : ४० बजे