‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ ६९ रनले पराजित

काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्धको एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ पराजित भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल ‘ए’ ६९ रनले पराजित भएको हो । यो जितसँगै आयरल्यान्ड ‘ए’ ले शृङ्खला ‘क्लिन स्विप’ गरेको छ ।

आयरल्यान्डले दिएको दुई सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अलआउट भयो । नेपालका लागि अर्जुन कुमालले शतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । उनले ११८ बलमा १०२ रन जोडे । यस्तै, अर्जुन साउदले ३६, देव खनालले ११, नरेन भट्ट र रुपेश सिंहले १५–१५ रन जोडे ।

बलिङतर्फ आयरल्यान्डका बेन ह्वाइटले ५ तथा गाभिन होइले ४ विकेट लिँदा म्याथ्यु फोस्टरले १ सफलता हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ८४ रनको योगफल बनायो ।

आयरल्यान्ड ‘ए’का स्टीफन डोहनीले शतकीय पारी खेले । उनले एक सय २९ बलमा आठ छौका र दुई छक्काको सहयोगमा १०७ रनको योगदान दिए । त्यस्तै पिटर मुरले २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४४ रन बनाए भने म्याथ्यु हम्फ्रेजले २३, मोर्गन टोप्पिङले २१ र फिन ह्यान्डले २० रन जोडे ।

बलिङतर्फ नेपाल ‘ए’का रिजन ढकाल र रञ्जित कुमारले समान तीन/तीन विकेट लिए भने विकास आग्री र साहब आलमले समान एक/एक विकेट लिए । यसअघि पनि भएको दुवै खेलमा नेपाल ‘ए’ पराजित भएको थियो । नेपाल ‘ए’ आयररल्यान्ड ‘ए’सँग पहिलो खेलमा २१ र दोस्रो खेलमा एक सय १४ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ६ : ३५ बजे