उपनिर्वाचन : भोलि उम्मेदवारी दर्ता

काठमाडौं ।   प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा अन्तर्गत बझाङ क्षेत्र नम्बर १ (क)  मा वैशाख १५ गते हुने उपचुनावको लागि मुख्य दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् । चुनावी कार्यतालिका अनुसार भोलि उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

मुख्य दलहरु उम्मेदवार टुङ्गो लगाएर प्रचार अभियानमा जुटिसकेका छन् । बझाङको प्रदेशसभामा भन्दा इलामको प्रतिनिधिसभाको उपचुनावमा धेरैको ध्यान केन्द्रित भएको छ ।

इलाममा कांग्रेसबाट डम्बरबहादुर खड्का, एमालेबाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, एकीकृत समाजवादीबाट जीतबहादुर राई, राप्रपाबाट लक्ष्मी गुरुङ र पहिचान पक्षधरहरूका तर्फबाट डकेन्द्रसिंह थेगिमबीच प्रतिष्पर्धा हुने भएको छ ।

यसैबीच निर्वाचन आयोगले उपचुनावका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । स्वीकृत मतदाता नामावलीअनुसार प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि एक लाख १५ हजार आठ सय ८९ र प्रदेशसभातर्फ बझाङ क्षेत्र नम्बर १ (क) मा ६१ हजार सात सय ४८ जना मतदाता कायम भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ११ : ४७ बजे