नेपालबाट घुसेका तीन जना आतंककारी पक्राउ गरेको भारतको दाबी

काठमाडौं । भारतले नेपालको बाटो हुँदै प्रवेश गरेका तीनजना आतंककारी पक्राउ गरेको बताएको छ । पक्राउ परेकामध्ये २ जना पाकिस्तानी र एकजना  कश्मीरका रहेको जनाइएको छ ।

तीनैजनालाई सीमा क्षेत्र सुनौली नाका नजिकैको गाउँबाट बुधबार राति पक्राउ गरिएको नवभारत टाइम्सले उत्तरप्रदेश प्रहरीलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ ।

उत्तर प्रदेश प्रहरीले पक्राउ परेका आतंककारीले आईएसआई र हिजबुल मुजाहिद्दिनसँग प्रशिक्षण लिएको समेत दाबी गरेको छ ।

उनीहरु पक्राउ परे लगत्तै भारत(नेपाल सीमा क्षेत्रमा हाई अलर्ट घोषणा गरेको पनि उत्तर प्रदेश प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाकिस्तानीमा मोहम्मद अल्ताफ भट र सैय्यद गजनफर तथा कश्मीरका नासिर अली रहेको पनि उसले जानकारी दिएको छ ।

पाकिस्तानी जासुसी संस्था आईएसआईले उनीहरुलाई मुजाहिद्दिनसँग सम्पर्क गराएर प्रशिक्षण दिएको पनि समाचारमा दाबी गरिएको छ ।

यी तीनजनाको भेट गराउन काठमाडौंमा रहेका सलीम नामका आईएसआई एजेन्टले भूमिका खेलेको समेत समाचारमा जिकिर गरिएको छ ।

उनीहरुको साथबाट भारतीय आधार कार्ड, मोबाइल, विभिन्न सीम कार्ड, पाकिस्तानी पहिचान पत्र, विभिन्न देशको मुद्रा बरामद भएको प्रहरीलाई उद्धृत गर्दै नवभारत टाइम्सले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ८ : ५३ बजे