बागमतीमा विना विभागीयमन्त्री रमा आलेमगरले लिइन् शपथ

हेटौंडा । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) बाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मगरलाई सोमबार मन्त्री नियुक्त गरेका थिए । मन्त्रालयको जिम्मेवारी सात दिनभित्र टुंग्याउने प्रतिबद्धता मुख्यमन्त्रीले जनाएको मगरले बताइन् ।

बागमतीमा नेकपा (एकीकृत समाजवादी)बाट श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल र कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ छन् । उनीहरु गत चैतमा गठित नेपाली कांग्रेससहितको सरकारमा मन्त्री नियुक्त भएका थिए ।

बागमतीमा अझै चार वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । ती मन्त्रालयहरुमा एकीकृत समाजवादी र एमालेबीच भागबण्डाको टुंगो मंगलबार लगाइने तयारी छ। एमालेले नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको थियो ।

जसमध्ये एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया १७ चैतमा आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् । रिक्त ६ वटा मन्त्रालयमध्ये १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री भइसकेका छन् ।

बागमती प्रदेश सरकारका १२ वटा मन्त्रालयहरुमध्ये माओवादी केन्द्रले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाइसकेको छ । गंगानारायण श्रेष्ठ आन्तरिक मामिला, युवराज दुलाल भौतिक पूर्वाधार र कुमारी मुक्तान सामाजिक विकास मन्त्री छन् ।

मुख्यममन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय र स्वास्थ्य मन्त्रालय आफैंसँग राखेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ९ : ४३ बजे