गुल्मीमा तीनवटा शव फेला

गुल्मी । गुल्मी जिल्लाका विभिन्न ठाउँमा तीनवटा शव फेला परेका छन् । जिल्लामा दुई दिनको अन्तरालमा छुट्टा–छुट्टै प्रकृतिका घटनामा शव फेला परेका हुन् ।  जिल्लाको गुल्मीदरबार गाउँपालिका –२ निवासी १२ वर्षका प्रिन्स सारु बडीगाड खोलामा मृत फेला परेका हुन् । बडिगाड खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बालक शनिवार दिउँसो बडीगाड खोलाको सोता भन्ने स्थानमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बेपत्ता बालकलाई प्रहरी र स्थानीयले आइतबार बिहान खोज्ने क्रममा शव फेला पारेको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधारीले जानकारी दिनुभयो । पौडी खेलेकै स्थानमा फेला परेका बालकको शवलाई पोस्टमार्टमकाे लागि गुल्मी अस्पतालमा ल्याईएको छ । 

त्यस्तै जिल्लाको मुसिकोट नगरपालिका–४ का २१ वर्षीय सन्दिप कुमालको खोलामा डुबेर मृत्यु भएको छ । उनी  शुक्रवार दिउँसो वडिगाड खोलामा माछा मार्नको लागि जाल हान्नेक्रममा अचानक खोलामा डुबेका थिए । उनलाई १५ वर्षको पवन कुमालले स्थानीयलाई खबर गरेर उद्धार गरेका थिए । अचेत अवस्थामा रहेका कुमाललाई उपचारको लागि लुम्बिनी प्रभास हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

त्यस्तै जिल्लाको सत्यवती गाउँपालिका–६ का ४८ वर्षका घनश्याम भण्डारी मृत फेला परेको प्रहरीले जनाएको छ । उनी शनिवार दिउँसो घरबाट हिँडेका थिए । बेलुकासम्म सम्पर्कमा नआएपछि खोज तलास गर्ने क्रममा आइतबार बिहान सोही गाउँपालिकाका –५ को हंसरा स्थित रुम्दाखोल्सामा घोप्टो अवस्थामा शव फेला परेको थियो । मृतक भण्डारीले अत्यधिक मदिरा सेवन गर्ने बानी रहेको प्रहरीले जनाएको छ । मृतक भण्डारी विगत लामो समयदेखि आफ्ना दाजुसँगै बस्दैआएका थिए । घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको कमान्डमा प्रहरी खटिएको छ । मृतकको श्रीमती (२ छोरी, १ छोरा सहित) माइतीघर चितवनमा बस्ने गरेको भन्ने बुझिएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ३ : १७ बजे