बसको ठक्करबाट आमाको मृत्यु,छोरा घाइते

विराटनगर  । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरीमा यात्रुवाहक बसले बिहीबार बिहान मोटरसाइकललाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ । दुर्घटनामा एकजना युवक घाइते भएका छन् । मृतक र घाइते आमा-छोरा हुन् ।

हरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १-०२-०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई बिहान ८ बजेतिर कानेपोखरी गाउँपालिका-७ मा ठक्कर दिँदा दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका-८ की ४४ वर्षीया मञ्जु कटुवालको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी मञ्जुको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहान ९:३० बजेतिर मृत्यु भएको हो । 

मोटरसाइकल चालक २१ वर्षीय अमित कटुवाल घाइते भएका छन् । अवस्था मध्यम रहेको उनको न्युरोमै उपचार भइरहेको एसपी कार्कीले बताए ।  दुर्घटनालगत्तै बस र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका-२ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । 

बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  १२ : ५१ बजे