साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कोरोनाका दश संक्रमितको गम्भीर अवस्थामा उपचार हुँदै, समुदायस्तरमा फैलिएको आशंका

काठमाडौं । काठमाडौं उपत्यकामा गम्भीर अवस्थाका कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत सातादेखि अहिलेसम्म १० जना सिकिस्त बिरामी भर्ना भएको अधिकारीहरूले बताए। उनीहरु सबै जेष्ठ नागरिक हुन् ।

मौसमी रुघाखोकी लागेको भनिएका केही बिरामीमा जाँच गर्दा कोभिड १९ पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। उनीहरुको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको बताउँदै एक चिकित्सकले चार जनाको अहिले पनि आईसीयूमै उपचार जारी रहेको जानकारी दिए । चिकित्सकहरुले समुदायमा अझै पनि कोरोनाभाइरस सङ्क्रमण रहिरहेकाले स्वास्थ्य सतर्कता अपनाउन र खोप लगाउन सर्वसाधारणमा अपिल गरेका छन् ।

कोभिड संक्रमितहरु सिकिस्त भइरहेको भए पनि यो कोरोनाभाइरसको पुरानै भेरिअन्ट हो वा नयाँ भन्ने यकिन गर्न परीक्षण भइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधि बसौलाले सबैलाई आईसीयूमै राखेर उपचार गर्नुपरेको जानकारी दिँदै केही बिरामी दमजस्ता दीर्घरोगबाट पनि पीडित रहेको बताए । अस्पतालमा मौसमी रुघाखोकी लागेको भनेर आउने बिरामीहरूको पीसीआर परीक्षण गर्दा कोभिड पुष्टि भइरहेको उनको भनाइ छ।

काठमाडौं उपत्यकासहितका केही स्थानमा केही सातायता कैयौँ मानिसलाई मौसमी रुघाखोकी लागेको र निको हुन लामो समय लाग्ने देखिएकाले कोभिड समुदायस्तरमा कायमै रहेको अनुमान आफुरुको रहेको डा. बसौलाको भनाइ छ ।
कोरोना संक्रमण पुनः देखिन थालेपछि स्पास्थ्य मन्त्रालयले खोप नलगाएका वा लगाएर पनि छ महिनाभन्दा बढी भएका व्यक्तिलाई कोभिडको अतरिक्त मात्रा खोप लगाउन आग्रह गरेको छ।

डा.बसौलाले शुक्रराज ट्रपिकल अस्पतालको आकस्मिक कक्षमा हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म फाइजर खोप लगाउने व्यवस्था गरेको जानकारी दिए । उनले भने, ‘यो नि:शुल्क हो, त्यसैले खोप लगाउन हामी आह्वान गर्छौँ।’

सरकारले आगामी वैशाखभित्र थप १६ लाख मात्रा फाइजर खोप ल्याउने तयारी गरेको स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर २८ जनामा कोरोनाभाइरसको सक्रिय सङ्क्रमण छ। तर परीक्षण गराउने क्रम घटेको हुनाले र समुदायमा जटिल सङ्क्रमण नभएका सङ्क्रमितहरू पनि भएको हुन सक्ने भएकाले वास्तविक सङ्ख्या बढी हुन सक्ने मन्त्रालयको अनुमान छ ।

राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत चार वर्षमा नेपालमा कोभिडका कारण १२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ८ : ४८ बजे