साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

इन्द्र अधिकारी / पूतना माताको बकपत्र  

पौराणिक कथा अनुसार मामा  कंंशले बालक  भान्जा  श्रीकृष्णलाई मार्न पूतना माताको प्रयोग गरेका थिए । स्तनपानका निहुँमा विष पान गराएर पूतना माताले भगवान् श्री कृष्णलाई मार्न खोजेकी थिइन् । त्यसैले माता पनि थरिथरिका हुँदा रहेछन् भन्ने कुरा धेरै घटनाले स्पष्ट पार्छ । यही कारण यस लेखको उक्त  शीर्षक राख्न बाध्य भइयो । लेखक इन्द्र अधिकारीले देश र जनताका हितमा काम गर्नेलाई बारबार लेखमार्फत धारे हात लगाइरहेको पढेपछि आजित भएर यो लेख तयार पारिएको हो । सच्चा माताले त धुन्धुकारि सन्तानलाई उल्टो सम्झाई बुझाइ गर्न पर्ने र त्यस्ता सन्तानलाई सपार्न हकार पकार गर्नु पर्नेमा  उल्टो बाँदरलाई लिस्नु लगाएर्झैँ गरेको देखेर यस्तो लेख्न बाध्य भइयो । विचारको विष धेरै खतरनाक हुन्छ । विषालु बिख  पिएपछि समाज र देशलाई नै विषाक्त बनाउँछ । 

 

चाइना मेड भाष्यको भार नामको एउटा लेख कान्तिपुर बिहीबार २१ गते, छापिएको रहेछ । लेखक थिइन् ,इन्द्र अधिकारी । उनले जतिसुकै नयाँ गठबन्धन ओली र प्रचण्डलेकै पहलमा गरेको भनेकामा आपत्ति प्रकट गरेकी छिन् । हामीले नै गरेको अरू  कुनै देशले नगरेको बताए पनि ओलीले काँका भनेर भाष्य निर्माणमा उत्तर तर्फको देश चीन लागिपरेको तर्क गरेकी छिन् । नयाँ गठबन्धन बन्ने बित्तिकै प्रा.डा. बद्रीविशाल पोखरेलसित काठमाडौँको  एक एफ.एम.ले अन्तर्वार्ता लिएको थियो । त्यसमा पोखरेलले सकार र नकारको द्वन्द्व निरन्तर चलिरहने प्रक्रिया हो । देशलाई खाल्टामा पर्न र पार्न नदिनेहरू यसमा हरदम चनाखो हुन्छन् । यही चनाखोपनका कारण देशलाई शीर्ष स्थानमा राख्नेहरू ठुलो क्षतिबाट देशलाई जोगाउन तयार हुन्छन् । यसै क्रममा एमाले र पार्टी अध्यक्ष ओलीको सतर्कताको परिणाम नयाँ गठबन्धन हो भनेर  डा. पोखरेलले भन्नु भएको थियो । नभन्दै पार्टी उपाध्यक्ष विष्णु पौडेललाई पुरानो गठबन्धनबाट देश र जनता विरुद्ध अरू क्षति पुग्न नदिन छ महिना अघि नै गठबन्धन तोड्ने खालको होमवर्क  दिएको खुलासा भयो । आफूले सत्ता र सरकार पाए नपाए पनि देशका विरुद्ध लागिपर्ने शक्तिलाई कसरी कमजोर पार्ने भन्ने कुरा सोच्नु जरुरी हुन्छ । तर भारतले सिदासिदी हस्तक्षेप गर्दा मौन बस्ने वा समर्थन गर्ने इन्द्र अधिकारीहरू सच्चा माताका भूमिकामा देखिँदैनन् । एकाध माता उदात्त माताको भूमिका निर्वाह गर्दा रहेनछन् । बारबार आफ्नै आमाकी आमा नेपाल आमामाथि दुर्व्यवहार गर्नेकै साथ समर्थन गर्दा रहेछन् । इन्द्र अधिकारीले विगतमा पनि  देश र जनताका पक्षमा गरेका कामहरूको बारबार विरोध गरेर लेखहरू लेखेकी थिइन्

तर यस लेखमा अधिकारी अलिअलि गलेकी देखिइन् । उनले निवर्तमान राष्ट्रपति विद्या भण्डारी विरुद्ध पहिलेझैँ उग्र र उत्तेजक अभिव्यक्ति दिएकी छैनन् तर आफ्नो लागेको खराब बानी  को  छाड्छ भनेझैँ दुई पटक संसद् विघटन गरेको विषयमा परोक्ष र मलिन रूपमा  लाञ्छित गर्न बाँकी राखिनन् ।  यसमा पूर्व प्रधान मन्त्री ओलीलाई पनि आफ्नो बकपत्र वा बकबक पत्र उल्लेख गरेको देखिन्छ तर संसदीय अभ्यासमा संसारमा कहीँ र कहिल्यै नहुने र नगर्ने खालको  तिथि मिति र नाम समेत तोकेर प्रधानमन्त्री  बनाएको निर्लज्ज विषयलाई  अधिकारी दृढ समर्थक देखिइन् । देख्नेलाई लाज हुने विषय लेखमा उल्लेख गरेर इन्द्रले एउटी आमाको इज्जत र आबरु पनि राख्न सकिनन् । गलत बाटो रोजेपछि असल मानिस पनि सही र सद्दे हुन सक्दो रहेनछ ।  देशको प्रधानमन्त्री संसद्ले बनाउँछ कि अदालतले बनाउँछ ?  संसदीय  परम्परा र अभ्यासमा कहिल्यै नभएको र  कसैले गर्न नमिल्ने संविधान विरोधी कित्तामा उभिएर इन्द्र अधिकारी एमाले र ओली उपर बकबक गर्न रमाउँदी रहिछन् । उनले अहिलेको  गठबन्धन निर्माण गरेका कारण  उत्तरतिरसँग सम्बन्ध गाँस्दा  केही नेताका  आर्थिक हैसियत बलियो बने होलान् सम्म भनेकी छन् । एउटी  सच्चा आमा सब सन्तानलाई समभाव राख्छिन् तर माता अधिकारी  यति तल ओर्लिएर बालेको देख्दा लाजले सिर निहुरिँदो रहेछ ।  आमा पनि खालका खालका हुन्छन् कि क्या हो । केही दिन अघि एक टेलिभिजन पत्रकारले निर्वतमान राष्ट्रपति विद्या भण्डारीसित अन्तर्वार्ता लिएका थिए । त्यस बार्तामा भण्डारीले पूर्व प्रधानमन्त्री स्व . गिरिजा प्रसाद कोइरालालाई  टेलिफोन मार्फत नेपाली काङ्ग्रेस जस्तो ठुलो पार्टी विभाजित हुनु नराम्रो हो भनेको बताउनु भयो । सच्चा आमा धर्ती र आकाश जत्तिकै फराकिला र उदार मन,मुटु र छाती भएका हुन्छन् र हुनु पर्ने  हो । देश र दुनियाँको हित गर्ने आमा क्लारा जेट्किन, मेडमक्युरी, योगमायाजस्ता पो हुन्छन् त । आमा त सिर्जनाकी खानी हुन्, ममताकी मुहान हुन् । कुपुत्र भए पनि कुमाता हुँदैनन् भनिन्छ तर पूतना माता पनि हुँदा रहेछन् । आमाको महानतम भूमिका चटक्क बिर्सिएर माता कुमाता हुनुहुँदैन  । तर यस देशमा परिचालित कुमाता वा पूतना पनि छन् कि क्या हो ।  सच्चा माताले दुईचार पैसा पाइन्छ भनेर जथाभाबी लेख लेखेर र छापेर  गुजारा गर्नु हुन्न । यस्तो विष फैलाएर कोही पनि बाँच्दैन । घर पहिलो पाठशाला भनिन्छ तर यसरी इन्द्र अधिकारीजस्ता माताले आफ्ना घरमा कस्तो पाठ पढाउलिन् र कस्तो पाठशाला बनाउलिन् ।    

 

बाह्य शक्ति र अझ भारतीय शासक मार्फत ओली सरकार गिराएको प्रसङ्ग परिणामले देखाइसकेको छ ।   प्रा.कृष्ण खनालले ओली सरकार गिराउन विदेशी भूमिका रहेको ढिलै भए पनि कान्तिपुर पत्रिकामा बताएका एक लेख मार्फत बताएकै छन् । मानिस नरपशु अरे । किनकि यसको ढिलै भए पनि बुद्धि आउँछ वा पलाउँछ रे । अब इन्द्र अधिकारीको बुद्धि कुन उमेरमा कहिले पलाउने हो त्यो भने हेर्न बाँकी  देखिन्छ । तर यही लेखमा अधिकारी पहिले भन्दा अलिक नरम भएको थाहा पाइन्छ । बुद्धि, विवेक र ज्ञानको भारले थिचिएपछि  मानिस विनम्र हुन्छ । केही पढेलेखेकैले होला अधिकारी शब्दलाई ढुङ्गा सरह बर्साउँदै छिन् । नपढेको भए त बाटाका जतातता लडेका ढुङ्गा नै बर्साउन  पनि सक्थिन् होला । त्यसैले नपढेको भन्दा पढेको मूर्खसित नडराउनु पनि भनिन्छ ।  तर अधिकारीले उक्त  लेखमार्फत सामान्य जनतालाई सडकका ढुङ्गा नै  हान्न  उक्साएकी छन् । लेखबाट अधिकारी  निकट विगतको राष्ट्रघाती  भारत अनुकूलको वा  कम्फर्टेबल सरकारको कट्टर पक्षधर रहेको स्पष्ट हुन्छ । यही सरकारका पालामा महाकालीमा भारतीयका कारण भट्ट थरी निहत्था नेपाली मारिए ।  तर यस्ता संवेदनशील विषयमा सरकार चुँ सम्म गरेन । यही गठबन्धनले सरकार जोगाउन प्रदेशहरूमा ७ मन्त्रालयका ठाउँमा १४ मन्त्रालय बनायो  । सङ्घमा छ,छ महिनामा मन्त्री फेर्ने र पालैपालो  खाने कामको योजना बनाइयो । चुच्चे नक्साको विषय उक्त गठबन्धनले बोल्न  पनि चाहेन । अझ यस्ता विवाद निकालेर ओली सरकारले  छिमेक सम्बन्ध बिगारेको समेत भनियो ।  भारतले आफूलाई क्षेत्रफलको हिसाबमा ठुलो राष्ट्र र दाजु भन्नु अनि नेपाललाई भाइ भन्ने कुरामा असहमति राख्दा मानमर्दन हुन्छ र जुनसुकै देशको सार्वभौमसत्ता समान हुन्छ र यसका आधारमा सबै देश समान हुन् भन्नु गल्ती हो । भारतीयले नै नेपाल र नेपाली विरुद्ध गतिविधि गर्दा त्यसको शालीन र कूटनीतिक असहमति राख्नु पर्दैन । सत्यमेव जयते भन्ने तर  नेपाल र नेपालीलाई सिंहझैँ व्यवहार गरेपछि के भन्नु पर्छ । सामान्य ओषधी उपचार सामग्री बोकेका ट्रकहरू नेपाल प्रवेश गर्न नदिने भारतीय शासकको निकृष्ट नियतलाई चुपचाप सहनु पर्ने हो ? नेपालबाट टमाटर,दालचिनी,अर्लैँची,अदुवा भारततिर निर्यात गर्नै नदिँदा देशको अभिभावक बनेको सरकार र प्रधानमन्त्री बोल्ने कि नबोल्ने अधिकारी जी ?  दक्षिणका सीमा वर्ती नेपाली भूभागहरू मिचिँदा मुखमा पानी हालेर बस्ने सरकार र प्रधानमन्त्री चाहिएको हो  अधिकारीजीलाई ? नेपाल नेपाली कुनै देशको दास भएर बस्नु पर्ने हो ? अधिकारीले मित्रराष्ट्रको अनावश्यक मानमर्दन गरिहिँड्ने कुसंस्कारग्रस्त नेता भनेकी छन् । आफू अनुकूल सरकार नहुँदा साथ जनतामा गएर यस्तो उस्तो भनेर मन गढन्ते तुच्छ भाषा र भाष्य निर्माण गर्ने भनेर अधिकारी सारी नै सुर्किएर एमाले र ओली विरुद्ध बकपत्र वा बकबक गरिरहेकी छन् । भारतले नेपालमाथि गरेको अमानवीय नाकाबन्दीलाई नाकाबन्दीसम्म भन्न र बोल्न नसक्ने चरम दास मानसिकता बोक्नेहरू एमाले अवरुद्ध बारबार विष बमन गरिरहन्छन् ।  छिमेकीलाई विश्वासमा र सन्तुलनमा राख्न नसक्ने अक्षम र नालायक हुन्  र बाह्य प्रभाव र दबाब थेग्नननसक्ने काँतर हुन् भन्दै अधिकारी ओली विरुद्ध नै बकवास गर्छिन् । आफ्नो देशको स्वाधीनता,सार्वभौम सत्ता अखण्डता समेतलाई तिलाञ्जली दिएर छिमेकीलाई विश्वासमा लिनु भन्न खोजेकी हुन् अधिकारीले ?  चरम हेला होचो, उपेक्षा र अपमान सहेर  छिमेकीलाई विश्वासमा लिनु पर्ने भन्नु जस्तो सरमलाग्दो कुरा अरू केही हुनसक्छ ? एउटी आमाले आमाकी पनि आमा नेपाल आमा  माथि खुलेआम ज्यादती गर्दा पनि मौन बस्न मिल्छ र सुहाउँछ ? इन्द्र अधिकारीको नेपाल आमाप्रतिको हद दर्जाको उपेक्षा भाव देखेर पढेर लाज नै लजायो ।   

इटहरी निवासी लेखक अनेम सङ्घकी केन्द्रीय सल्लाहकार हुन् । 

 

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ५९ बजे