"परिपूर्ण लोकतन्त्रले उत्पीडित र पिछडिएका जनताका विशिष्ट आवाज र दृष्टिकोणलाई सम्मान, राज्य सञ्चालन प्रक्रियामा उनीहरूको संलग्नता र प्रतिनिधित्व सुनिश्चित गर्दै देश समृद्ध र नागरिक सुखी बनाउने बलियो आधार तयार गर्छ।"
प्रगतिशील राजनीति अर्थात् जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतन्त्रलाई परिपूर्ण बनाउन मुख्य भूमिका खेलेको हुन्छ। त्यहीअनुसार हामी परिपूर्ण लोकतन्त्रका बारेमा सुसूचित र साक्षर भइरहनुपर्छ। लोकतन्त्र बलियो बनाउन हामीले आफूलाई सोअनुरूप शिक्षित पनि बनाउन सक्नुपर्छ। तर जबसम्म समाजमा अराजक, स्वछन्द, नैतिकहीन र चरित्रहीन पात्र अनि विचारहीन राजनीतिले चर्चा र प्राथमिकता पाइरहन्छ तबसम्म न लोकतन्त्र परिपूर्ण बन्छ न त नेपालको राष्ट्रिय स्वार्थ बलियो बन्दैन र वैचारिक राष्ट्रिय शक्ति पछाडि परिरहन्छ। जसका कारणले समृद्ध नेपाल सुखी नेपाली बनाउने सङ्कल्प पूरा हुन दिदैन र नेपालमा नियन्त्रित अस्थिरता बढिरहन्छ।
हामी प्रत्येक नेपालीहरूले बुझ्नुपर्छ र भन्नुपर्छ, भ्रमित चेतना र विवेकले असल र खराब छुट्टाउने क्षमता राख्दैन। त्यसैले लोकतन्त्रलाई परिपूर्ण र देशलाई समृद्ध बनाउन हामी भ्रमहरू र खराब प्रवृत्तिहरूबाट मुक्त हुनुपर्छ। यो त्यति सजिलो छैन किनभने हामी गलत सूचना र भ्रमहरूबाट प्रभावित भइरहेका छौँ। यो आजको कटु यथार्थ हो।
गधालाई धोएर गाई हुँदैन,
उपयोगितावाद र विचारहीन लोकप्रियतावादलाई बोकेर देश बन्दैन।।
पश्चिमबाट घाम उदाउँदैन,
अवसरवादी पात्र र प्रवृत्तिलाई बोकेर लोकतन्त्र परिपूर्ण बन्दैन।।
विचारबिनाको राजनीति नै हुँदैन,
जातीय तथा क्षेत्रीय मुद्दाले देश बलियो बन्दैन।।
यथास्थितिमा सुधारले परिवर्तन हुँदैन,
नागरिक निर्यात गरेर देश समृद्ध र नागरिक सुखी बन्दैन।।
आज हामीले परिपूर्ण लोकतन्त्रमार्फत समृद्ध नेपाल सुखी नेपाली बनाउने आधार तयार गर्नका लागि हाम्रो शिक्षा प्रणालीको चरित्र र राज्यको नीतिमा पुनरावलोकन अनिवार्य भएको छ। बढ्दो पलायन संस्कृतिबाट नयाँ पुस्तालाई टाढा राख्ने शिक्षा व्यवस्था र राज्यको नीति चाहिएको छ। राज्य सञ्चालनमा मुख्य भूमिका खेलिरहेका पात्रहरूले नागरिक निर्यात गरेर वस्तु आयात गर्न सिकाउने शिक्षा र सघाउने राज्यको नीति छोड्ने बुद्धि र सामर्थ्य देखाउनु पर्छ।
"आँखाले त्यो कुरा मात्र देख्छ, जुन कुरा बुझ्न मन तयार छ।" यो सत्यलाई मनन गरेर जनताको मनस्थिति विशिष्ट बनाउन राज्यले शिक्षामा आमूल परिवर्तन गर्दै लगानी पनि बढाउनु र जनतालाई सही सूचना र गुणस्तरीय शिक्षाबाट प्रशिक्षित गरिरहनु पर्छ। त्यसैले "प्रगतिशील राजनीतिबाट परिपूर्ण लोकतन्त्र बनाउन हामीले आफूलाई राजनीतिक, सामाजिक र आर्थिक रूपमा शिक्षित र साक्षर बनाउनु पर्छ।" अर्कैले भान्सामा तयार गरिदिएको परिकार भाग लगाउनेलाई महान् ठान्ने चेतना र विवेक कायम भएसम्म समाजमा परिकार तयार गर्न मेहनत गर्ने पात्रहरूको उपहास भइरहन्छ। अहिले नेपालको राजनीतिमा यही प्रवृत्ति र चरित्र हाबी भइरहेको छ। यो प्रवृत्ति र चरित्र आज लोकतन्त्रलाई परिपूर्ण बनाउन बाधक बनिरहेको छ।
खराबलाई असल र असललाई खराब नठानौँ। सबैलाई खराब र सबैलाई असल पनि नभनौँ। हामीले बुझ्नुपर्छ, न सबै असल छन्, न त सबै खराब। असललाई मात्र असल ठानौँ र खराबलाई खराब नै भनौँ। फेरि खराब पात्र र प्रवृत्तिलाई महान् देख्न छोडौँ। पुराना जति खराब नयाँ जति असल भन्ने गलत भाष्यमा नलागौँ। तब मात्र देशको अवस्थामा सकारात्मक परिवर्तन ल्याउने प्रगतिशील राजनीति बलियो बन्न थाल्नेछ। यसले लोकतन्त्रलाई परिपूर्ण बनाउने बाटो लिनेछ।
पुराना जति सबै खराब नयाँ जति असल भन्ने भाष्य स्थापित गर्न जनतालाई भ्रमित बनाउने विचारहीन लोकप्रियतावादी राजनीतिको चरित्र र लक्ष्य के हो? त्यो हामीले चिन्नुपर्छ। सामान्यीकरण गरेर पुराना जति सबै खराब र नयाँ जति सबै असल भन्ने खराब भाष्यमा हामी पर्नुहुन्न। पार्टी र राजनीतिक व्यक्तिको पृष्ठभूमि र विचारलाई तुलनात्मक रूपमा हेर्न सक्नुपर्छ। मान्छे असल हो भन्नका लागि उसको विगत प्रश्नविहीन हुनुपर्छ। नैतिकता र चरित्र उदाहरणीय हुनुपर्छ। विचार र व्यवहार पनि अनुकरणीय हुनुपर्छ। विचार सधैँ उत्कृष्ट र गतिशील हुनुपर्छ। अनि उसको त्याग र योगदान स्मरणीय हुनुपर्छ। तर दुर्भाग्यको कुरो हामी जनतामा असल र खराब छुट्टाउने क्षमता नै भएन। जसले लोकतन्त्रलाई परिपूर्ण बन्न दिएन।
राजनीतिमा हामीले जुन पात्र र प्रवृत्तिलाई राम्रो ठान्न थालेका छौँ, त्यसले खराबको मनोबल बढाएको छ। विचारहीन राजनीति र नैतिकहीन र चरित्रहीन पात्रले चर्चा पनि पाएको छ। यो लोकतन्त्र र देशका लागि राम्रो सङ्केत होइन। त्यसैले राजनीतिमा नयाँ र पुरानो होइन, विचार र व्यवहार हेर्नुपर्छ। नेतृत्वमा त्यागको भावना र विगतको योगदानसँगै वर्तमानमा भविष्यको योजना पनि हुनुपर्छ। ठुलो स्वर र भ्रमपूर्ण हल्ला राजनीतिको आधार बन्न सक्दैन। जोसुकै होइन, प्रश्न उठेकाहरूलाई राजकीय पदमा बस्ने नैतिक अधिकार हुँदैन।
आफ्नो बदमासी लुकाउन राजनीतिमा आएकाहरूलाई हामीले चिन्नुपर्छ। राजकीय पद खोजेर आफ्नो बदमासीलाई लुकाउन र त्यसबाट बच्न खोजेकाहरूको भण्डाफोर गर्नुपर्छ। कुनै पनि नैतिकवान पात्रले प्रश्नहरू उठेपछि सार्वजनिक पद छोडेर छानबिनमा सघाउने नैतिकता देखाउँछ। तर हिजोआज राजनीतिमा चर्चा पाएका केही पात्रहरू प्रश्नहरूबाट जोगिन राजकीय पदमा आसीन छन्। सत्य यही हो। जसले हाम्रो लोकतान्त्रिक प्रणालीलाई अझ कमजोर बनाएर प्रतिगमनलाई सघाउने छ।
"कुनै देश ध्वस्त बनाउनु छ भने त्यो देशको शिक्षा ध्वस्त बनाउनु पर्छ।" (नेल्शन मण्डेला) अनि राजनीतिमा जेलेन्स्कीहरूलाई बलियो बनाउनु पर्छ। नेपालमा ठ्याक्कै यही भइरहेको छ। शिक्षा व्यवस्था त ध्वस्त भइसक्यो र राजनीतिमा जेलेन्स्कीहरूको चर्चा बढ्दै छ। यो सत्य न सञ्चार माध्यमहरूले लेख्छन् न त प्राज्ञिकहरू नै बोल्छन्।" जसले गर्दा लोकतन्त्रलाई परिपूर्ण बनाउने प्रगतिशील राजनीति बलियो बन्न नदिने प्रपञ्चहरू भइरहेका छन्। यसको भण्डाफोर गर्दै लोकतन्त्रलाई परिपूर्ण बनाउन सकिन्न। यो कुरो जनतालाई भन्नुपर्छ र बुझाउनु पर्छ।
प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १ : २८ बजे
प्रतिक्रिया