सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रचण्ड, ओली र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको अनाैपचारिक भेटमा १५ वैशाखमा हुने उपनिर्वाचन, प्रदेश सरकार हेरफेर र संघीय सरकारको पूर्णताबारे छलफल भएको छ।

२५ सदस्यीय मन्त्रिपरिषदमा दुई सदस्यको पद रिक्त छ। नेताहरूको भेटवार्तापछि सोमबार नै प्रधानमन्त्री प्रचण्डले जसपाका सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराएका छन्।

एमालेले इलाम-२ को प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि सुवास नेम्वाङका छोरासमेत रहेका पार्टी कानुन विभाग सदस्य सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बझाङ–१ को प्रदेश सभा उपचुनावका लागि दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार दिउँसो बसेको सचिवालय बैठकले दुवै क्षेत्रमा उम्मेदवार टुंग्याएको हो।

इलाम र बझाङमा वैशाख १५ गते उपचुनाव हुँदैछ। इलाम–२ को प्रतिनिधि सभातर्फ सुवास नेम्वाङको भदौ २६ गते निधन भएपछि उपचुनाव हुन लागेको हो। बझाङको प्रदेश सभामा निर्वाचित भएका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएको थियो।

गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता समीकरण बदलेर एमालेसँग गठबन्धन गरेका थिए। त्यसपछि नयाँ सत्ता समीकरणअनुसार प्रदेश सरकार हेरफेर गर्ने तयारी छ। यस सम्बन्धमा समेत शीर्ष नेताहरूबीच छलफल भएको छ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : ३४ बजे