‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘आइडिया बैंक’ सञ्चालन गर्दै विद्यार्थी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोमा एक विद्यार्थी सङ्गठनले ‘आइडिया बैंक’ सञ्चालन गर्ने भएको छ । जिल्लास्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को चौंथो पूर्ण बैठकले आइडिया बैंक सञ्चालन गर्ने निर्णय गरेको हो । 

नेपालमा नै गर्न सकिने उद्यम तथा यसका लागि विद्यार्थीमा भएको सोच र कार्यान्वयन गर्न समन्वय गर्ने निकाय पहिचान तथा छलफल एवं व्यवसाय सञ्चालनका लागि सहजीकरणलगायतका कार्य सो बैंकले गर्ने जनाइएको छ । 

विद्यार्थी विदेशिने क्रम बढेसँगै अनेरास्ववियुले देशमा नै रोजगारी सिर्जना गर्ने योजनाका साथ नयाँ कार्यक्रम आइडिया बैंक सञ्चालन गर्न लागिएको अनेरास्ववियु जिल्लाध्यक्ष अध्यक्ष मिलनकुमार गौतमले बताउनुभयो । 

“सबै क्षेत्रका विज्ञसँगको आइडिया सङ्कलन तथा छलफलपछि कार्यक्रम अघि बढाइनेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आइडिया बैंकमा विद्यार्थी आउने र उच्च शिक्षा एवं रोजगारीका समस्याबारे जानकारी गराएपछि समस्या समाधानार्थ प्रक्रिया अघि बढाइनेछ । सो कार्यक्रम अघि बढाउन अनेरास्ववियु जिल्ला उपाध्यक्ष दीपेश तिमल्सिनको नेतृत्वमा समिति गठनसमेत गरिएको छ । 

यसैबीच अनेरास्ववियु काभ्रेपलाञ्चोकले जिल्लामै पहिलोपटक ‘विद्यार्थी महोत्सव’को आयोजना गर्ने भएको छ । आगामी महिना गर्न लागिएको महोत्सवमा जिल्लाभरका विद्यार्थीलाई भेला गरेर उनीहरुको प्रतिभा प्रस्फुटन, सिकाई आदानप्रदानका लागि विद्यार्थी महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष गौतमले बताउनुभयो ।
 
महोत्सवको तयारीका लागि अर्का उपाध्यक्ष दीपेश केसीको नेतृत्वमा समिति गठन गरिएको छ । साथै उक्त बैठकले विद्यार्थीको लेख–रचना, अनेरास्ववियुको इतिहासदेखि वर्तमानसम्म समेटिने गरी अविभारा प्रकाशन गर्ने पनि निर्णय गरेको छ । 

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ५ : ४३ बजे