‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सद्गुरुको मस्तिष्कमा रक्तस्राव भएपछि आपत्कालीन शल्यक्रिया, अहिले कस्तो छ अवस्था ?

​​​​​​​भारतीय आध्यात्मिक गुरु तथा ईशा फाउन्डेशनका प्रमुख सद्गुरु जग्गी वासुदेवको मस्तिष्कभित्र रक्तस्राव भएको पत्ता लागेपछि गरिएको आपत्कालीन शल्यक्रिया सफल भएको उनको संस्थाले जनाएको छ।

सद्गुरुको इन्स्टाग्रामबाट ईशा फाउन्डेशनले आधिकारिक जानकारी तथा शल्यक्रियापछि खिचिएको उनको भिडिओ समेत सार्वजनिक गरेको छ।

Caption

उक्त पोस्टका अनुसार सद्गुरु जग्गी वासुदेव मार्च १७ मा अस्पताल भर्ना भएका थिए।

उनको स्वास्थ्यमा तीव्र गतिमा सुधार आइरहेको फाउन्डेशनले जनाएको छ।

सद्गुरुको नामले बढी चिनिने जग्गी वासुदेवका लाखौँ अनुयायी भारत र विदेशमा छन्।

उनी प्रायः नेपाल पनि आइरहन्छन्। गत वर्ष उनले काठमाण्डूमा 'लिङ्गभैरवी' को मूर्ति स्थापना गराएका थिए।

अस्पतालको शय्याबाट ठट्टा

इन्स्टाग्राममा प्रेषित भिडिओमा सद्गुरुलाई अस्पतालको शय्यामा पल्टिएको देखिन्छ। "अपोलो अस्पतालका न्यूरोसर्जनहरूले मेरो खप्पर काटेर केही खोज्ने प्रयास गरे। तर उनीहरूले केही फेला पारेनन्। पूरै खाली… थियो," ठट्टा गर्दै उनले भनेका छन्। "अन्ततः उनीहरूले हार माने र त्यसलाई उस्तै बनाइदिए। म यहाँ दिल्लीमा छु। मेरो टाउकोमा यो पट्टी बाँधिएको छ। तर मलाई कुनै हानि भएको छैन।"

 

मस्तिष्कमा कसरी भयो रक्तस्राव

उनको उपचार गरिएको अस्पतालका डाक्टरलाई उद्धृत गर्दै इन्स्टाग्राम लेखिएको छ, "सद्गुरुले विगत चार सातादेखि भएको गम्भीर टाउको दुखाइलाई बेवास्ता गरेका थिए। उनी महाशिवरात्रिको सहित आफ्नो कठिन कार्यतालिकामा सधैँ व्यस्त रहे।"

"मार्च १५ मा गरिएको एमआरआईबाट उनको मस्तिष्कमा ठूलो मात्रामा रक्तस्राव भइरहेको देखियो। तर सद्गुरुले इन्डिया टुडे कन्क्लेभसहित पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्न अस्वीकार गरे। कडा खालका पीडानाशक औषधि सेवन गरेर उनी ती कार्यक्रममा सहभागी भए।"

"सत्र तारिखमा बिहानै सद्गुरुलाई अस्पताल लग्नुपर्‍यो। उनको मस्तिष्कमा ज्यानै लिन सक्ने सुजन भएको पत्ता लाग्यो। सोही दिन गरिएको आपत्कालीन शल्यक्रियापछि उनको स्थितिमा लगातार सुधार भइरहेको छ…।"

अपोलो अस्पतालका न्यूरोजजिस्ट डा विनीत सूरीलाई उद्धृत गर्दै पोस्टमा भनिएको छ, "हामीले उहाँसँग ठट्टा गर्दै भन्यौँ – हामीले जे गर्न सक्थ्यौँ त्यो गर्‍यौँ। अब तपाईँ आफैँ आफूलाई ठिक पार्न सक्नुहुन्छ।"

"उहाँमा जुन प्रकारको सुधार हामीले देखेका छौँ, त्यो हामीले सोचेकोभन्दा धेरै राम्रो हो। उहाँ अब धेरै ठिक हुनुभएको छ। उहाँको मस्तिष्क, शरीर र अन्य सबै सङ्केत सामान्य छन् र उहाँको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको छ।" 

-बीबीसी

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ९ : १९ बजे