साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अब आन्दोलनका नाममा कक्षा बिथोलिने छैन : त्रिवि स्ववियु

कीर्तिपुर (काठमाडौँ) ।  त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले पठनपाठन, परीक्षा तथा परीक्षाफल प्रकाशनको तालिका बिथोलिने गरी कुनै पनि आन्दोलनका कार्यक्रम नगरिने जनाएको छ । 

त्रिविको स्ववियु निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा आज कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस भवनमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । कार्यक्रममा स्ववियुको विगत एक वर्ष र आगामी कार्ययोजनाबारे जानकारी दिँदै स्ववियु सभापति श्यामराज ओझाले शैक्षिक पात्रो सुनिश्चित गरी कडाइका साथ लागू गराउन हरसम्भव उपाय गरिने जानकारी दिुनभयो । 

“कक्षा सुरु हुने, समाप्त हुने, परीक्षा सञ्चालन  र परीक्षाफल प्रकाशनसम्मको तिथिमिति निश्चित भएको शैक्षिक पात्रो चाहन्छौँ र त्यसका लागि आन्दोलनले पढाइ बिथोलियो भन्ने अवसर दिँदैनौँ,” उहाँले भन्नुभयो । शैक्षिक पात्रोकै लागि गत पुस ११ गतेदेखि निरन्तर दबाब दिएपछि त्रिविले हालै शैक्षिक पात्रो प्रकाशित गरेको तर परीक्षाफल प्रकाशन हुने मिति नतोकिएका कारण स्ववियुलाई मान्य नभएको पनि उहाँले बताउनुभयो । समयमा पढाइ र परीक्षा तथा परीक्षाफल प्रकाशित नहुने अवस्थाले त्रिविलाई चौतर्फी समस्यामा पारेको पनि उहाँले बताउनुभयो । 

परीक्षालगायत त्रिविका सबै शैक्षिक कार्यक्रम अतिकेन्द्रीकरणका कारण जटिल र ढिलासुस्तीग्रस्त बनेको स्ववियु सभापति ओझाको भनाइ थियो । त्यसैले शैक्षिक कार्यक्रम विकेन्द्रीकृत गर्दै लैजानसमेत स्ववियुले दबाब दिने उहाँले बताउनुभयो । साथै विश्वविद्यालयका चारवटै अनुसन्धान केन्द्रहरुलाई पुनः सक्रिय बनाई राज्यलाई आवश्यक अनुसन्धान गर्ने केन्द्रीय थलो बनाउन पनि दबाब दिइने स्ववियुले जनाएको छ । 

विश्वविद्यालयमा निश्चित मापदण्डका आधारमा मात्रै नियुक्ति गर्ने प्रणाली तयार गर्न पनि दबाब दिइने उहाँले बताउनुभयो । त्रिवि स्ववियुले केन्द्रीय क्याम्पसका विद्यार्थीलाई अनुसन्धान परियोजनामा संलग्न गराएर ‘पढ्दै र कमाउँदै’ को शैली अपनाउने  र उनीहरुले प्रयोगात्मक अभ्यास गर्ने समय अनुकुल बनाएर  कक्षाहरु चलाउन पनि स्ववियुले दबाव दिने भएको छ । 

कार्यक्रममा दिइएको जानकारीअनुसार गत वर्ष त्रिवि स्ववियुको दबाब र पहलस्वरुप केन्द्रीय पुस्तकालय सातामा ६ दिन २४ घण्टा खुल्ने र शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म खुल्न थालेको छ । यसैगरी, बन्द भएका छात्रावास थप ८० अटाउने गरी मर्मतसम्हार गराई खुल्ने अवस्थामा रहेको तथा त्रिविका अन्य भौतिक संरचना सुधार तथा खेलकुद, ‘क्याफ्टेरिया’लगायत काम स्ववियुको पहलमा भएको जानकारी पनि कार्यक्रममा दिइयो । 

यसैगरी त्रिवि परिसरमा रहेको क्रिकेट रङ्गशालामा त्रिविका विद्यार्थीलाई ५० प्रतिशत छुट गराउने लगायतका विद्यार्थी हकहितका काम पनि स्ववियुले गरेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । यसैगरी, आफ्नै विभागमा शोधपत्रमा ‘प्लेगारिजम’ (बौद्धिक चोरी) सम्बन्धी परीक्षण दुईपटकसम्म निःशुल्क रुपमा गर्न पाउने व्यवस्था स्ववियुको पहलमा गराइएको पनि उहाँले बताउनुभयो ।

लामो समयदेखि बिना सम्झौता विभिन्न निकाय संस्था र व्यक्तिले समेत त्रिविको जग्गा प्रयोग  गर्दै  आएकातर्फ स्ववियुले  ध्यान  दिएको जानकारी पनि सभापति ओझाले दिनुभयो । यसअन्तर्गत त्रिविको २४ रोपनी जग्गा उपभोग गरिरहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले विश्वविद्यालयलाई दैनिक तीन लाख लिटर पानी निःशुल्क दिने र वार्षिक रु छ लाख मर्मतसम्हार खर्च दिन सहमति गरिएको उहाँले बताउनुभयो । 

यसैगरी बागमतीको किनारमा बोर्ड प्रयोग गरिरहेको जग्गा तीन वर्षभित्र फिर्ता गर्ने सहमति भएको जानकारी पनि उहाँले दिनुभयो । आगामी वर्ष लेबोरेटरी माविले प्रयोग गरिरहेको एक सय १३ रोपनी राधास्वामी सत्सङ्ग व्यासले प्रयोग गरिरहेको १५ रोपनी, गणतन्त्र स्मारकले प्रयोग गरिरहेको ६० रोपनीलगायत जमिन त्रिविको स्वामित्व भित्र ल्याउन पहल गरिने जानकारी पनि उहाँले दिनुभयो । 
 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ९ : ५३ बजे