आगलागीबाट भगवती लेमिनेट्स उद्योगमा १५ करोड रुपैयाँको क्षति

झापा । झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा भएको आगलागीबाट १५ करोड रुपैयाँबराबरको क्षति भएको छ ।

गत सोमबार ज्यामिरगढीस्थित लालझोडा गाउँमा सञ्चालित भगवती लेमिनेट्स उद्योगमा भएको आगलागीका कारण भण्डारण गरिएको ठूलो मात्रामा काठको गोलिया र तयारी प्लाईउड खरानी भएको छ । आगलागीबाट १५ करोड रुपैयाँको भौतिक सम्पत्ति क्षति भएको सञ्चालक बिष्णु अग्रवालले जानकारी दिनुभयो ।

 झापा, मोरङ र इलामका गरी १० वटा दमकल प्रयोग गरी झण्डै ६० घण्टापछि मात्र आगो निभाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगो नियन्त्रणमा आएसँगै उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक अग्रवालले जानकारी दिनुभयो । क्षति पुगेका संरचना बिस्तारै निर्माण गरिँंदै लगिने पनि उहाँले बताउनु भयो । 

नेपालकै सर्वाधिक ठूलो प्लाईउड उद्योगमा गनिने सो उद्योगमा एक हजार बढी  मजदूर कार्यरत छन् । त्यहाँ उत्पादित सामान भारतलगायत तेस्रो मुलुकसम्म निर्यात हुने गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १२ : ३३ बजे