साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पार्टी फुटेपछि बाबुरामको प्रतिक्रिया : प्रधानमन्त्रीकै अगुवाइमा राजनीतिक ठगी भयो

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव पार्टीबाट अलग्गिएपछि अर्का अध्यक्ष डा. बाबुराम भट्टराई आन्तरिक छलफलमा थालेका छन् । कार्यकारिणी समिति बैठक र केन्द्रीय समितिको बैठकको पूर्व सन्ध्यामा तीन नेताले माओवादीसँग एकीकरण भएको भन्दै पार्टी त्यागेपछि अध्यक्ष भट्टराईसहितका नेताहरू छलफलमा जुटेका हुन् ।

तीन नेताले आज (शनिबार) बिहान नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने सहमति गरेका छन् । सहमतिमा माओवादीका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र समाजवादीका तर्फबाट महासचिव यादवले हस्ताक्षर गरेका छन् । सहमति घोषणा कार्यक्रममा माओवादीका तर्फबाट प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेसपाका तर्फबाट अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित नेताहरु उपस्थित थिए ।

भट्टराईले भने यो घटनालाई राजनीतिक ठगी भएको टिप्पणी गरेका छन् । डा. भट्टराई पक्षीय नेताहरू भने पार्टी एकीकरण नभई तीन नेता पार्टीबाट अलग भएको बताउँछन् । पार्टीबाट अलग भएर पनि एकीकरण गरेको भ्रम फिँजाएकाले उनीहरूमाथि कारबाही गर्ने नेताहरूको तयारी छ ।

अध्यक्ष डा. भट्टराईसहितका नेताहरू थापाथलीस्थित एक घरमा आन्तरिक छलफलमा रहेको एक नेताले जानकारी दिएका छन् । छलफलमा तीनै नेतामाथि कारबाही गर्ने विषयमा नेताहरूले धारणा राखेका छन् । डा. भट्टराई पक्षीय एक नेता भन्छन्, ‘अध्यक्ष डा. भट्टराई पार्टी नेताहरूबीच छलफलमा हुनुहुन्छ । के कसरी अगाडि बढ्ने कुरा भइरहेको छ ।’

समाजवादीले आइतबार कार्यकारिणी समिति र सोमबार केन्द्रीय समितिको बैठक डाकेको छ । ती नेता भन्छन्, ‘कार्यकारिणीले उहाँहरूलाई कारबाही प्रक्रिया अगाडि बढाउँछ । केन्द्रीय समितिले अनुमोदन गर्छ ।’ श्रेष्ठ र महिन्द्र राय माओवादी केन्द्रको परिचयपत्र बोकेर नेसपाको अध्यक्ष र सहअध्यक्ष बनेका थिए । यसअघि नेसपाले उनीहरूलाई कारबाही गरेको थिएन । ती नेताले भने, ‘कारबाही गर्ने भएपछि उहाँहरूले पार्टी छोड्नु भएको हो ।’ तीन नेतालाई पार्टीले कारबाही गरेको पत्र निर्वाचन आयोगमा बुझाउने तयारीमा रहेका बेला बाहिरिएको ती नेताको भनाइ छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ५ : २० बजे