"आधारभूत शिक्षामा बालबालिकाहरूको पहिलो भाषा अर्थात घरको भाषा अर्थात मातृभाषा प्रयोगले उनीहरूको सिकाइ सफलताको महत्त्वपूर्ण आधार हो।" समाजमा नियमित भन्ने गरिन्छ, "भाषा मानिसको दिमागमा प्रवेश गर्ने झ्याल हो।" त्यसैले हामीले केही प्रश्नहरूको उत्तर पहिले खोज्न सक्नुपर्छ। कुन दर्शनका आधारमा शिक्षा व्यवस्थाको विकास गर्ने? शिक्षा नीति र कानुन कस्तो बनाउने? शिक्षकहरूको क्षमता कस्तो बनाउने? कुन-कुन भाषालाई मुख्य माध्यम भाषा बनाउने र पठनपाठन अघि बढाउने? यी प्रश्नहरूको उत्तर नखोजी शिक्षालाई गुणस्तरीय, समावेशी र सान्दर्भिक बनाउन सकिन्न।
हामीले बुझ्नुपर्छ, "सार्वजनिक शिक्षा गुणस्तरीय, सर्वसुलभ, समावेशी र सान्दर्भिक बनाउन नसक्दासम्म नेपालको शिक्षा व्यवस्था, नीति र शिक्षालयहरूमाथि प्रश्न उठिरहन्छ।" अहिले भइरहेको पनि त्यही हो। जसले गर्दा शिक्षामा राज्य र अभिभावकहरूले गरेको लगानीबाट देशले सकारात्मक र रचनात्मक लाभ लिन सकिरहेको छैन्। नागरिकहरू अर्थात नयाँ पुस्ता भ्रमबाट निर्देशित भएर सुरक्षित भविष्यको खोजीमा असुरक्षित गन्तव्यतर्फको यात्रामा रमाइरहेको छ। परदेशिने संस्कृतिले व्यापकता पाएको छ।"
नेपालमा दिगो विकासको लक्ष्य हासिल गर्नका लागि हामीले सार्वजनिक शिक्षा र शिक्षालय गुणस्तरीय, व्यावहारिक, सीपमुलक, सर्वसुलभ र समावेशी बनाउन राज्य र अभिभावकहरू मिलेर लगानी बढाउनु पर्छ। शिक्षामा लगानी भनेको उज्ज्वल भविष्य निर्माण सुनिश्चित गर्ने सबभन्दा बुद्धिमानीपूर्ण निर्णय हो। किनभने शिक्षा दिगो विकासको आधार हो भने असल र क्षमतावान नागरिक दिगो विकासको पूर्वाधार हो। त्यसैले भनिएको हो, "गुणस्तरीय शिक्षा दिगो र स्वावलम्बी अर्थतन्त्रको आधार हो भने बहुभाषिक शिक्षा शिक्षा व्यवस्थालाई गुणस्तरीय, सर्वसुलभ, समावेशी र सान्दर्भिक बनाउने पूर्वाधार हो।" फेरि मातृभाषामा शिक्षा पाउने अधिकार मान्छेको भाषिक मानव अधिकार पनि हो। नेपालमा त यो सैंवैधानिक अधिकार पनि हो।
शिक्षामा मातृभाषाको प्रयोगले बालबालिकाहरूको शैक्षिक सफलताको लागि बलियो साक्षरता सीपहरू विकास गर्नु आवश्यक छ। विद्यार्थीमा पढ्नका लागि सिक्न र बुझ्नका लागि पढ्न सक्ने बनाउनका लागि मातृभाषालाई माध्यम भाषा बनाउनु पर्छ किनभने यसले सबै यसले आधारभूत सिकाइ सीपहरू विकास गर्न सहयोग गर्छ। यसका साथैभाषामा शक्ति हुन्छ। त्यो शक्ति पुरानो अथवा एउटा पुस्ताबाट नयाँ अथवा अर्को पुस्तामा हस्तान्तरण गर्नका लागि पनि शिक्षामा भाषाहरूको प्रयोग सुनिश्चित गर्नुपर्छ। किनभने भाषाले हामी र हाम्रो समुदायलाई चिनाउँछ, यसले हामीलाई हाम्रो विश्वदृष्टिकोण व्यक्त गर्नमात्र होइन, हाम्रा क्षमताहरूको बजार बढाउन पनि सहयोग गर्छ। त्यसैले हामीले हाम्रा वास्तविकता, सन्दर्भ, संस्कृति, सामाजिक परिवेस र अनुभवहरूलाई बुझ्ने र अभिव्यक्त गर्ने क्षमता बढाउन पनि मातृभाषाहरूको प्रयोग शिक्षामा अनिवार्य गरिनुपर्छ।
बहुभाषिक शिक्षालाई लिएर बहुभाषिक शिक्षा विशेषज्ञ भ्यालेन्टिना स्पाइरोपौलो भनाइ बढी सान्दर्भिक छ। उनी भन्छिन्, "जब बच्चाको सबैभन्दा बलियो भाषा अर्थात घरको भाषा विद्यालयको माध्यम भाषासँग मेल खाँदैन, यसले गम्भीर चुनौतीहरू सिर्जना गर्छ अनि बच्चामा एक्ल्याइएको र बहिष्करणमा पारिएको अनुभूति गराउँछ।"
बहुभाषिकता र पहिचानलाई लिएर बाथ विश्वविद्यालय शिक्षा विभागको बहुभाषिक शिक्षा प्रमुख ज्याकब (जेक) हकल भन्छन्, "भाषा र सञ्चारको प्रकृति अनि सिकाइको माध्यम भाषामा तीन कुराहरू मुख्य हुन्छन्;
I. भाषा आफैं र अरूलाई चिनाउने र विविध विश्व दृष्टिकोण र संस्कृतिहरूको अन्वेषण गर्ने माध्यम हो।
II. व्यक्तिहरूको भाषिक प्रस्तुती उनीहरूको पहिचानसँग जोडिएको हुन्छ।
III. भाषा र सञ्चार सीप सिक्नु भाषा सीप विकासभन्दा बाहिर पनि आशयसहितको विस्तृत सञ्चार सीप विकास गर्न सक्षम हुनु हो।"
यो लेखकको बुझाइमा, "पहिचान जोगाउने भनेको भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक (राष्ट्रिय) पहिचान सहित चारै पहिचान जोगाउनु हो। कुनै एउटा पहिचान छोड्नु भनेको पहिचान अपाङ्ग बनाउनु हो। अहिले हामीमा भाषान्तरण, धर्मान्तरण र देशान्तरण गर्ने प्रवृत्तिले हाम्रा पहिचानहरूलाई कमजोर बनाएर हामीलाई पहिचानविहिन पनि बनाउँदैछ।"
मातृभाषाहरूलाई शिक्षामा माध्यम भाषा बनाउनु भनेको समाजमा समावेशीतालाई सम्बर्द्धन गर्नुमात्र होइन अल्पसंख्यकहरूको भाषिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान पनि जोगाउनु हो। यसका साथै त्यस भाषामा रहेको ज्ञान, विज्ञान, सीप र कलाको संरक्षण र सम्बर्द्धन गरेर स्थानीयको जीवन स्तरीय बनाउनु हो। त्यसैले शिक्षालय, प्रशासनिक कार्यालय, न्यायलय र चिकित्सालयहरूमा मातृभाषाहरूको प्रयोग गर्ने नीतिगत व्यवस्था गर्न प्रभावकारी पैरवी गरिरहनु पर्छ।
बहुभाषिक शिक्षाले आधारभूत शिक्षामा मातृभाषाको प्रयोग सुनिश्चित गर्नुका साथै राष्ट्रिय र अन्तराष्ट्रिय भाषालाई विद्यालय शिक्षा र उच्च शिक्षामा माध्यम भाषाका रूपमा प्रयोग गर्ने राम्रो वातावरण बनाउनुका साथै विद्यार्थीहरूलाई वास्तविक रूपमा बहुभाषिक बनाउँछ। यसका साथै विद्यार्थीहरूको सिकाइ उपलब्धि स्तरीय बनाउन सघाउँछ र उनीहरूमा नयाँ विषयवस्तु सिक्न र बुझ्न जिज्ञासा बढाउँछ। तर नेपालमा यो सैद्धान्तिक रूपमा स्वीकारिएको भएतापनि व्यावहारिक रूपमा कार्यान्वयनमा लैजान सकिएको छैन् किनभने शिक्षा नीति र व्यवस्थालाई बहुभाषिक शिक्षा-मैत्री बनाइएको छैन्। तथापि राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा, सम्मेलन र सेमिनारहरूमा यसको चर्चा भने हुने गरेका छ।
सैद्धान्तिक रूपमा स्वीकारिएको र अनुसन्धानहरूमा देखिएको के हो भने बहुभाषिक शिक्षाले;
I. विद्यालयमा समावेशी सिकाइको वातावरण विकास गर्छ।
II. विद्यार्थीमा सिकाइको गति छिटो र आधार बलियो बनाउँछ।
III. सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने आधार तयार गर्छ।
IV. विद्यार्थीमा विद्यालय छोड्ने प्रवृत्ति घटाउँछ।
V. भाषिक तथा सांस्कृति ऐतिहासिकताको प्रबर्द्धन गर्छ।
VI. पहिचानहरूलाई बलियो बनाएर राष्ट्रिय पहिचान सुदृढ बनाउन सघाउँछ।
VII. दिगो विकासमा सहयोगीको भूमिका खेल्छ।
हामीले बुझ्नु र बुझाउनु पर्ने भएको छ, भाषाहरू सञ्चारको माध्यम मात्र होइन, यी त हाम्रा ऐतिहासिक पहिचान, धर्म, संस्कृति, इतिहास, ज्ञान र विज्ञान, सीप र कला अनि असल परम्पराहहरूलाई एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने मुख्य माध्यम हो। त्यसैले भनिएको हो, "मातृभाषामा शिक्षा अर्थात बहुभाषिक शिक्षा हाम्रा ऐतिहासिक विविधताहरूलाई प्रष्ट्याउने र चिनाउने एउटा बलियो माध्यम हो। साथै यो सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित र सुरूवात गर्ने एउटा मुख्य माध्यम अर्थात कुञ्जी अर्थात साँचो हो।"
शिक्षामा मातृभाषाको आवश्यकता र महत्त्वलाई लिएर लेबनानी हेरचाह र प्रशिक्षण संघले भनेको छ, "भाषा शब्दहरू मात्र होइन; यो शिक्षा र अवसरको कुञ्जी हो। प्रत्येक बालबालिकाको मातृभाषामा शिक्षाको पहुँच सुनिश्चित गरौं।"
भाषाहरू र यसको महत्त्वलाई लिएर द गार्जिएन पत्रिकामा भाषाविद् रोज पर्लिनले लेखेका छन्, "भाषा सबै मानव समाजमा प्रचलित एक विश्वव्यापी र लोकतान्त्रिक तथ्य हो। कुनै पनि मानव समूह भाषा बिनाको हुँदैन् र कुनै भाषा अरू कुनै भाषा भन्दा उच्च र विशिष्ट पनि हुँदैन्। जाति वा धर्मले भन्दा बढी भाषाले मानव विविधतालाई स्पष्ट रूपमा झल्काउँछ।" त्यसैले भाषाहरूको संरक्षण र प्रबर्द्धन गर्नका लागि पनि शिक्षामा भाषाहरूको प्रयोग सुनिश्चित गर्न हामीलाई बहुभाषिक शिक्षा नीति र कार्यक्रम अति आवश्यक भएको छ।
प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार ६ : २९ बजे
प्रतिक्रिया