साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सहिद रत्नकुमार बान्तवालाई चिन्नुहुन्छ  ?      

सहिदको सपना तिमीले भुल्यौ कि 

सत्ता, शक्ति र सम्पत्तिमा तिमी झुल्यौ कि 

                         प्रा.डा.बद्री विशाल पोखरेल  

 सहिद दिवस पनि विभिन्न अवस्था र अवसरमा मनाइन्छ । प्रजातन्त्र, लोकतन्त्र,मानव र मौलिक अधिकार र गणतन्त्र प्राप्तिका लागि ज्यु ज्यान अर्पण गरेको होनहार नेपाली सपूत र सुपुत्रीका स्मृतिमा सहिद दिवस मनाउने गरिन्छ  । यसको अर्थ सहिदको त्याग र समर्पणलाई औपचारिक रूपमा स्मरण गरेर मात्र हुन्न । उनीहरूको त्याग,समर्पण र आदर्श व्यवहारमा हुबहु लागु पर्ने सङ्कल्प पनि गर्नुपर्छ  । तर यस्तो विषय बोलीमा मात्र हुँदा राजनीति र नेतामा  विकृति बढेको हो । यस विषयमा हाम्रा घरमा हामीले  सानो छलफल ग¥यौँ । यही छलफलका क्रममा डा. पोखरेलले उक्त कविता लेख्नु भएको हो । यस अवसरमा हाम्रा नाति अमन भट्टराई  पनि नेपाल घुम्न आएका बेला परेको छ । उनलाई पनि नेपालका सकारात्मक पक्षहरू बताउने र उनी जस्ता युवालाई नेपाल आउन उत्साहित गर्ने खालका गतिविधि पनि हामी गरिरहेका छौँ । 

 कतिपय नेता घरमा राजनीतिक कुरा नगर्ने भन्ने पनि सुनेकी थिएँ तर हाम्रा घरमा बेलाबेला विभिन्न विषयमा कुराकानी र छलफल हुने गर्छ । सुरुसुरुमा डा. पोखरेलले नै  यस्ता बहस र छलफल घरबाटै सुरु गर्नुपर्छ भनेर सुरु गरेको तर यसमा म आफैँ पनि बानी परेँ । किनभने कहीँ न कहीँ कतै  न कतै समाजमा, समूहमा र कार्यक्रममा बोल्नु पर्दा यस्ता घरायसी  छलफलले पनि ठुलो सहयोग गर्दे रहेछ । नेता भएर र  सभासद् भएर मात्र हुँदो रहेन छ । त्यसको गरिमा पनि थाम्न सक्ने हुँदा मात्र पार्टीको प्रभाव बढ्छ , नेता, र अगुवा  कार्यकर्ताका चरित्र,चिन्तन र व्यवहारले नै जनमत बढाउन सकिन्छ नत्र जो अगुवा उसैमा खराब आचरण र व्यवहार भयो भने प्राप्त जनमत ह्वात्तै घट्छ । अहिले भएको त्यही हो । त्यसैले हामी सबै खालका विभिन्न विषयका बारेमा छलफल गर्छौ । यस्ता विषयमा सामान्य जानकारी हुँदा र कहीँ बोल्नु पर्दा आफ्नै र पार्टीको पनि आबरु राख्न सकिन्छ । अझ घरमा नै जान्ने बुझ्ने मानिस वा गार्जियन हुँदा सरर्र सुनेकै भरमा पनि धेरै कुरा जानिँदो रहेछ । 

हालै अनेम सङ्घ केन्द्रले सङ्घमा युवा महिलाहरूलाई धेरै मात्रामा आबद्ध गर्ने सदस्यता वितरण गर्ने र विभिन्न समितिमा सङ्गठित गर्ने निर्णय गरेको थाहा भयो । तर युवा महिला हुनु भन्दा अघि तिनीहरू बाल बालिका थिए । तिनलाई रचनात्मक बनाउन हामीले विभिन्न माध्यमबाट  काम सुरु गरे ती सिर्जनात्मक हुने थिए । तिनलाई जनवादी  देशभक्त लोकतान्त्रिक भावका  कविता,गीत, भाषण कला र मुना जस्ता बाल पत्रिका पढ्न उत्प्रेरित गरे ती सबै हाम्रा नजिक हुन्थे ।  तिनलाई सिधै पार्टीगत कुरा सिकाउनु त हुँदैन तर तिनलाई असल, इमानदार, समाजसेवा भावनातिर लगाउन सके ती सबका सब हाम्रा काम र गतिविधिबाट नजिक हुन्थे । झुलाघाट चिवाभन्ज्याङ यात्रामा कतिपय नेतृले बालबालिका सित सेल्फी खिचाएको पनि देखियो तर तिनलाई प्रसिद्ध गीतकार गायक रामेशका एकाध गीत वा गीतका लाइन सुनाइदिएको भए ती धेरै प्रभावित हुन्थे । हामी त ब्याड नलगाई र नर्सरी नबनाई एक्कैचोटि लहलह बाली लगाउन, फलाउन र घरमा भित्र्याउन  चाहन्छौँ । भुईँ छाडेर आकाशतिर आँखा लगाउँछौँ । यस्ता कुरा इटहरीको एउटा स्कुलको सञ्चालक समितिको उपाध्यक्ष भएकाले मैले थाहा पाएकी हुँ । मान्छे बनाउने हो भने बालक कालदेखि नै लागि पर्नुपर्छ । काँचो माटोलाई जस्तो आकार दियो त्यस्तै बन्छ । हामी जस्ताले भनेको कस्ले पो सुन्छ र ? काम कसरी कहाँबाट उठाउँदा प्रभावकारी हुन्छ भन्ने जान्दा काम सजिलै छ जस्तो लाग्छ । 

सहिदका बारेमा पनि राम्ररी छलफल गर्दा वास्तविकता थाहा हुन्छ । सहिदहरू रामनाथ दाहाल,रन्तकुमार वान्तवा,ऋषि देवकोटा वा आजाद लगायतहरु नेपालको आमूल परिवर्तन गर्ने उद्देश्य लिई सहादत भएका हुन् । उनीहरूको एउटै र महान् उद्देश्य देश र जनताको हित थियो । चुनावमा जितेर सांसद मन्त्री र प्रधानमन्त्री बन्ने र निजी सुख सयल र सुखभोग गर्ने उद्देश्य तिनको थिएन । उनीहरू अरूहरू सहिदभन्दा पनि महान् उद्देश्यका लागि समर्पित भएका थिए । नेकपा माले र एमालेको उद्देश्य निःस्वार्थ रूपमा देश र जनताको सेवामा समर्पित हुनुपर्छ भन्ने नै मूल अभिप्राय थियो र हो । तर पार्टीको महानतम उद्देश्य अनुसार हामी सबै परिचालित नहुँदा समस्या उत्पन्न भएको हो । नेपालका कुनै पनि पार्टी भन्दा देश र जनताका हितमा इमानदार रूपमा नमुना गरे पनि जबज अनुसार हामी श्रेष्ठ हुन सकिरहेका छैनौँ । त्यसैले गर्दा पार्टीले शुद्धीकरण अभियान सुरु गरेको छ । यसैका लागि हामीले धर्ना अभियान विराटनगरमा गरेका थियौँ । अयोग्य सित आफूलाई  तुलना गरेर योग्य छु भनेर हुँदैन ।  २००७,२०१७,०३६,०४६ र २०६२,०६२ का आन्दोलनमा धेरै नेपाली युवा युवती सहिद भएका छन् ।                 

 

आगामी चैत्र २१ गते सहिद दिवस परेको छ ।  इलाम जिल्लाको  सुखानीमा रत्नकुमार वान्तवा सहित नौजवान क्रान्तिकारी देशभक्त प्रगतिशील युवाहरूलाई राजशाही आततायी निरङ्कुश पञ्चायती  व्यवस्थाले क्रूर हत्या गरको थियो । ती सहिदहरूले  देश र जनताको भलो सोचेर निरङ्कुश जनघाती सरकारको विरोध गर्नु  दोष थियो । ती अमर सहिदलाई सम्झना गरेर बर्सपिच्छे सहिद दिवस त मनाउँछौँ तर साँच्चै सहिदको त्याग र समर्पणलाई मन वचन र कर्मले हामी कति लागि रहेका छौँ । यो प्रश्न नेताका सामु राख्न खोजिएको छ, यस लेखमा ।    

छाती भरि गोलीका छर्रा लागेर  मुखबाट रगत छाद्दै  अन्तिम सास फेरिरहेका रत्नकुमार बान्तवा जस्ता सहिदको दर्दनाक दृश्य सम्झना गरिरहने हो हाम्रो चरित्र र चिन्तन धेरै फरक पर्छ । गोली लागेर छियाछिया भएर ढलेको म आर्फैँ र  आफ्नै दाजु भाइ हो भनेर सम्झना गर्ने हो भने त्यसले अर्कै प्रभाव पर्छ । पार्टी संस्थापक पुष्पलाल दाजु गंगालालका जीवनका अन्तिम घडीका मार्मिक दर्दनाक दृश्य सम्झेर पार्टी स्थापना गर्दे जीवन भर त्यागमय जीवन जिउनु भयो । सबै सहिदहरूलाई आफ्नै प्रिय पति,पत्नी,भाइ,दाइ र परिवार झैँ भित्री मनबाट स्मरण गर्ने हो भने तिनका सपना साकार पार्न नेताहरू लागि पर्छन् । तर यस खालको जीवन मर्म बोध गर्नु पर्छ ।   सहिदका श्रीमती र सन्तानहरू , तिनका लालाबालाले जुन पीडा भोगेका छन् । त्यस्तै पीडा बोध गरे पो सभासद् मन्त्री तिनको सपना साकार पार्न मरिमेटेर लागि पर्छन् । आफू नमरी स्वर्गै देखिन्न भनेझैँ बाहिरी मनले भित्री मनको दर्द थाहा हुन्न । 

प्रा.डा. बद्री विशाल पोखरेलका अनुसार  एउटी छोरी जब आफैँ आमा हुन्छे र प्रसव वेदनाको अनुभूति गर्छे तब मात्र  आमालाई वास्तवमा चिन्दछे । एउटा छोरो बाबु नभई बाबुको पीडा थाहा पाउँदैन भनेझैँ  सहिदको पीडा कि सहिदलाई नै थाहा हुन्छ कि  उनकी पत्नी र पति, परिवार र सन्तानलाई थाहा हुन्छ ।  सहिदको रगतसित साटेर ल्याएको प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्र हो भन्ने वास्तविकता थाहा हुनुपर्छ । हामीले पाउने सत्ता, भत्ता,सुविधा र औसर सबै सबै सहिदका त्याग, बलिदान र रगत मुछिएको छ ।  कता हो मैले सुनेकी थिएँ  जेलनेल र कठोर कारबासमा बसेर बलिदानी पूर्ण संघर्ष गरेर सत्ता परिवर्तन गरेर र सरकारमा पुगिन्छ । अनि यसको माद लाग्छ । यस्ता अवस्थामा तिनै पुरानै काल कोठरीमा भोगेका ती दिनहरू सम्झँदा र त्यस खालका काल कोठरीमा अहिले पनि एक दुई दिन बस्ता  विगतको बलिदान सम्झेर नेताको व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ । एमाले अरू पार्टीहरू जस्तो सहिदको सपनालाई भजाएर देश र जनता विरुद्ध ब्रम्हलुट मच्चाउने पार्टी होइन तर अहिले जुन र जस्ता जस्ता बेहोरा देखा परेका छन् । यसलाई बेलैमा कठोरता पूर्वक  तह नलगाउने हो भने भविष्य धेरै उज्यालो छैन । 

लेखक अनेम सङ्घ,केन्द्रीय सल्लाहकार हुनुहुन्छ । 

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : १२ बजे