नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका– ७ सूर्यपुरमा रहेको मुलुककै पुरानो गण्डक जलविद्युत विद्युत् केन्द्रको बिग्रिएको टर्वाइन सम्बन्धित निकायको उदासीनताका कारण १५ वर्षदेखि अहिलेसम्म मर्मत हुन सकेको छैन ।
नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । निर्माण भएको करिब ४३ वर्षसम्म नियमित मर्मत र पूर्वाधार विकासमा विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय र सम्बन्धित निकायको ध्यान नजाँदा १५ मेगावाट क्षमता भएको विद्युत् केन्द्र अहिले जीर्ण अवस्थामा छ ।
तीन वटा टर्वाइन रहेको गण्डक विद्युत् केन्द्रको पावर हाउसको एउटा टर्वाइन काम नलाग्ने अवस्थामा छ । २ नम्बर टर्वाइन केही समय अघि मर्मत गरेर सञ्चालनमा आएको छ । तर २०६५ सालमै बिग्रिएको तीन नम्बर टर्वाइन अझै मर्मत भएको छैन । ६५ साल असोज १५ गते उक्त जलविद्युत केन्द्रको एउटा युनिटमा हाई भोल्टेजका कारण जलेको जेनेरेटर कपर अहिलेसम्म मर्मत हुन सकेको छैन । ‘त्यतिखेर नै हाई भोल्टेजका कारण युनिटको कपर जलेको रहेछ ।बजेट अभावकै कारण होला अझै मर्मत भएको छैन’, केन्द्रका प्रमुख पीताम्बर शर्माले भन्नुभयो । जीर्ण उपकरणसमेत जेनतेन मर्मत गरेर चलाएको शर्माको भनाई छ ।अत्यन्तै पुरानो प्रविधिका कारण क्षमतामासमेत ह्रास आएको उहाँको भनाई छ ।
१५ मेगावाट विद्युत् क्षमताको यस केन्द्रबाट अहिले ४ दशमलव मेगावाट मात्रै बिजुली उत्पादन हुँदै आएको छ । करिब ५० वर्ष पुरानो विद्युत् केन्द्रका अधिकांश उपकरण काम नलाग्ने अवस्थामा पुगेका छन् । बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाईसमेत यो पावर हाउसका बारेमा पटक पटक जानकारी गराइए पनि केन्द्रको अझै मर्मत सम्भार हुन नसकेको कर्मचारीहरू बताउँछन् । पुराना र थोत्रा उपकरणका कारण यो जलविद्युत केन्द्र कुनै पनि बेला पूर्णरुपमा बन्द हुने अवस्था आउने उनीहरूको भनाई छ ।
प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार ८ : ४९ बजे
प्रतिक्रिया