सत्ता समीकरण त फेरियाे, हाेला त कम्न्युनिष्टबीच एकीकरण ?

                                                                                     

‘हामी वर्तमानमा के गर्छौँ त्यसमा हाम्रो भविष्य निर्भर हुन्छ।’ महात्मा गान्धी

‘विग र मास्क लगाएर राजनीतिमा आएकाहरूलाई कहिल्यै विश्वास नगरौँ। हामीले भोट हाल्नु भन्दा अघि वा समीकरण बनाउनु भन्दा पहिले उनीहरूको वास्तविक अनुहार चिन्नु आवश्यक छ। तर हिजो र आजका हाम्रा व्यवहार, चेतना र विवेकले त्यो क्षमता देखाउन सकेको कतै देखिएन।’ जसका कारणले खराब पात्र र प्रवृत्तिलाई अघि लगाएर हामीले सकारात्मक परिणामको अपेक्षा गरिरहेका छौँ। सत्ता समीकरण भत्किने र बन्ने यी परिघटनाहरूले हाम्रा कमजोरीहरूलाई उजागर गरेको छ।

 

हिजो रातारात नेपाली काँग्रेसको वर्चस्वमा रहेको कम्फर्टेबल सत्ता समीकरण भत्किएर आज नेकपा एमालेको वर्चस्वमा नयाँ सत्ता समीकरण बनेको छ। अब यो नयाँ सत्ता समीकरण किन बन्यो, यो समीकरण कतिञ्जेल टिक्ला र यो सत्ता समीकरण कम्न्युनिष्ट पार्टीहरूबिच एकीकरणको नयाँ अवसर सिर्जना गर्ला त ? भन्ने प्रश्नहरूले व्यापक प्राथमिकता पाएको छ। तर प्रश्नहरूको सटिक उत्तर राजनीतिक विश्लेषकहरूले दिन सकिरहेका छैनन् भन्ने यो लेखकको बुझाइ छ।

 

अहिले जे–जस्ता विश्लेषण र अनुमानहरू गरिँदै छ, त्यसले समस्या एकातिर समाधान अर्कातिर खोज्न खोजेको स्पष्ट सङ्केत ती विश्लेषण र अनुमानहरूमा देखिएको छ। जे भनिएको छ र जे देखिएको छ, समीकरण परिवर्तनको कारण होइन। तर राजनीतिक विश्लेषकहरूले रूप पक्षलाई मात्र हेरेर सार पक्षलाई छोडेर बोलेको र लेखेको देखियो। जसले गर्दा आमजनतालाई भ्रमित बनाउने काम गरिरहेको छ। त्यसैले यति बेला हाम्रो राजनीति र राजनीतिक नेतृत्वको चरित्रका बारेमा चर्चा आवश्यक छ।

 

प्रधानमन्त्री प्रचण्ड र उनको नेतृत्वमा रहेको पार्टी माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको सम्बन्ध बिग्रिएर कम्फर्टेबल सत्ता समीकरण भत्किएको र नेकपा एमालेसँगको सम्बन्ध सुध्रिएर नयाँ सत्ता समीकरण बनेको भन्ने निष्कर्ष निकालियो भने त्यो गम्भीर गल्ती हुनेछ।  पुरानो सत्ता समीकरण भत्किनु र नयाँ सत्ता समीकरण बन्नुमा धेरै कारणहरू छन्, सबभन्दा पहिलो कारण प्रधानमन्त्री प्रचण्डको सत्ताको आयु लम्ब्याउने चाहना र प्रचण्डको अस्थिर राजनीतिक चरित्र हो। अन्य कारणहरू सहायक मात्र हुन्। यो कुरो कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले नबुझेको मान्न र भन्न सकिदैन्।

 

अहिले सत्य निरूपण तथा मेलमिलाप, मन्त्रिमण्डल पुनर्गठन र राष्ट्रिय सभाको अध्यक्ष कुन पार्टीको बन्ने भन्ने मुद्दाहरू कारण बनेर नयाँ सत्ता समीकरण बन्यो भनिँदै छ। फेरि यसले कम्न्युनिष्ट पार्टीहरूबिच एकीकरण गर्ने नयाँ आधार बनाएको छ पनि भनिँदै छ। के यो सत्य हो त ? यो लेखक ढुक्क छ, पटक्कै होइन। खराब भाष्यको जगमा बनेको जनताको मनस्थितिले देशको परिस्थितिको वस्तुनिष्ठ समीक्षा गरेर सही निष्कर्षमा पुग्न सक्दैन। आज नेपालको राजनीति त्यही गलत निष्कर्षको सिकार हुँदै छ। तर मान्छेहरू यसलाई नयाँ र परिवर्तन भन्दैछन्। जबकि न यो नयाँ हो न त परिवर्तन नै। यो त अधोगतिमा जाने मति हो। कुरा बुझेको खै ?

 

सकारात्मक समाचार र विश्लेषणमा शक्ति हुन्छ, तर हाम्रा सञ्चार माध्यमहरू नकारात्मक समाचार बेचेर रमाइरहेका छन्। सामान्य जनताहरू त भ्रममा परे होलान्, कुरा बुझेनन् होलान्, प्रभाव र प्रलोभनमा परे पनि होलान्। तर अचम्म लागेको छ, पढेलेखेका मतलब स्नाकोत्तर र पिएचडी गरेका, विदेशमा उच्च शिक्षा लिएकाहरू पनि भ्रम, प्रभाव र प्रलोभन परेका छन्, किनरु यो लेखकको नजरमा त हाम्रो शिक्षा तथा सामाजिक व्यवस्था नै खराब छ। जसले हामीलाई खराब भाष्यमा रमाउने र खराब पात्र र प्रवृत्तिको नेतृत्वबाट आफ्ना अपेक्षाहरू पूरा हुने मनोविज्ञान बनाइरहेको छ।

 

आज हामीले भन्नुपर्छ, खराब पात्रहरूलाई जित्ने जिताउने वातावरण बनाउनु हुँदैन। हाम्रो सफलतामा हाम्रा विचार, इमान, व्यवहार र प्रतिबद्धताहरूले मुख्य भूमिका खेलेको हुनुपर्छ। यस प्रसङ्गमा एमालेका नेता गोकुल बास्कोटाको भनाइ बढी सान्दर्भिक छ। बास्कोटा भन्छन्, ‘नेपालमा अनुमान गर्नै नसकिने तर मान्छेले अनुमान र चर्चा गरिरहने विषय मौसम र राजनीति हुन्। तर ती अनुमान प्रायः जसो मिल्दैनन् किनभने ती दुवैको चक्रीय प्रणाली नेपालमा निर्माण नहुने भएर रहेछ।’

 

समय यस्तो आयो जो विश्वास गर्न लायक छैन, उसैलाई विश्वास गर्नुपर्ने वातावरण बन्दैछ। प्रधानमन्त्रीमा प्रचण्डको निरन्तरता र रबी लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भन्ने कुरो त्यसकै प्रमाण हो। आफू प्रधानमन्त्री भइरहन र सत्ताको आयु लम्ब्याउन प्रचण्डले जसरी डेरा सरे, यो कुनै पनि कोणबाट स्वाभाविक छैन। तैपनि चर्चा प्रचण्डको नै भइरहेको छ। फेरि केही समय अघि चारै पार्टी एउटै गठबन्धन बनाउन हामी मिसन ८४ मा छौँ र कसैसँग सहकार्य गरिन्न भन्ने रबी लामिछाने पद पाउने भएपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका छन्। यसबाट स्पष्ट हुन्छ, राजनीतिमा इमान पटक्कै देखिएन। आज त्यही इमान नभएकाहरू राजनीतिमा निर्णायक अवस्थामा छन्। ती बेइमानहरूलाई तह लगाउन जनताले परिपूर्ण लोकतन्त्रको पक्षमा उभिन सक्नुपर्छ।

 

गतसाल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने मुद्दा बोकेर सत्ता समीकरण फेरेका प्रचण्डले यो साल के खोजेर नयाँ सत्ता समीकरण बनाउँदैछन्रु यसको उत्तर नखोजी नयाँ सत्ता समीकरणले कम्न्युनिष्ट एकीकरणको यात्रा हो भनेर बुझ्नु राजनीतिक मूख्र्याई हुनेछ। प्रचण्डले कम्न्युनिष्ट एकताको चर्चा गर्नुका पछाडि माथिको प्रश्न नउठोस् भन्ने नै हो नकि कम्न्युनिष्ट एकता। स्पष्ट छ, उपयोगितावादलाई अघि लगाएर लोकप्रियतावादलाई सारथी बनाएर नेकपा एमालेले नयाँ सत्ता समीकरण कतिञ्जेल टिकाउन सक्ला र जनसरोकारका मुद्दा कसरी सम्बोधन गर्ला ? चासोको विषय बन्दैछ। भारत बिहारका नीतिश कुमार र नेपालका प्रचण्ड, युक्रेनका जेलेन्स्की र नेपालका रबी लामिछाने उस्तैउस्तै चरित्रका पात्रहरू हुन् भन्न डराउनु पर्दैन्।

 

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ४ : ३६ बजे