सुनसरी । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ,सुनसरीले बहुआयामिक वरिष्ठ कलाकार तथा महासङ्घका केन्द्रीय सदस्य ओम विक्रम ओझाका स्व.पिता घर्सीराम ओझाको स्मृतिमा श्रद्धाञ्जली सभासहित मृत्यु संस्कार विमर्श कार्यक्रम सम्पन्न गरेको छ । कान्छा छोरा र बुहारी दीपेन्द्र र सीता ओझाका साथमा पथ्री शनिश्चरे नगर पालिका वडा नं. ४ स्थित निवासमा दिवङ्गत भएका स्व. ओझाका स्मृतिमा सम्पन्न सभामा महासङ्घकी अध्यक्ष,विद्या घिमिरे कार्की,सचिव, ऋचा काफ्ले, कोषाध्यक्ष नन्दु ओझा, रमेश धमला, हरिप्रसाद भट्टराई, मनु चापागाईँ,रामधुनी रुक्मिणी सापकोटा इनरुवाका महासङ्घका पदाधिकारी र सदस्य , केन्द्रीय सदस्यहरू दुर्गा पराजुली, हीरा ओझा, सहित कवि कलाकार, स्रष्टा सहित स्थानीय बौद्धिक जनता र गरुड पुराण वाचक पण्डित ढाका प्रसाद सापकोटाको उपस्थिति र सक्रिय सहभागिता थियो ।
मृत्यु संस्कार विमर्शका विषयमा संस्कृतिविद् प्रा.डा. बद्रीविशाल पोखरेलले वैदिक लगायत नेपाली सबै सनातनी धर्म र संस्कृति र संस्कारको प्रारम्भ र परिवर्तित अवस्था बारे सविस्तार चर्चा गर्नु भयो । पुर्खाहरूले संस्कारयुक्त मानव समाज निर्माण गर्नका लागि जन्मदेखि मृत्युसम्मका संस्कारको थालनी गरेको प्रसङ्ग उल्लेख गर्दै यही मृत्यु संस्कार पनि हाम्रो जस्तो विविधता युक्त मुलुकमा विभिन्न तरिकाले सम्पन्न गरिने कुरा उल्लेख गर्नु भयो । गरुड पुराणमै पनि राजा, अग्नि होत्री ब्राह्मण, डाक्टर वैद्य र सन्यासीलाई जुठो सुतक लाग्दैन भनिएको प्रसङ्ग उल्लेख गर्दै वैदिक सनातनी वा हिन्दू मृत्यु संस्कार सुरुमा १३ वर्ष, १३ महिना, ६ महिना र ४५ दिन हुँदै श्री ३ भीम समसेरका पालादेखि १३ दिने भएको ऐतिहासिक तथ्य डा. पोखरेलले उल्लेख गर्नुभयो । अब समय बदलियो १३ दिनको विकल्पमा ५,७ दिनमा क्रियाकर्म गर्नु पर्ने सामाजिक अभियान सुरु भएको छ । संस्कार र संस्कृतिको परिष्कार र परिमार्जनमा बन्चरो प्रयोग गर्नु हुन्न सियो प्रयोग गर्नुपर्छ भन्दै खाए खा नखाए घिच् गर्ने हो भने सर्वप्राचीन मानव सभ्यतालाई सभ्य र भव्य बनाउने महान् अभिप्रायको पूर्वीय संस्कार, संस्कृति र आदर्श समाप्त हुनसक्ने स्थितितर्फ पोखरेलले संकेत गर्नुभयो ।
सर्वे भवन्तु सुखिनः,आत्मवत् सर्वभूतेषु,विश्व शान्ति तथा विश्व बन्धुत्वको सन्देश प्रवाह गर्ने मुहानबाट नेपाली संस्कृति विकसित भएको हो । यो नेपालको गौरवशाली मौलिक पहिचान हो । यस्ता पहिचान मनग्गे हुँदा पनि तिनलाई चरमा बेवास्ता गरी पश्चिमा संस्कृतिको अन्धनक्कल गर्ने परिपाटी व्याप्त छ । यस्तो नक्कलझक्कल अग्रगामी भनिने राजनीतिक दलका उपल्ला अधिकांश नेताहरूमा देख्नु परेको डा. पोखरेलले बताउनु भयो । यसैको परिणाम सर्व प्राचीन, विश्व चर्चित, अत्यन्त गौरवशाली तथा सन्देशमूलक शिव पार्वतीको प्रणय सर्वाधिक रूपमा उपेक्षित भएको बताउनु भयो ।
महासङ्घ,सुनसरीले जस्तै सांस्कृतिक रूपान्तरण हाम्रो अभियान भन्ने नारा अनुरूप व्यवहारिक रूपमा वैचारिक विमर्श मात्र गरे पनि यस सम्बन्धमा अलिअलि चेत पलाउँथ्यो भन्ने कुरा बताउनु भयो । कार्यक्रममा परिवारका तर्फबाट समाजसेवी ज्ञानेन्द्र ओझाले इटहरीदेखि आएर सांस्कृतिक रूपान्तरणमा कुराले होइन कामले नै भरपुर सहयोग गर्ने बताउँदै महासङ्घ,सुनसरीसहित प्रा.डा. पोखरेललाई धन्यवाद प्रदान गर्नु भएको थियो ।
प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार ६ : ०५ बजे
प्रतिक्रिया