सुनको मूल्यमा नयाँ कीर्तिमान

​​​​​​​सिरहाकाे गोलबजारमा कानुन विपरीत एक्स्काभेटर प्रयोग गरेर नदी उत्खनन् : नियमनकारी निकाय मौन 

अनुचित आर्थिक सेटिङ्गमा नगरपालिका, प्रहरी तथा प्रशासन   

 

​​​​​​​​​​​​​​सिरहा । गोलबजार नगरपालिकाले गागन खोलामा नदीजन्य पदार्थ गिट्टी बालुवा उत्खनन गर्न एक्स्काभेटर प्रयोग गर्ने अनुमति दिएपछि नदीको अतिशय दोहन गर्न थालिएको छ ।  

आर्थिक वर्ष २०८०/०८१ को लागि गागन नदी ठेक्कामा लिएको कम्पनी जय शम्भु कन्स्ट्रक्सनले तीन थान एक्स्काभेटर र दर्जनौँ ट्रिपर तथा दुई दर्जनभन्दा अधिक ट्र्याक्टर  प्रयोग गरेर गागन नदी उत्खनन सुरु गरेको छ । 

सो कम्पनीले ७५ लाख ५१ हजारमा गागन नदी ठेक्कामा लिएको गोलबजार नगरपालिकाले जनाएको छ । ठेक्काको सर्तनामामा एक्स्काभेटर प्रयोग गर्ने कुरा उल्लेख नभए पनि नगरपालिकाले पछि एक्स्काभेटर प्रयोग गर्न पाउने भनी अलग्गै लिखित अनुमति दिएको छ । स्थानीय अभियन्ता दिनेश यादव भन्छन् विगत १५ दिनदेखि  गागन नदीबाट  एक्स्काभेटर उत्खनन गरेर दैनिक २ सय ट्रिपर र ५०० ट्र्याक्टर गिट्टी बालुवा निकासी गरिदैं छ । यादव भन्छन् गागन नदीको अवैध तथा मापदण्ड विपरीत  उत्खनन्ले वातावरणीय क्षयीकरण भई वरपरका गाउँ नदी कटानमा पर्न सक्ने जोखिम उत्पन्न भएको छ ।  स्थानीय बासिन्दा तथा वसन्त चौर  सामुदायिक वन उपभोक्ता समूहका सचिव माधव थपलिया भन्छन् गाउँलेले रोक्न खोज्दा प्रहरीको संरक्षणमा ठेकेदारले निर्बाध रूपमा उत्खनन गरिरहेको छ । हाम्रो सामुदायिक वन पनि नदी कटानमा पर्ने स्थिति छ । 

लगडी गदियानी – जमदह सडक निर्माणको ठेक्का लिएको कम्पनी जय शम्भु कन्स्ट्रक्सनले नै गागन नदी पनि ठेक्का लिएको छ ।  सडक निर्माणका लागि बेसमा ओछ्याउन गिट्टी बालुवा चाहिने भन्दै उक्त कम्पनीले गोलबजार नगरपालिकामा एक्स्काभेटर प्रयोग गर्न पाउने गरी इजाजत दिन निवेदन दिएको थियो । कम्पनीले मागे बमोजिम गोलबजार नगरपालिकाले वातावरणीय अध्ययन प्रतिवेदन बनाएर २६ सय मिटर लम्बाई, १ सय मिटर चौडाइ र २ मिटर गहिराई उत्खनन गर्ने इजाजत प्रदान गरेको थियो । 

नगरपालिकाले उत्खनन गर्ने अनुमति दिए पनि स्थानीयहरूले त्यसको विरोध गरेका छन् । गोलबजार नगरपालिका वडा नं. २ का राजकिशोर यादव भन्छन् सर्वप्रथमतः वातावरणीय अध्ययन नै गुपचुप रूपमा गरियो । सार्वजनिक सूचना पनि निकालिएन । वडा कार्यालयलाई पनि जानकारी दिइएन । नदी छेउछाउका बासिन्दा हामीलाई सोधनी गरिएन । हामीले हाम्रा कुरा राख्नै पाएनौ । राज किशोर भन्छन् नगरपालिकाको प्राविधिक टोली र नेतृत्वले लाखौँ लाख अनुचित लेनदेन गरेर नदी उत्खनन गर्ने इजाजत दिएको छ । ठेकेदारले स्थानीय प्रहरी र प्रशासन सबैलाई पैसाको बिटो कोचेर मुखमा बुझो लगाइ दिएको छ । यादवले भने ५० हजार घन मिटरको आवश्यकता देखाइए पनि नगरपालिकाले झन्डै २ लाख घनमिटर उत्खनन गर्ने अनुमति दिएको छ । यो ज्यादती र लुट हो । 

वातावरणीय अध्ययन सडक निर्माणका लागि चाहिने नदीजन्य गिट्टी बालुवा आपूर्ति गर्ने उद्देश्यले नै गागन नदी ठेक्का लिएको सो कम्पनीका प्रतिनिधि दीपक कार्कीले बताए । कार्कीले बताए अनुसार ५० हजार घन मिटर अर्थात् ५ देखि ६ हजार ट्रिपर गिट्टी बालुवा र बेसका लागि रोडा गागन नदीबाट झिक्नु पर्ने छ । नगरपालिकाले तोकिदिएको क्षेत्रफल बमोजिम उत्खनन गर्दा  करिब २ लाख घनमिटर नदीजन्य पदार्थ निस्कन्छ । लगडी गदियानी सडकमा ५० हजार घनमिटर मात्र आवश्यक पर्छ ।   सडकको नाम लगाएर जय शम्भु कन्स्ट्रक्सन कम्पनीले अवैध रूपमा मापदण्ड विपरीत नदी दोहन गरिरहेको छ । यता हुलाकी राजमार्ग सडक डिभिजन कार्यालय जनकपुरका इन्जिनियर कौशल यादव भन्छन् गागन नदीको गिट्टी र बालुवा लगडी गदियानी जमदह सडकको बेसमा हाल्न मिल्दैन । त्यसलाई हामीले रिजेक्ट गरिदिएका छौँ । त्यहाँ रातो ग्राभेल ओछ्याउनु पर्छ । गागन नदीको नदीजन्य पदार्थ सडकमा ओछ्याउन उपयुक्त छैन । 

​​​​​​​

लगडी गदियानी जमदह सडक निर्माण गर्ने ठेक्का लिएको कम्पनी जय शम्भु कन्स्ट्रक्सनले गागन नदीको गिट्टी बालुवा रिजेक्ट भए पनि उत्खनन गर्न छाडेको छैन । उत्खनन गरिएको नदीजन्य पदार्थ क्रसर उद्योगहरूलाई बिक्री गर्न थालेको छ । कन्स्ट्रक्सन कम्पनीले गागन नदीको गिट्टी बालुवा सडकमा काम लाग्दैन भन्ने जान्दाजान्दै सुरु मै नगरपालिकालाई गुमराह गरी उत्खनन इजाजत लिन सिफारिस लिएको देखिन्छ । वातावरण संरक्षणमा सक्रियता देखाउने स्थानीय युवा शिव नारायण यादव भन्छन् ७५ लाखको ठेक्कामा ४ करोडभन्दा अधिक मूल्य बरावरको उत्खनन गरिंदैछ । यसमा नगरपालिका , स्थानीय प्रहरी र प्रशासनसँग पनि लाखौँको डील भएको छ । 

गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठ भन्छन् सडक निर्माणका नियमानुसार वातावरणीय अध्ययन गरेर मापदण्ड भित्र रहेर नदीजन्य पदार्थ झिक्न अनुमति दिइएको हो । ५० हजार घनमिटर उत्खनन गर्न कोदालो र बेल्चाबाट सम्भव नहुने भएकोले एक्स्काभेटर प्रयोग गर्न इजाजत दिइएको हो । श्रेष्ठले भने ७५ लाखमा ठेक्का लिएको छ । उसले आफ्नो पुँजी त निकाल्छ नि । 

स्थलगत अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी वासुदेव दहालले बताए अनुसार सडक जस्तो विकास कार्यको निर्माण सम्पन्न गर्न गिट्टी बालुवा चाहिनै नै भयो । आफ्नै ठाउँको विकास गर्नु पर्ने भएकोले मापदण्ड भित्र रहेर उत्खनन गर्ने अनुमति दिइएको हो । यो माटो सडकमा काम लाग्दैन भन्ने सडक डिभिजनको भनाइ छ नि भन्ने प्रश्नमा प्रजिअ दाहाल भन्छन् क्रसरमा स्टोक गरेर प्रशोधन गरेर अनि सडकमा हाल्ने भनेका छन् । 

गगन नदीमा एक्स्काभेटर लगाएर अनियन्त्रित उत्खनन गर्न थालेपछि गुरुधाम गाउँका बासिन्दा भने चिन्तित भएका छन् । स्थानीय युवा दिनेश यादव भन्छन् गागन नदीको पश्चिमपट्टी हाम्रो गाउँ छ । पूर्वी किनारमा हाम्रो जग्गा जमिन छ । एकै वर्षमा यति धेरै नदी दोहन गर्दा गागन नदीले धार परिवर्तन गर्न सक्छ । नदी पूर्व फर्कियो भने हाम्रो जमिन कटान हुन्छ । पश्चिम फर्कियो भने नव निर्मित रङ्गशाला , सामुदायिक वन र गुरुधाम गाउँ नै कटानमा पर्न सक्छ । 

वडा नं. २ का वडाध्यक्ष सुकदेव सिंह भन्छन् ७५ लाख उठती रोयल्टीका लागि नगरपालिकाले हाम्रो वडालाई नै  सङ्कटमा पारेको छ । यो गाउँ वातावरणीय क्षतिको दुष्प्रभावमा पर्छ सक्छ । 

वडा नं. २ कै युवा तथा वसन्त चौर सामुदायिक वनका सचिव माधव थपलिया भन्छन् कसरी वातावरणीय अध्ययन गरियो ? हामी स्थानीय गाउँले र वन समितिलाई जानकारी नै नदिई गुपचुप वातावरणीय अध्ययन गर्न पाइन्छ ? हामीले हाम्रो पक्ष राख्नै पाएनौ । भ्रष्ट जनप्रतिनिधि र प्राविधिक विरुद्ध हामी  अख्तियार गुहार्छौ । 

 

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १ : ०४ बजे