सुनको मूल्यमा नयाँ कीर्तिमान

स्वर्गद्वारी गुठीपीडित किसान हलो र जुवा बोकेर प्रदर्शनमा,वार्तामा आउन सरकारको आग्रह

​​​​​​​स्वर्गद्वारी गुठीपीडित मोही किसानले हलो र जुवा बोकेर प्रदर्शन गरेका छन्।

उनीहरूले बिहीबार घोराही बजारमा प्रदर्शन गरेका हुन्। गुठी जग्गा रैकर गर्नुपर्ने र मोही अधिकारलाई कार्यान्वयन गर्नुपर्ने माग गर्दै उनीहरू आन्दोलनमा छन्।

गत सातादेखि उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिंदै आएका छन्। माग सम्बोधन गर्न सरकारले वास्ता नगरेको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए।माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने उनीहरूको भनाइ छ। “अहिले शान्तिपूर्ण आन्दोलनमा छौं, माग सुनुवाइ नभए आन्दोलनको स्वरूप फेर्छौं,” अध्यक्ष चौधरीले भने।

पटक पटक आन्दोलन गर्दा पनि राज्यले माग पूरा नगरेको चौधरीले बताए। गत शुक्रबार उनीहरूले जिल्ला प्रशासन, जिल्ला प्रहरी, नापी शाखा, शिक्षा समन्वय समिति लगायत सरकारी कार्यालयमा घेराउ गरेका थिए।


उता सरकारले गुठिपिडित संघर्ष समितिसँग वार्ता गर्न समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहसचिव कृष्णप्रसाद साप्कोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको हो ।

टोलीको सदस्यहरुमा सहायक प्रमुख जिल्ला अधिकारी, भूमि सुधार तथा मालपोत कार्यालय दाङका प्रमुख, गुठी संस्थान र स्वर्गद्धारी आश्रमका एकरएक जना प्रतिनिधि रहेका छन् ।

समितिले समस्याको वस्तुस्थिति, यस विषयसँग सम्बन्धित सर्वोच्च अदालतवाट विगतमा भएको आदेश, संघर्षरत पक्षको माग र अन्य सम्बद्ध पक्षसँंगको छलफलको आधारमा विद्यमान समस्या समाधानको लागि मन्त्रालयलाई कानूनसम्मत, व्यवहारिक र कार्यान्वयन योग्य सुझावहरू प्रस्तुत गर्ने जनाइएको छ ।

मन्त्रालयबाट गठित समितिसँग वार्तामा बसी छलफल एवम् सम्वादवाट वर्तमान समस्याको समाधानको लागि अग्रसर हुन संघर्षरत पक्षलाई मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ९ : २५ बजे