सुनको मूल्यमा नयाँ कीर्तिमान

उपनिर्वाचन : फागुन २८ गते मतदाता नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ ।

आयोगले फागुन २८ गते वेबसाइटमा मतदाता नामावली प्रकाशन गर्ने जानकारी दिएको हो । मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन २०८० फागुन २९ गतेदेखि २०८० चैत्र ५ गतेसम्मको अवधि निर्धारण गरिएको छ ।

उक्त अवधिमा अनलाइन https://applyvr.election.gov.np वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिने आयोगले जानकारी दिएको छ । यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानुन बमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिने बताइएको छ ।

अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली चैत्र २२ गते प्रकाशन गरिने कार्यक्रम रहेको सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचनमा उम्मेदवारी दर्ता गर्न र मतदान गर्न मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानुनी व्यवस्था भएको हुँदा आफ्नो मतदाता विवरणमा रहेका त्रुटि सच्याउने लगायतका उल्लेखित कार्यक्रममा सहभागी हुन आयोगले आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ४१ बजे