हामीले गत हप्ता फागुन ७ गते ७४ औँ प्रजातन्त्र दिवस मनायौँ। मतलब नेपालमा प्रजातन्त्र आएको पनि सात दशकभन्दा बढी भइसक्यो। तैपनि प्रजातन्त्र संस्थागत भएर देशले सकारात्मक गतिमा प्रगति गर्न सकिरहेको छैन। किनभने हामीमा प्रजातान्त्रिक अर्थात् लोकतान्त्रिक चरित्रअनुसारको व्यवहार गर्ने क्षमता नै विकास भएन। हामीमा लोकतान्त्रिक चरित्रअनुसार व्यवहार गर्ने क्षमता नहुनु भनेको लोकतन्त्रको होइन, हाम्रो शिक्षा र सामाजिक व्यवस्थाको कमजोरी हो। जसले हामीलाई लोकतन्त्रवादी हुन सिकाएन। तथापि लोकतन्त्रको कुरा गर्ने भने भयौँ। जसका कारणले गर्दा सात दशकपछि पनि लोकतन्त्र युवा अवस्थामा प्रवेश गर्नै पाएन।
लोकतन्त्रको मर्म, सर्त, मूल्यमान्यता र चरित्रलाई आत्मसाथ गरेर सोअनुरूपको व्यवहार गर्न सक्ने क्षमता हामीमा विकास हुनै पाएन। हाम्रो यही कमजोरीमा लोकतन्त्र र लोकतन्त्रवादीहरूको विरुद्धमा कोही नयाँ र स्वतन्त्र भन्दै राजनीतिमा आएका छन् भने कोही सडकमा श्रीपेच फिर्ता चाहियो भन्दैछन्। त्यसैले हामीमा लोकतान्त्रिक चरित्र र संस्कृति विकास गर्न अनि सोअनुरूपको व्यवहार गर्न सक्ने बनाउन सबभन्दा पहिले शिक्षा प्रणालीलाई राजनैतिक तथा संवैधानिक प्रणालीअनुरूपको बनाउनु पर्छ। यसका लागि प्राज्ञिक वर्गले सशक्त रूपमा आवाज उठाउनु पर्छ।
यहाँ हामीले बुझ्नुपर्छ, "जनताको मनोविज्ञान नै राष्ट्रको मनोदशा हो। जनमानसलाई भ्रमले निर्देशित गरिरहेसम्म त्यो राष्ट्रको मनोदशा बन्न सक्दैन र बन्नु पनि हुँदैन। किनभने यसले परिपूर्ण लोकतन्त्रको बाटोमा अवरोध पुर्याइरहन्छ।" हिजोआज हामी नेपालीको मनोविज्ञान भ्रमहरूबाट निर्देशित भइरहेको छ। जसले हामीलाई असल र खराब छुट्टाउने र तुलनात्मक विश्लेषण गर्ने क्षमता विकास हुन र सही निष्कर्षमा पुग्न दिइरहेको छैन। त्यसैले त "नेपालमा भविष्य छैन र केही पनि हुँदैन भन्ने गलत भाष्य निर्माण भइरहेको छ। यसले नयाँ पुस्तालाई पलायन संस्कृतिमा रमाउने बनाइरहेको छ।" यो भाष्यले एकातिर राजनैतिक तथा संवैधानिक अस्थिरता सिर्जना गर्दैछ भने अर्कातिर नेपाली भर्सनका लेण्डुप, जेलेन्स्की र कारजाईहरूको मनोबल बढाइरहेको छ।
आज राजनीति गर्छु भन्नेहरूले बुझ्नुपर्छ, "विचारको बलमा प्राप्त हुने राजनैतिक शक्ति बलियो र दिगो हुन्छ भने भ्रमको जगमा प्राप्त हुने उपलब्धि क्षणिक हुन्छ। आज त्यही क्षणिक उपलब्धि खोज्ने पात्र, प्रवृत्ति र चरित्रहरूको चर्चा भइरहेको छ किनभने सञ्चार र सञ्जालले जनतालाई सही सूचना नदिएर भ्रमित बनाइरहेको छ। " आज समस्या जनताको मनस्थितिको हो, जसले देशको परिस्थिति बुझेन र परिस्थिति सुधार्ने ल्याकत भएको राजनीति पनि चिनेन। पहिले प्रचण्डलाई चिन्न सकेनन्, अहिले रविहरूलाई। त्यति बेला प्रचण्ड आए के के न हुन्छ भनियो, यति बेला रविहरू आए के के न हुन्छ भन्ने गलत आसा जगाएर र गलत भाष्य स्थापित गरेर राष्ट्रिय स्वार्थ कमजोर बनाउने प्रयास भइरहेको छ।
लोकतान्त्रिक प्रणाली संस्थागत हुनका लागि नागरिकदेखि नेतृत्वसम्मको उत्तिकै महत्त्वपूर्ण भूमिका आवश्यक हुन्छ। फेरि हाम्रो जस्तो कमजोर सामाजिक-आर्थिक अवस्था र चेतना भएको मुलुकमा राजतन्त्रले लोकतन्त्र संस्थागत हुन दिदैन्। यो यथार्थ हामीले बुझिरहेका छैनौँ जसले गर्दा हामी बहकाउमा परेर अगाडि बढ्न खोज्दा पछाडि परिरहेका छौँ। त्यसैले राजनीतिक व्यक्तिहरूमा देशको वस्तुस्थिति र नागरिकको चेतनको अवस्थाका बारेमा जानकार हुनुपर्छ। साथै उनीहरूमा विचारप्रतिको प्रतिबद्धतासहित इमान, मान, सम्मान र स्वाभिमान पनि हुनुपर्छ। तर हिजोआज राजनीतिमा आएका नयाँ पात्रहरूमा न कुनै राजनीतिक विचार छ, न इमान छ, न त मान, सम्मान र स्वाभिमान नै। अनि तिनै पात्र देशको अवस्था बदल्छौँ भन्दै जनतालाई झुक्काउँदै बाह्य स्वार्थमा लोकतन्त्र र देशका विरुद्धमा घण्टी बजाउँदै छन्। यसले देशको राजनीति अझ प्रदूषित बनाउन खोजिरहेको छ।
हामीले बुझ्नुपर्छ, हाम्रो चिन्तन प्रणाली, विश्वदृष्टिकोण र व्यवहारमा पश्चिमा चिन्तन प्रणाली र विश्वदृष्टिकोण हाबी हुँदा हाम्रा व्यवहारहरूमा लोकतान्त्रिक चरित्र र प्रवृत्ति देखिएन, हामीमा व्यक्तिवाद र अवसरवाद हाबी भो। यद्यपि लोकतन्त्रको कुरा गर्न भने छोडेनौँ। जसले हामीमा वैचारिक धारको राजनीतिभन्दा स्वछन्द र अराजक धारको राजनीतिबाट देशको प्रगति खोज्ने बनायो र लोकतान्त्रिक संस्कृति र संस्कार कमजोर बनायो। अझ कति कमजोर बनाउने हो, आङ्कलन गर्न कठिन छ किनभने लोकतन्त्र विरोधी राजनीतिले चर्चा पाइरहेको छ।
नेपाली काँग्रेसले लोकतन्त्र भन्दै त माओवादीले जनक्रान्ति भन्दै झुक्कायो। राजतन्त्रले देशको कुरा गर्दै झुक्काए र झुक्काउन खोज्दैछन्। अहिले नयाँ र स्वतन्त्र भन्नेहरूले पुरानाजति सबै खराब भन्दै जनता झुक्काउने राजनीति गरिरहेका छन्। जबकि उनीहरूको नाभि इण्डोवेस्टसँग जोडिएको छ। उनीहरू उतैको लगानी र स्वार्थमा सक्रिय भइरहेका छन्। तर यो कुरो हामीले बुझेर पनि जनतालाई भन्न चाहिरहेका छैनौँ किनभने किन छुच्चो हुने भन्ने प्रवृत्तिले काम गरिरहेको छ। हाम्रो यो प्रवृत्तिले नेपालमा लोकतन्त्र र देश विरोधी गतिविधि गर्नेहरूको मनोबल बढाइरहेको छ। यो मनोबलले पनि लोकतन्त्रलाई तन्नेरी र परिपक्व हुन दिएन।
वास्तविक रूपमा नेपालको लोकतान्त्रिक प्रणालीले स्वाभाविक गतिमा न हिजो अघि बढ्न पाएको थियो न त आज नै। गएको ७३ वर्षमा लोकतान्त्रिक प्रणालीले मुस्किलले एक दशक पनि राम्ररी काम गर्न पाएको छैन। तर सञ्चार र सञ्जालहरूमा सात दशकमा पनि केही भएन भनिदैछ तर सत्य के हो भनिदैन्। जसले गर्दा लोकतन्त्र विरोधी राजनीति गर्नेहरूलाई सजिलो बनाइदिएको छ। २००७ सालदेखि आजसम्म यही प्रवृत्तिका कारणले हामीमा लोकतान्त्रिक संस्कार विकास हुन पाएन अनि लोकतन्त्रमाथि प्रश्न उठिरह्यो। जबकि व्यावहारिक रूपमा लोकतन्त्र संस्थागत गर्ने र त्यसलाई हिजोभन्दा आज प्रगतिशील बनाउने राजनीति बलियो बनाउन जनताले पनि प्रत्यक्ष भूमिका खेल्न सक्नुपर्थ्यो।
आज हामीले भन्नुपर्छ, "नयाँ पुस्ताको चरित्र, ज्ञान र संस्कार शिक्षा व्यवस्थाको चरित्रअनुसारको बन्छ। त्यसैले शिक्षाको चरित्रले देशको चित्र निर्धारण गर्छ। तर हाम्रो शिक्षाको चरित्रले त्यो क्षमता देखाउन सकिरहेको छैन किनभने हामी असान्दर्भिक शिक्षा व्यवस्थामा लगानी गरिरहेका छौँ। जसले गर्दा नयाँ पुस्ता भ्रमबाट निर्देशित भइरहेको पछिल्ला राजनीतिक घटनाक्रमहरूले पुष्टि गरिरहेको छ।" लुच्चाहरूले देशको यो परिस्थिति र नागरिकको नकारात्मक मनस्थितिलाई आफ्नो राजनीतिक आधार बनाउन खोजिरहेका छन्। त्यसैले भनिएको हो, एकपक्षीय बुझाइले मात्र परिस्थितिको आङ्कलन गर्न सकिन्न। यसका लागि हामीले सात सालदेखि यताको राजनीतिको सूक्ष्म विश्लेषण गर्न सक्नुपर्छ। अन्यथा लोकतन्त्रमाथि प्रश्न उठिरहन्छ।
लोकतन्त्र र पार्टी प्रणाली बलियो बनाउन विचारअनुसारको व्यवहार र जनतासँगको मिलोमतो बलियो हुनुपर्छ, सत्तासँगको मिलोमतो र भ्रमको बलमा लोकतन्त्र र पार्टी प्रणाली बलियो बनाउन सकिन्न। त्यसैले राजनीतिक नेतृत्वमा विचारप्रतिको प्रतिबद्धतासहित इमानका साथ विकास र विरासतलाई अघि बढाउने इच्छाशक्ति हुनुपर्छ। जनताले पनि भोट दिनुभन्दा अघि दलको विचार, नेताको प्रतिबद्धता र इमान अनि विकास र विरासतप्रतिको दृष्टिकोण, त्याग र योगदान बुझ्ने क्षमता देखाउनु पर्छ। अन्यथा अवसरवादबाट देश पीडित भइरहनु पर्छ र लोकतन्त्र संस्थागत हुन पाउँदैनन्।
नकारात्मकता पस्किन सजिलो छ। समस्याको फेहरिस्त जसले पनि गरिदेला। भ्रमको राजनीति पनि केही समय चल्ला तर सत्य तथ्य उजागर हुँदा ती सबै पानीको फोका झैँ सकिन्छन्। आज देशलाई सकारात्मक धारको देशभक्त, प्रगतिशील र लोकतान्त्रिक राजनीति चाहिएको छ किनभने लोकतन्त्रलाई देशमुखी र परिपूर्ण बनाउनु छ। लोकतन्त्रले जनताको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति गराउनु पर्नेछ। यी चुनौतीहरूलाई अवसरमा बदल्ने राजनीति बलियो बनाउन नसक्दासम्म लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेर देशको अवस्थामा सकारात्मक र प्रगतिशील रूपान्तरण गर्न सकिदैन्।
यति बेला हामीले बुझ्नु र बुझाउनु पर्छ, लोकतान्त्रिक गणतन्त्रको विकल्प लोकतान्त्रिक गणतन्त्र नै हो। लोकतान्त्रिक व्यवस्थाको सञ्चालन र व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि देशभक्त, प्रगतिशील र लोकतान्त्रिक पक्षधर राजनीति बलियो बन्नुपर्छ। यसका लागि जनताको विवेकले देशभक्त, प्रगतिशील र लोकतान्त्रिक राजनीतिक विचार र शक्ति चिन्न र चुन्न सक्नुपर्छ। जबसम्म लोकतन्त्रलाई परिपूर्ण बनाउन जनता त्यसको पक्षमा उभिन्नन् तबसम्म नेपालमा लोकतान्त्रिक गणतन्त्र जनपक्षीय र देशमुखी बनाउन सकिदैन्। यो कुरो जनताले बुझिरहेका छैनन्। जनताको यो कमजोरीलाई प्रयोग गरेर लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने पश्चागमनउन्मुख राजनीतिले चर्चा पाएको छ। त्यसैले परिपूर्ण लोकतन्त्रको पक्षमा माहौल तयार गर्नु आजको आवश्यकता हो। यसका लागि नागरिक निर्यात गरेर वस्तु आयात गर्ने आर्थिक नीति र पलायन संस्कृतिमा रमाउन सिकाउने शिक्षा व्यवस्था खारेज गर्नुपर्छ। नयाँ पुस्तालाई देशको समृद्धिमा सकारात्मक र रचनात्मक योगदान गर्न सक्ने बनाउनु पर्छ।
त्यसैले "असल चरित्रको गुणस्तरीय शिक्षा कुनै पनि समाजको दिगो सम्वृद्धिको आधार हो भने चरित्रवान्, नैतिकवान र क्षमतावान् नागरिक समृद्ध नेपालको बलियो पूर्वाधार हो।" देशमा यो आधार र पूर्वाधार तयार गर्न नसक्दासम्म लोकतन्त्र तन्नेरी बन्ने अवस्था यो लेखकले देखेको छैन।
आज राष्ट्रको एजेन्डा 'देशको अवस्था' बदलेर जनताका अपेक्षाहरू उपेक्षा हुन नदिनु हो। यो एजेन्डा परिपूर्ण लोकतन्त्रले मात्रै पूरा गर्न सक्छ न कि बुर्जुवा लोकतन्त्र र राजतन्त्रले। यो कुरो जनतालाई बुझाउनु पर्छ अनि परिपूर्ण लोकतन्त्रको पक्षमा उभिएको राजनीतिक दललाई बलियो राष्ट्रिय शक्ति बनाउनु पर्छ। हिजोआज हाम्रा अपेक्षाहरू एकातिर झन्डा अर्कातिर बोक्न खोज्ने जनताको प्रवृत्तिले देशको स्वार्थ र लोकतन्त्र बलियो बनाउने राजनीतिलाई चिन्न सकेको छैन। बरु यो प्रवृत्तिले विदेशमा बसेर देशको राजनीति प्रदूषित गर्न सघाइरहेको छ। यो आजको तितो सत्य हो।
जनतामा यस्तो प्रवृत्ति विकास हुनुमा हाम्रो खराब शैक्षिक, सामाजिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणालीको मुख्य भूमिका छ। त्यसैले लोकतान्त्रिक गणतन्त्रमार्फत जनताका अपेक्षाहरू सम्बोधन गर्ने हो भने शैक्षिक, सामाजिक, आर्थिक, प्रशासनिक र न्यायिक संरचनामा संरचनात्मक परिवर्तन गर्नुपर्छ। आज हाम्रो शैक्षिक, सामाजिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणालीले नयाँ पुस्तालाई देशबाट टाढा बनाउने काम गरिरहेको छ। देश छोड्न प्रोत्साहित पनि गर्दैछ। त्यसैले बढ्दो पलायन संस्कृतिको कारण राजनैतिक तथा संवैधानिक व्यवस्था होइन खराब शैक्षिक, सामाजिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणाली हो। जसले सात दशकमा पनि प्रजातन्त्र तन्नेरी बन्न दिएन।
प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार ४ : ०४ बजे
प्रतिक्रिया