बाढीको स्थितिमा सुधार

बारामा विष्फोट भएको बस्तु ‘प्रोजोक्टाइल’ भएको आशंका

बारा । बाराको निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने (कारखाना ग्यारेजमा सोमबार विष्फोट भएको बस्तु ‘प्रोजोक्टाइल’ हुन सकिने आशंका गरिएको छ ।

निजगढ नगरपालिका–९ स्थित एक कवाडी सञ्चालकले प्रोजोक्टाइल जस्तै देखिने बस्तुमा भएको तामा निकाल्न पहिला कवाडीमै काट्ने प्रयास गरेका थिए तर, त्यहाँ काट्न नसकेपछि कवाडी सञ्चालक राज जैसवालले लेथमा ल्याएका थिए ।
कारखानामा काट्ने प्रयास गर्दा सो प्रोजोक्टाइल विष्फोट भएको हो । मिसाइलमा प्रयोग हुने प्रोजोक्टाइल नेपालमा नपाइने प्रहरीले जनाएको छ ।

सो वस्तुमा इन्डियन फिल्ड गन १०५ एमएममा प्रयोग हुने जस्ते देखिएको प्रहरी श्रोतले जनाएको छ । विष्फोटपछि कवाडी सञ्चालक जैसवाल र उनका श्रीमती सुशीलादेवी जैसवला निजगढबाट कोल्हवी नगरपालिकामा गएर एम्बुलेन्समा भारततर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको छ । यता विष्फोटबाट घाइते भएका ६ जनामध्ये एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर रहेका छन् ।

निजगढ नगरपालिका–७ स्थित रोहित वर्कशपका सञ्चालक मगर विष्फोटमा परी गम्भीर घाइते भएका थिए । मगरको उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । घटनामा दुई भारतीय नागरिकसहित पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको शरीरको भाग क्षतविक्षत भएको छ भने पूर्णरुपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, ३५ वर्षीय राकेश जैसवाल, ठेगाना नखुलेका २० वर्षीय रितु रजत, पर्सा जिल्ला विरंगज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका–५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन् । घाइतेमध्ये देवान र थापाको अवस्था सामान्य छ । घाइतेमध्ये थापाको कलैया र अन्यको वीरगञ्जमा उपचार भईरहेको छ ।
विष्फोट भएको उक्त वस्तु हेर्दा बम जस्तै देखिन्छ, यो प्रोजोक्टाईल हो या अन्य विष्फोटक भन्ने बारा परीक्षणपछि मात्र बताउन मिल्ने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । उनले भने, ‘लेथमा फलाम काट्ने क्रममा विष्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको र घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।

यता विष्फोटक बस्तु निकै शक्तिशालि विष्फोटक रहेको देखिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए । उनले भने, ‘खुल्ला स्थान भएकाले कम क्षति भएको देखिन्छ, बन्द स्थान वा भवनमा भएको भए निकै ठूलो क्षति हुने देखिन्छ ।’
विष्फोट हुँदा कारखाना नजिकका घरहरुमा समेत क्षति पुगेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ । प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ९ : ४४ बजे