बाढीको स्थितिमा सुधार

१४ किलो सुन तस्करी प्रकरण : कलेज सञ्चालक गुरुङ पक्राउ

काठमाडौं । प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

मंसिर २१ गते फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो ।

गुरुङलाई विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी गरिएको जनाइएको छ । । यो गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो । प्रहरी अनुसन्धानका क्रममा दुबईमा रहेका अंकित अग्रवाल र गुरु भनिने भारतीय नागरिकले १३८ किलो सुन तस्करी गरिसकेको खुलेको थियो ।

उनीहरुको सम्पर्क प्लाटिनम कलेजका सञ्चालक गुरुङसँग देखिएको अधिकृतहरुको दावी छ । गुरुङमार्फत तस्करीमा संलग्न मुख्य नाइकेहरुसम्म पुग्न सहज हुने प्रहरीको भनाइ छ । उनको माओवादी नेताहरुसँग पनि निकट सम्बन्ध रहेको अधिकृतहरु बताउँछन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १० : २० बजे