शालीनदी मेलामा एक करोड सहयोग संकलन, २२ लाख भक्तजन

काठमाडौं । साँखुको शालीनदीमा गत माघ ११ गतेबाट सुरु भएको स्वस्थानी मेलामा करिब एक करोड बढीको सहयोग रकम संकलन भएको छ ।

स्वस्थानी मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख एलबी श्रेष्ठले दिनुभएको जानकारी अनुसार पसलहरु र अन्य भक्तजनहरुबाट भएको सहयोगबाट करिब एक करोड सहयोग संकलन भएको हो ।

शालीनदीमा परापूर्वकालदेखि एक महिनासम्म चल्दै आइरहेको कठिन व्रत र धार्मिक मेला यसवर्ष गत माघ ११ गतेबाट सुरु भएको थियो ।

मेला शनिबार (आज) साँझ विशेष समारोहबीच समापन तयारी रहेको मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो वर्ष महिला, पुरुष र अन्य गरेर २०९ जना व्रत बसेका थिए ।

एक महिनाको अवधिभर नुन समेत नखाएर व्रत बस्ने प्रचलन रहेको पनि प्रचार विभाग प्रमुख श्रेष्ठले बताउनुभयो । अघिल्लो वर्षहरुको तुलनामा यो वर्ष मेला थप व्यवस्थित ढङ्गले सम्पन्न गर्न सफल भएको पनि उहाँको भनाइ छ ।

मेलामा आउने दर्शनार्थीहरु पनि नियमित रुपमा आएकाले एक महिनाको अवधिभर कुनै भीडभाडा र असहज परिस्थिति सिर्जना नभएको उहाँले बताउनुभयो ।

माधवनारायण र स्वस्थानीको पूजास्थल शालीनदी क्षेत्रमा एक महिना मेला लाग्ने गर्छ । मेला अवधिभर सभ्य, भव्य तथा शान्तिपुर्ण ढङ्गले मेला समापन गर्ने तयारी रहेको पनि उहाँको भनाइ छ ।

माधवनारायण व्रत र शालीनदी मेला नेपालको राष्ट्रिय महत्व र गौरवको विषय भइसकेको हुँदा वर्षेनी दर्शनार्थीहरुको घुइँचो लाग्नेगर्छ । भक्तजनहरुको आस्था, विश्वासका कारण वर्षेनी आगमन बढ्दो क्रममा रहेको पनि श्रेष्ठले बताउनुभयो ।

यो वर्षको मेलामा २२ लाख धार्मिक पर्यटकहरुले मेलाको अवलोकन गरेको पनि उहाँले जानकारी दिनुभयो । यद्यपी, अघिल्ला वर्षहरुको तुलनामा आर्थिक सहयोग संकलन र मेला अवलोकन गर्न आउने दर्शनार्थीहरुको संख्यामा त्यति धेरै फरक भने नरहेको उहाँको भनाइ छ । शालीनदी काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा पर्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : २९ बजे