सुनको मूल्यमा नयाँ कीर्तिमान

युवकको हत्या आरोपमा दिदीभाइ पक्राउ

कपिलवस्तु।   कपिलवस्तु नगरपालिका-४ पिपरीमा गत शनिबार टाउको काटेर  युवकको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका-४ पिपरीका श्याम कुमार उपाध्याय र उनकी दिदी पुष्पादेवी (गुडिया) रहेका छन्। 

उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको छ। महाराजगंज नगरपालिका-६ भलवारीका २७ वर्षीय शिव कुमार कुर्मीको टाउको नरहेको अवस्थामा सोमबार शव फेला परेको थियो।  सो शवको टाउको  शुक्रबार हत्या गरेको स्थान नजिकै गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ। 

प्रहरीले हत्यामा प्रयोग भएका घरेलु हतियारहरु २ थान बन्चरो, कोदालो र अन्य हतियार बरामद गरेको छ।  घटनामा संलग्न रहेका अन्यको पनि सूक्ष्म ढंगबाट खोजी कार्यलाई तीव्र बनाइएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए। 

हत्या आरोपमा पक्राउ परेकी गुडिया र मृतक कुर्मीबीच प्रेम सम्बन्ध रहेको बताइएको छ। गुडियाका पति वैदेशिक रोजगारीमा रहेका छन्। मृतक कुर्मीकी श्रीमती, छोरी र छोरा छन्। आफ्ना पतिको हत्यामा संलग्न रहेका सबैलाई कडा कारवाही हुनुपर्ने मृतककी पत्नी उर्मिला कुर्मीले माग गरेकी छिन्। 

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ७ : ०३ बजे