साफ यू–१७ च्याम्पियनसिप आजदेखि

फागुन १३ देखि चैत्र ७ गतेसम्म देशभर राष्ट्रिय दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने

काठमाडौँ । सरकारले फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा—रुबेला खोप अभियान २०८० सञ्चालन गर्ने भएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा परिवार कल्याण महाशाखाले यसबारेमा जानकारी दिएको हो । खोप अभियान फागुन १३ गतेदेखि चैत्र ७ गतेसम्म सञ्चलन हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्न लागेको बताउनु भयो । उहाँकाअनुसार रुकुमपश्चिम र जाँजरकोटमा भने खोप अभियान सकिसकेको छ ।

उहाँले भन्नुभयो, ‘दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम हामी फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्दैछौँ । दुई जिल्लाहरु रुकुमपश्चिम र जाँजरकोटमा सकिसकेको छ । २०२६ मा यो रोग निवारण गर्ने भनेर लागेको छाँै । विगतमा पनि हामीले दादुरको खोप अभियान सफल हुँदाहुँदै पनि र खोपको अवस्था राम्रो हुँदाहुँदै पनि शतप्रतिशत मानिसलाई खोप दिने अवस्था हुँदैन थियो । केही निश्चित छुटेका समहूहरु जम्मा हुँदै जाँदा ठूलो समूह बन्यो । कोरोनाका कारण पनि यसमा समस्या आयो ।’

पत्रकार सम्मेलनमा बोल्दै बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जाजरकोटमा ९९ प्रतिशतमा दादुरा खोप पुर्‍याएको भएको बताउनु भयो । उहाँले जाजरकोटमा दादुरा—रुबेला खोप लगाउने बालबालिकाहरुको संख्या ८८ हजार ३४४ रहेको बताउनु भयो । उहाँले रुकुमपश्चिममा १०७ प्रतिशतमा दादुरा खोप पुर्‍याएको बताउनु भयो । उहाँले रुकुमपश्चिममा भ्याक्सिन लगाउनेको संख्या ५० हजार ४ सय ८७ रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जाजरकोटमा ९९ प्रतिशत कभरेज गरेका छौँ । बच्चाहरुको लगाउने संस्ख्या ८८ हजार ३४४ लाई छ । रुकुमपश्चिममा १०७ प्रतिशत कभरेज छ । त्यसमा हामीले भ्याक्सिन लगाएको ५० हजार ४ सय ८७ रहेको छ । जम्मा एक लाख १८ हजार ८३१ लाई खोप लगाएका छौँ ।’

दादुरा—रुबेला खोप अभियानमा लक्षित समूह ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरु र ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरु रहेका छन् । यस अभियानमँ तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइनेछ । बाँकी जिल्लाहरुमा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ । खोप नियमति खोपकेन्द्र सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोपकेन्द्र एवं स्वास्थ्य संस्थाबाट प्रदान गरिनेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ७ : ४४ बजे