आज फाल्गुनन्द जयन्ती

आज देशभरको मौसम सफा रहने

केपी शर्मा ओलीको व्यक्तित्व र उनका भाषणका बहुआयामीक विशेषताहरु  

लेखसार

प्रस्तुत लेखले केपी शर्मा ओलीको बाल्यकालदेखि आजसम्मका उहाँका राजनीतिक जीवन र जेल जीवनका सन्दर्भमा विभिन्न घटना र समयक्रमको उल्लेख गरेको छ । उहाँको जन्मकाल, बसाइसराइ, राजनीतिक जीवनको शुरुवात, राजकीय जिम्मेवारी र उहाँले व्यक्त गरेका भाषणहरूको विश्लेषण गरेर यसका विशेषताहरू उल्लेख गर्ने कोशिस गरिएको छ । यो लेखले केपी शर्मा ओलीको व्यक्तित्व र उहाँको योगदानलाई बुझनकालागि सहयोग हुने विश्वास गरिएको छ ।  

१. जन्म र बाल्यकाल 

    पिता मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीबाट २००८ साल फागुन ११ गते केपी शर्मा ओलीको जन्म इवा–२, तेह्रथुममा  भएको थियो । इवाकै हाल प्रणामी उच्च माध्यमिक विद्यालय र तत्कालीन समयको प्राथमिक विद्यालयबाट ओलीले आफ्नो अध्ययन प्रारम्भ गर्नु भएको थियो । आफ्नो जीवनको १२ बर्ष इवामा बिताएका ओली २०२० सालमा आफ्नो परिवारसहित झापाको सुरुङ्गामा बसाइँ सर्नु भयो । केपी शर्मा ओली आफ्नो बाल्य अवस्था अर्थात् डेढ वर्षकै उमेरमा मातृ वात्सल्यबाट बञ्चित हुनुप¥यो । बाल्यकाल हरेक मानिसका लागि वात्सल्यपूर्ण समय हो । सोच र चेतनाका हिसाबले पनि यो समय निकै महत्त्वपूर्ण समय हो । यद्यपि मातृ वात्सल्यबाट वञ्चित ओलीको आजको वैचारिक राजनीतिक चेतनाको जुन फराकिलो आयतन छ, त्यसको धरातल उहाँको जन्मस्थान तेह्रथुमको इवामै विकास भएको हो भन्न सक्ने प्रशस्त आधारहरू रहेका छन् (काठमाण्डौ पोष्टः २०१६) । 

२०२० सालमा झापा बसाइँ सरेपछि उहाँको भेट सहिद रामनाथ दाहालसँग भयो । सानैदेखि मीठो र प्रष्ट ढंगले बोल्ने, अरूको खुलेर आलोचना गर्ने, चलाख र राम्रो विद्यार्थीको पहिचान बनाउनु भएका ओली रामनाथ दाहालले राजनीतिक सामीप्ययतामा अगाडी वढनु भयो । त्यस पछि क्रमशः ओलीमा वर्गीय राजनीतिक झुकाव र चेतना फैलिँदै गयो ।

२. माक्र्सवादी अध्ययन दल ओलीको राजनीतिको प्रस्थान विन्दु 
 केपी शर्मा ओली २०२३ सालमा मार्क्सवादी अध्ययन दलमा समावेश हुनुभयो । यो नै उहाँको औपचारिक राजनीतिको पहिलो प्रस्थान विन्दु  थियो । यही सिलसिलामा २०२७ जेठ ९ गतेदेखि झापा     जिल्लामा वर्गीय आन्दोलनको शुरुवात भयो । उहाँले यो आन्दोलनको परिचालन र अगुवाइ गर्दै    पूर्ण कालिन नेताको रूपमा भूमिगत जीवनको शुरुवात गरेका इतिहास हामीसँग छ । केपी शर्मा ओलीले २०२८ सालमा कोशी कोअर्डिनेशन केन्द्रबाट विद्रोह गरेर बनेको झापा आन्दोलन सङ्गठन कमिटीको प्रमुखको जिम्मेवारी सम्हाल्नु भयो । भारतको चारु मजुमदारको नक्सलाइट आन्दोलनको प्रभावबाट शुरु गरिएको झापा विद्रोहको सशस्त्र संर्घषका वेला पनि उहाँ शान्तिपूर्ण सङ्घर्षको बाटो नै अवलम्बन गर्नु पर्दछ भन्ने मान्यता अगाडि सार्दै कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिककरणको बीजारोपण गर्नु भएको थियो ।

केपी शर्मा ओलीले झापा जिल्ला कमिटीको अध्यक्षको हैसियतले उहाँले तत्कालीन झापा संगठन कमिटी र कोशी कोर्डिकेशन केन्द्र बीचको एकताका लागि पहल, तत्कालीन माले पार्टी     गठन गर्ने सन्दर्भमा मुख्य नेताको भूमिका निर्वाह गर्नु भएको थियो । तत्कालीन झापा सङ्घर्षको मुख्य उद्देश्य सामन्ती राजतन्त्र, निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य, गर्दै सर्वहारा र श्रमजीवी वर्गको राज्यसत्ता स्थापित गर्नु थियो, यो अभियान कम्युनिष्ट पार्टी स्थापनादेखि नै शुरु भएपनि त्यसले बलियो साँगठानिक आधार निर्माण गर्न सकेको थिएन । तर यसले तत्कालीन नेकपा मालेको २०३५ सालमा गठन गरेपछि झापा आन्दोलनदेखि शुरु गरेको परिवर्तनको आन्दोलन अर्थात् पञ्चायतको अन्त्य २०४६ सालमा र राजतन्त्रको अन्त्य २०६२÷६३ सालको आन्दोलनले पूरा ग¥र्यो (स्टडी आक्युः २०२०) ।

३. केपी शर्मा ओलीको जेलजीवन 
केपी शर्मा ओलीको जेल जीवन ऐतिहासिक र स्मरणयोग्य रहेको छ । २०२७ फागुन १६ गते आइतबार, झापाबाट गिरफ्तार हुनुभएका ओली २०३० सालसम्म आइपुग्दा १० पटक भन्दा बढी गिरफतार र रिहा हुनु भएको इतिहास हामीसँग जीवित नै छ । तर उहाँको लामो जेल जीवन यात्रा २०३० असोज २३ बाट शुरु भयो । उहाँले आफनो जेल जीवन देशका विभिन्न जेलहरूमा बिताउनुभएको छ ।

पहिलोपटक उहाँ रौतहटको गौर जेलमा रहनुभयो । त्यसपछि उहाँलाई वीरगञ्ज थाना र वीरगञ्ज जेलमा चलान गरियो । २०३० मंसिर ८ गते उहाँलाई भद्रगोल काठमाडौं चलान गरियो । त्यसको तीनदिन पछि मंसिर ११ गते सेन्ट्रल जेलको गोलघर चलान गरियो । उहाँलाई त्यो समयमा २०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा राखियो । त्यसपछि उहाँलाई नख्खु जेलमा राखियो । उहाँलाई फेरि २०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै फिर्ता गरियो । २०३६ जेठमा गोलघर बाहिर निकालियो । २०३७ चैतमा पुनः नख्खु जेल पठाइयो । २०३९ माघ ३ गते पोखरा जेल चलान गरिनु भएका ओलीलाई २०४२ कात्तिकमा स्याङ्जा जेल पठाइयो । २०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान गरिनुभएका ओली ०४३ माघ १२ गते भद्रगोल जेल चलान गरिनुभयो र २०४४ असार ११ गते उहाँ भद्रगोल जेलबाट रिहा हुनुभयो (शर्माः २०२०) ।

२०३० असोज २३ बाट शुरु भएको चारवर्षको गोलघरको यातना सहित १४ वर्षे ओलीको जेल जीवन अहिलेका पुस्ताको कल्पना भन्दा बाहिरको कुरा हो । उहाँको जेल जीवनले लोकतन्त्रप्रतिको निष्ठा, नेपालको कम्युनिष्ट आन्दोलन प्रति देखाएको उहाँको समर्पण,राजनीतिक परिर्वतनमार्फत समृद्ध राष्ट्रको निमार्ण गर्दै भावि पुस्ताका लागि योगदान गर्ने उहाँको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।अहिलेका समकालिन विश्व राजनीतिका खेलाडीहरुको बीचमा विश्वका हरेक देशका सरकार प्रमुखहरुको त्याग र बलिदानसँग ओलीको यो त्याग र समर्पणको तुलना गर्ने हो भने ओलीको व्यक्तित्व विश्वका समकालिन नेताहरू भन्दा निकै उच्च रहेको पाइन्छ ।

४. केपी शर्मा ओलीको जेलजीवनपछिको राजनीतिक यात्रा 

केपी शर्मा ओली जेलमा रहदा नै २०३६ सालमा जनमत संग्रहको घोषणा भएको थियो । जुन जनमत संग्रहमा तत्कालिन नेकपा मालेले बहिष्कारको नीति लिएको थियो । केपी शर्मा ओलीको जेलभित्रैको पहलबाट मालेले पनि यो जनमत संग्रहमा भाग लिएको थियो । झापा आन्दोलनदेखि नै कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिककरणको पक्षमा रहेका केपी शर्मा ओली जेलबाट बाहिर आएपछि शान्तिपूर्ण संघर्ष मार्फत नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यता बोकेका जननेता मदन भण्डारीसँग सहयात्रा गर्नुभयो । यी दुवै नेताका समान सोच र उदेश्यकाकारण सिरहाको विष्णुपुरकटीमा भएको नेपाल कम्युनिष्ट पार्टी मालेको चौथो राष्ट्रिय महाधिवेशनले जनताको बहुदलीय जनवाद निर्माणको पृष्ठभुमि तयार भएको थियो । २०४६ सालको जनआन्दोलनमा नेपाली काङ्ग्रेससँग सहकार्य गर्दै निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्यका लागि आन्दोलनको वातावरण निर्माण गर्ने काममा र अन्य कम्युनिष्ट पार्टीहरूलाई पनि आन्दोलनमा सामेल गराउनका लागि वाममोर्चाको निर्माणमा केपी शर्मा ओलीले निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो ।

केपी शर्मा ओली २०४४ साल पुष २ गते तत्कालिन नेकपा मालेको केन्द्रीय कमिटिको बैठकबाट केन्द्रीय सदस्यमा मनोनित हुनुभयो र लुम्बिनी अञ्चलको इन्चार्जको जिम्मेवारी वहन गर्नुभयो । २०४६ सालसम्म पुग्दा नेपालको कम्युनिष्ट आन्दोलनको संगठन देशव्यापीरूपमा थिएन । दृष्टिकोण र विचारमा अन्यौलताहरू विद्यमान थिए । नेता र कार्यकर्तामा राजनीतिक वैचारीक स्पष्टता थिएन । तर २०४६ सालको जनआन्दोलकैक्रमा नेकपा माले देशव्यापीरुपमा पुग्यो र आम जनताहरू बीचमा कम्युनिष्ट पार्टी र विचार प्रति आकर्षण पैदा भयो । यो काममा महत्वपूर्ण भूमिका केपी शर्मा ओलीले निर्वाह गर्नु भएको थियो ।

केपी शर्मा ओलीले २०४७ सालको संविधान निर्माणका क्रममा संविधान निर्माणसँग सम्वन्धित पार्टीका धारणाहरूलाईलाई २७ वुँदा मार्फत सुत्रीकृत  गर्दै जननेता मदन भण्डारीको सहयोगीकोरुपमा आफूलाई उभ्याउनु भएको  थियो । उहाँ राष्ट्रिय प्रजातान्त्रिक युवा संघको संस्थापक अध्यक्ष पनि हो र यो संगठन मार्फत देशव्यापीरूपमा युवाहरूलाई राष्ट्र, राष्ट्रियता, जनजिविका र लोकतन्त्रका पक्षमा संगठित गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्नुभयो । त्यस्तै  २०४७ साल पुस १२ गते तत्कालिन नेकपा माले र नेकपा मार्क्सवादी पार्टी बीचको एकिकरण गर्ने र नेकपा एमाले निर्माणको काममा महत्वपुर्ण भूमिका खेल्नु भएको थियो । उहाँले नेकपा एमालेको २०४९ मा केन्द्रीय विदेश विभाग, २०५० मा केन्द्रीय कमिटि प्रचार विभाग, र २०५१ मा पार्टी संसदीय विभाग प्रमुखको जिम्मेवारी निर्वाह गर्नुभयो । २०५४ सालमा नेपालगञ्जमा सम्पन्न भएको छैठौँ महाधिवेशनबाट जनताको बहुदलीय जनवादको कार्यनीति प्रस्तावलाई अत्याधिक बहुमतले पारित गरेपछि उहाँ स्थायि समितिमा निर्वाचित हुनुभयो । र यो कार्यकालमा उहाँले विदेश विभाग प्रमुखको जिम्मेवारी पनि निर्वाह गर्नुभयो । २०५९ माघमा जनकपुरमा भएको पार्टीको सातौँ महाधिवेशनमा उहाँले पार्टीको आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणालीको शुरु गर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । तर उक्त प्रस्ताव अर्को महाधिवेशनसम्मको लागि स्थिगित गरियो तर उहाँले स्थायी कमिटी सदस्य सहित विदेश विभाग र केन्द्रीय पार्टी स्कूलको प्रमुखको जिम्मेवारी निर्वाह गर्नुभयो । २०७५ साल फागुनमा बुटवलमा भएको आठौँ राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणालीको स्थगित प्रस्ताव स्वीकृत गरियो । उहाँ यो महाधिवेशनमा अध्यक्षको प्रत्यासी वन्नुभयो तर पराजित हुनुभयो तर पार्टीको स्थायि समिति सदस्य र विदेश विभाग प्रमुखको जिम्मेबारीमा रहनुभयो । २०७१ साउन १ गते काठमाण्डौमा सम्पन्न भएको पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो । 

५. राजकीय जिम्मेवारीमा केपी ओली
नेपाल सरकार परराष्ट्र मन्त्रालय, सिहदरवार काठमाण्डौ (२०१६) का अनुसार केपी शर्मा ओलीको जीवनी २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ सालमा सम्पन्न भएको पहिलो आम निर्वाचनमा झापा जिल्लाको क्षेत्र नम्बर ६ बाट केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यका रूपमा पहिलोपटक निर्वाचित हुनुभयो । २०५१ मा भएको मध्यावधि निर्वाचनबाट केपी शर्मा ओली झापा क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । यो मध्यावधि निर्वाचनबाट नेकपा एमालेले २०५१ मंसिर १४ गते बहुमतको सरकार बनायो । उक्त मन्त्री परिषदमा केपी शर्मा ओली गृहमन्त्रीमा नियुक्त हुनुभयो । उहाँको यो गृहमन्त्री काल इतिहासमा स्वर्णिम कालका रूपमा रहेको छ । उहाँको यो कार्यकालमा मुलुकमा राजनीतिक आन्दोलनका हिसाबले एकजना मानिसले पनि ज्यान गुमाउनु परेन । २०५६ मा नेपालमा फेरि अर्को आम निर्वाचन सम्पन्न भयो । उक्त निर्वाचनमा केपी ओली झापा क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । २०५६ देखि २०५९ सम्म संसदमा प्रमुख प्रतिपक्षी दलको उपनेता रहनुभएका ओलीले संसद पुर्नस्थापना भएपछि २०६३ वैशाख देखि २०६३ चैत्र सम्म उप–प्रधान र परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो ।

त्यो समयपछि २०६४ सालमा संविधानसभाको पहिलो निर्वाचन सम्पन्न भयो तर उहाँ इतिहासमा पहिलोपल्ट पराजित बन्नुभयो । त्यसपछि २०७० साल मंसिरमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभामा निर्वाचित हुनुभयो । र २०७० माघ २१ गते पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दे पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभयो ।

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि तत्कालिन संविधानसभा, व्यवस्थापिका संसदमा रूपान्तरण भयो र उक्त व्यवस्थापिका संसदबाट २०७२ असोज २४ गते पहिलोपटक केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । २०७३ साउन ९ गते राजिनामा दिनुभएका प्रधानमन्त्री ओली २०७४ मंसिर १० र २१ मा भएको आमनिर्वाचन पछि दुई तिहाइ तिहाइ बहुमत सहित २०७४ फागुन ३ गते प्रधानमन्त्रीको रूपमा निर्वाचित भई सरकारको नेतृत्व गर्नुभयो । 

६.     केपी शर्मा ओलीका भाषणका विशेषताहरु 
केपी शर्मा ओलीको प्राज्ञिक र राजनीतिक क्षमताको मापन गर्न हरकोहीलाई निकै कठिन हुन्छ । उहाँका जीवन संघर्षका गाथा पढेर, उहाँका बाणी सुनेर र उहाँको अनुहार हेरेर समेत हर कोहीलाई राजनीतिक र प्राज्ञिक उर्जा मिल्छ ।  

आफ्नो राजनीतिक जीवनमा केपी शर्मा ओलीले कति भाषण गर्नुभयो, त्यसको हिसाबकिताब राख्न निकै कठिन काम हो । तर यति चाहिँ भन्न सकिन्छ, केपी शर्मा ओली पछिल्लो समयमा सञ्चार जगतमा सबैभन्दा सुनिने र पढिने नाम वनेको सत्य कसैबाट लुकेको छैन । छापाहरूमा र युट्युबहरूमा अहिले उहाँका हजारभन्दा बढी भाषणहरू हामी पढ्न र सुन्न सक्दछौ । आफ्नो वाककला र व्यञ्जनात्मक बिम्बहरूको प्रयोगले केपी शर्मा ओलीका भाषणहरूमा ओझिला र आकर्षक रहेका छन् । उहाँका केही प्रतिनिधि भाषणहरूको अध्ययन गर्नै हो भने उहाँका भाषणहरूमा निम्न विशेषताहरू पाइन्छ । 

राजनीतिक विशिष्टताः 

उहाँका हरेक भाषणहरूको विषयमा राजनीतिक कन्टेन्टहरू अर्थात् राजनीतिक विषयवस्तु, देशमा नीति नियम, राजकीय विषयहरू आदि समावेश हुन्छन् । समय सन्दर्भ अनुसारका राजनीतिक भाषणहरूमा राजनीतिको विशिष्ट पक्षहरू समाहित हुनु केपी शर्मा ओलीको भाषणको प्रमुख विशेषता हो । ​​​​​​​

राष्ट्रवादी अडानः 

आफ्नो भाषण र व्यवहारकाकारण आज आम नेपाली र विदेशीसम्मले केपी शर्मा ओलीलाई राष्ट्रवादी नेताकोरुपमा चिन्दछन् र मान्दछन् । उहाँका हरेक भाषणमा राष्ट्रवाद मगमगाएको हुन्छ । उहाँका  भाषणमा देशको  क्षेत्रीय अखण्डता सार्वभौमिकता र आत्मनिर्भरताका विषयहरू भरपुररुपमा पाइन्छ । त्यसैले उहाँका भाषणहरूमा राष्ट्रवादी अडान पाइन्छ । 

विकासमा केन्द्रीत : 

उहाँका प्राय हरेक भाषणहरूमा देशको आर्थिक विकास र पूर्वाधार निर्माणका सवालहरू भाषणका मुख्य विषयहरू हुन्छन् । यी भाषणहरूमा देशको समग्र आर्थिक सामाजिक विकास, प्रगति र वृद्धिको आवश्यकतामा आधारित भएको हुनाले उहाँका भाषणहरूले देशको विकासमा फोकस भएको पाइन्छ । .

रचनात्मक आलोचनाः 

उहाँका भाषणहरूमा सीर्जनशीलता र रचनात्मक आलोचना पाइन्छ । कुनै विषयवस्तुकावारेमा उहाँका प्रस्तुति वा विपक्षीहरूको आलोचना गर्दा पनि उहाँले आफना भाषणहरूमा बिम्बहरूको प्रयोग गरेर रचनात्मक आलोचना गरेको पाइन्छ । त्यसैले उहाँको भाषणको अर्को विशेषता भनेको सृजना र रचनात्मकतासहितको आलोचना हो भन्न सकिन्छ । 

कूटनीतिक दृष्टिकोणः 

उहाँका भाषणहरूको अर्को महत्त्वपूर्ण विशेषता भनेको उहाँले प्रयोग गर्ने शब्दहरूमा रहेको कूटनीतिक भाषा हो । उहाँले व्यक्त गरेका द्धिदेशीय वा देशीय भाषणहरू हेर्ने हो भने उहाँले आफ्नो शब्दहरूमा सन्तुलित र कूटनीतिक विदेश नीतिको पक्षमा वकालत गरेको पाइन्छ भने नेपालको हितको रक्षा गर्दै विभिन्न राष्ट्रहरूसँग सहकार्यको खोजी गरेको पाइन्छ । त्यसैले उहाँका भाषणहरूमा कूटनीतिक दृष्टिकोण रहेको स्पष्ट देख्न सकिन्छ । .

सामाजिक समानतामा जोडः 

केपी शर्मा ओलीको भाषणको अर्को महत्त्वपूर्ण दृष्टिकोण भनेको सामाजिक समानता हो । उहाँका भाषणमा असमानताको अन्त्य र सामाजिक, आर्थिक समानताको अर्थ लुकेको हुन्छ । 

​​​​​​​नेपालको राष्ट्रिय आत्मनिर्भरताः 

केपी शर्मा ओलीका हरेक भाषणहरूमा नेपालको आत्मनिर्भरता र अर्थतन्त्रको संस्थागत विकासमा आधारित हुन्छन् । नेपालको विभिन्न पक्षहरूको राष्ट्रिय आत्मनिर्भरतालाई जोडेर उनका भाषणहरू व्यक्त भएका छन् । उहाँले आफना भाषणहरूमा नेपालको विकास र आर्थिक स्वार्थलाई प्राथमिकता दिएबाट पनि उहाँका भाषणहरूमा नेपालको राष्ट्रिय आत्मनिर्भरताका विषयहरू पाइन्छन् । 

 

संविधान र संसद सुधारः 
केपी शर्मा ओलीको भाषणको अर्को विषय भनेको नेपालको संविधान र संसद, कानुनी र नीतिगत सुधारहरूमा केन्द्रीत रहेको छ । त्यसैले उहाँका भाषणहरुको विशेषता भनेको संविधान र संसदको सुधार पनि हो भन्न सकिन्छ । 

यसका अलवा उहाँका भाषणहरुमा नेपाल र यसको  अन्तरराष्ट्रिय सम्बन्धकावारेमा समाज र सांस्कृतिक मुद्दाहरू उठान गर्ने सन्दर्भमा नेपालको सामाजिक, राजनीतिक र अर्थतन्त्रका मुद्दाहरूमा, नीति र दर्शन उहाँका भाषणका अन्य विशेषताहरु हुन । उहाँका भाषणले जनतालाई प्रेरणा र उत्प्रेरित गर्न सक्छ. र उहाँका वाणीहरुवाट मानिसहरु उत्पे्ररित वनेर आफनो जीवनमार्ग सफल वनाउन सक्दछन । त्यस्तै उहाँका भाषणहरूले राष्ट्रले सामना गरिरहेका मुद्दाहरू र सरोकारहरूलाई सम्बोधन गरिरहेको हुन्छ भने अर्कातिर उहाँका भाषणहले सरकार र नागरिकहरूबीचको विश्वास र पारदर्शिताको भावनालाई बढावा दिन मद्दत गर्नुकासाथै यो वीचको खाडल पता लगाउने र त्यो ग्यापलाई न्युनिकरण गर्ने काम समेत गरिरहेको हुन्छ । .

उहाँका भाषणको अर्को विशेषता भनेको ऐतिहासिक पक्षको उजागर गर्नु हो । यसले हाम्रा समाजका परम्परागत मुल्य मान्यतालाई नयाँ पुस्ताहरूकोवीचमा जीवन्त संवाद र सञ्चारको काम गरिरहेको हुन्छ र देशको सांस्कृतिक र राजनीतिक सम्पदाको समेत संरक्षण गरिरहेको हुन्छ । 

केपी शर्मा ओलीको भाषणको अर्को महत्वपुर्ण विशेषता भनेको उहाँको भाषणमा प्रयोग भएको प्रकृतिसँग सरोकार राख्ने मौलिक व्यञ्जनाको प्रयोग हो । व्यङ्ग्यको हिसावले फरक सन्दर्भ र परिवेशअनुसार उहाँले आफनो भाषणमा व्यञ्जनाको प्रयोग गर्नुभएको छ । उहाँका भाषणहरुमा प्रयोग भएका व्यञ्जनाहरूका आफनै मौलिक सन्दर्भ र परिवेशहरू छन् । केपी शर्मा ओलीका अभिव्यक्तिलाई अन्य नेताहरूका अभिव्यक्तिसँग तुलना गर्ने हो भने त्यहाँ केही न केही मौलिकपन पाइन्छ । आम स्रोताहरूले उनका अभिव्यक्तिलाई रूचाउनका कारण पनि त्यसमा पाइने व्यञ्जनाको स्वाद हो भन्न सकिन्छ । उनका अभिव्यक्तिमा व्यञ्जनाको प्रयोगको आफ्नै तरिका छ । आफूले ग्रामीण परिवेशमा देखेका भोगेका र आम मानिसले समेत बुझ्न सक्ने हिसावले उनका अभिव्यक्तिहरूमा व्यञ्जनाको प्रयोग भएको पाइन्छ ।  त्यसैले केपी शर्मा ओलीलाई धारा प्रवाहरुपमा व्यञ्जनाशक्तिसहितको अभिव्यक्ति गर्न सक्ने नेताकोरुपमा बुझन सकियो भने उहाँप्रति न्याय हुन सक्छ । 

निष्कर्ष 

यो लेखले केपी शर्मा ओलीको बाल्यकालदेखि हालसम्मको परिचय उहाँको बाल्यकाल, जेल जीवन, राजनीतिक करियर लगायतका पक्षहरूलाई समेट्ने प्रयत्न गरिएको छ । यो लेखमा उहाँले अहिलेसम्म व्यक्त गरेका भाषणहरू जुन लेख्य र श्रव्य भाषामा प्रकाशित र प्रसारित भएका छन्, ती भाषणहरूको विश्लेषणका आधारमा त्यसमा समावेश विषयको व्याख्या नगरेर तिनीहरूको विशेषतालाई उल्लेख गर्ने प्रयत्न भएको छ । यो लेख केपी शर्मा ओलीकाबारेमा बुझ्न र उहाँकाबारेमा थप खोज अनुसन्धानका लागि सहयोगी सामाग्री बन्ने कुरामा विश्वास लिएकी छु ।

 अन्तममा, आज पर्न गएको उहाँ (केपी शर्मा ओली) को जन्म दिनमा उहाँलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु । 

​​​​​​​सन्दर्भ सामाग्री 
स्टडी आक्यु (२०२०), खडग प्रसाद ओली, वायोग्राफी हिन्दीमा, न्यु दिल्ली भारत । 
नेपाल सरकार परराष्ट्र मन्त्रालय, सिहदरवार काठमाण्डौ (२०१६) का अनुसार केपी शर्मा ओलीको जीवनी
पाल्की शर्मा (२०२०), नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चौधबर्षे जेल जीवन, न्यु दिल्ली भारत । 
काठमाण्डौ पोष्ट (२०१६) नयाँ निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ण जीवनी काठमाण्डौ नेपाल 
खडका सानुमैँया (२०७९) संसदमा ओली, काठमाण्डौ नेपाल 
शर्मा ओली (२०७४) दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टी एमाले, काठमाण्डौ नेपाल 

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ९ : १० बजे