साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

शुद्धि र सुदृढीकरणपछि बलियो राष्ट्र शक्ति बन्ने एमालेको सङ्कल्प

​​​​​​​संघीय राजधानी काठमाण्डौँमा नेकपा (एमाले), केन्द्रीय कमिटीको सातौँ बैठक सम्पन्न भएको छ । बैठकसँगै पार्टी जीवनको शुद्धि र सुदृढीकरणपछि बलियो राष्ट्र शक्ति बन्ने दृढ सङ्कल्प एमालेजनले लिएका छन् । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको राजनीतिक वैचारिक दिशानिर्देशसहितको सम्बोधन, वरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेल, उपाध्यक्ष कमरेड विष्णु पौडेल र उपमहासचिव कमरेड प्रदीप ज्ञवालीको पार्टी शुद्धि र सुदृढीकरणका सन्दर्भमा प्रस्तुत अवधारणापत्रमा आधारित रहँदै केन्द्रीय कमिटी सदस्यहरूले अत्यन्तै सक्रिय उपस्थितिमा उत्साहपूर्वक सहभागितामा बैठक समापन भएकाे  छ । पार्टी निर्माणका सन्दर्भमा प्रत्येक केन्द्रीय सदस्यहरूले यसपटक भने समय लिएर नै अघाउञ्जेलसम्म आफ्ना कुरा राख्न पाउनुभयाे ।

बैठकमा सहभागी प्रत्येक केन्द्रीय सदस्यहरूले अनिवार्य आफ्नो प्रस्तुति सामेलीकरण गर्नुपर्ने व्यवस्थाअनुरूप प्राप्त निष्कर्षका आधारमा कार्यसूचीमा आउँदो नयाँ वर्ष २०८१ पार्टी शुद्धि र सुदृढीकरणको वर्ष हुने टुङ्गो लाग्ने छ । बैठकले तदनुरूप केही केही नयाँ कार्य योजनाहरू निक्र्यौल गरेकाे छ  । एमाले जनआधारित कार्यकर्ता पार्टीका रूपमा परिचालित पार्टी भएकोले यससम्बन्धी केही नवीन योजनाहरू  तर्जुमा भएका छन् ।

​​​​​​​–युवराज बास्कोटा ‘यज्ञ’

पृष्ठभूमि

पार्टीको ऐतिहासिक दशौँ राष्ट्रिय महाधिवेशनबाट दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गर्दै जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न दिशानिर्देशित एमालेलाई पार्टी जीवनको आन्तरिक व्यवस्थापनमा शुद्धि र सुदृढीकरणमार्फत राष्ट्र निर्माणमा निर्विकल्प शक्तिका रूपमा चिनाउनु छ भने राष्ट्रिय राजनीतिमा एमालेबाहेकका सारा शक्तिहरू एकातिर भए पनि एक्लो एमाले मात्र बलियो शक्तिका रूपमा उभ्याउनु जरुरी भएको छ, चुनौतीपूर्ण भएको छ ।  

मिशन ग्रासरूट र समृद्धिका लागि सङ्कल्प यात्रा झुलाघाट–चिवाभञ्ज्याङ २०८० सम्पन्न भएलगत्तै पार्टीले प्राप्त गरेको नयाँ आशा, भरोसा र विश्वासको जगमा समाजको नेतृत्व गर्ने थप जाँगर आर्जन गरेको छ, योजनाबद्ध अग्रसरता लिने स्वर्ण अवसर समेत प्राप्त गरेको छ । यसको सापेक्षमा पार्टी एकमना एकताभावका साथ उभिनु अनिवार्य छ । निःसन्देह पछिल्ला केही समययता नेपाली समाजमा स्पेश लिइरहेको सामाजिक सांस्कृतिक गम्भीर विचलन, पार्टीको आन्तरिक जीवन व्यवस्थापनमा सन्तुलन अभाव र एमाले नेतृत्वको उपस्थितिसँगै भए गरिएका कामको प्रचार अभावको समीक्षा सहित सम्पादित कामको चुस्त सन्देश प्रवाह र प्रभावकारिताका बारेमा एमालेजन बढ्ता गम्भीर देखिएको छ । 

पार्टी जीवनमा स्थापित दार्शनिक पक्ष, सिद्धान्त, बिचार, सहीपनको कार्यक्रम, कार्यदिशा, यी पाँचवटा पक्षले गाइड गरेको सङ्गठन र सङ्गठनात्मक व्यवस्थापन, व्यवस्थापकीय नीति र नेतृत्व, नेतृत्व र कार्यकर्ताबीच अन्तरघुलनपूर्ण सम्बन्ध, राष्ट्रिय हित र जनसरोकारका विषयउपर एमालेजनको अविराम बहस र पैरवीमाथि उब्जेको अलमल र ढिलासुस्तीलाई यसपटक सम्पन्न सातौँ पूर्ण बैठकले पाइन लगाउने काम गरेको छ, एउटै ताँदोबाट छुटेको तिर झैँ छुट्ने र जुट्ने कामप्रतिको आकर्षणता थपेको छ । 

​​​​​​​अवधारणापत्रको प्रस्तुति

शुद्धि र सुदृढीकरणसम्बन्धी नेतृत्वबाट प्रस्तुत अवधारणापत्रले वस्तुस्थितिको गहिरो अध्ययनसँगै एउटा सटिक निष्कर्षका रूपमा विकसित राजनीतिक वैचारिक दिशानिर्देश गरेका छन् । अवधारणापत्र आफैँमा अत्यन्त गहन, वैज्ञानिक र सारगर्भित छन् । आजको एमालेको सर्वाधिक सग्लो र अग्लो जीवन र यसले लिनुपर्ने अग्रसरताका लागि मार्ग प्रशस्त गर्न असाधारण महत्व राख्दछन् । 

अवधारणापत्रमाथि आफूलाई लागेका वस्तुपरक पक्षहरूलाई राख्न र खुलाखुलस्त छलफलमा सहभागी हुन मातहतको पङ्क्तिलाई अनिवार्य गराइसँगै परिस्थितिलाई एकदमै सहज, सौम्य र अपनत्वबोधपूर्ण बनाइदिएको छ । बलियो पार्टी निर्माणको बृहत्तर अभियानअन्तर्गत सहयोद्धा पङ्क्ति लामबद्ध उपस्थित भएको छ । 

पार्टीमा स्थापित नीति र नीति कार्यान्वयन गर्न गराउन चाहिने यसको मूल नेतृत्वमा कुनै समस्या छैन तर परिस्थिति किन सोचेजस्तो सहज भइरहेको छैन ? अलि फरक ढंगले किन विकास भइरहेको छ ? भन्ने सामान्यतः चासो र सरोकारको विषयउपर अध्यक्ष सहितको नेतृत्व एक मञ्चमा उभिएर एक स्वर गम्भीर देखिनुभएको छ । पिलो छ भने यसलाई खेलाएर वा सुमसुम्याएर होइन, जिलो नबढ्दै निचरेर फाल्न एकसाथ प्रयत्न भएको छ । बैठकको यो अत्यन्तै सुन्दर पक्ष हो ।

सैद्धान्तिक पक्ष

जननेता मदनकुमार भण्डारीको राजनीतिक वैचारिक योगदानको प्रतिफल स्वरूप सङ्गठित नेपाली कम्युनिष्ट आन्दोलनको मूलधारको रूपमा रहेको नेकपा (एमाले) का अध्यक्ष श्रद्धेय नेता कमरेड केपी शर्मा ओलीको राजनीतिक उँचाइ समकालीन राजनीतिमा सर्वाधिक उँचोस्थानमा पर्याप्त मानसम्मानका साथ सुशोभित छ । अध्यक्ष कमरेडकै वैचारिक अगुवाइमा हामीले पार्टीको ऐतिहासिक आठौँ महाधिवेशनद्वारा सगर्व प्राप्त गरेको अर्को ठूलो पुँजी भनेको पार्टी जीवनको लोकतान्त्रीकरणको प्रक्रिया हो । विभिन्न बेलामा र विभिन्न विधामा यसको सिर्जनात्मक प्रयोग हुँदै आएको छ । 

जननेता भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको आलोकमा यसको सङ्गठनात्मक सिद्धान्तको रूपमा पार्टी जीवनको लोकतान्त्रीकरणको प्रक्रिया अभिन्न अङ्ग बन्यो । पार्टीको जीवनको आन्तरिक लोकतन्त्र पार्टीमा महासचिव संस्था रहने, महासचिव एकल निर्णायक हुने र पार्टी सङ्गठनात्मक जीवनमा महासचिव सर्वेसर्वा हुने पार्टी कमिटी प्रणालीविरुद्ध बहुपदीय उपस्थितिभित्र सामूहिक जिम्मेवारी बोधसहितको नेतृत्व प्रणाली स्थापना गर्ने परिष्कृत राजनीतिक सङ्गठनात्मक जीवन व्यवस्थापनको परिकल्पनाको प्रतिफल थियो । अत्यन्तै सुन्दर र सजीव विषय थियो । 

प्रयोगमा अहिले यो सामूहिकता यदाकदा खण्डित भएको छ, हराउँदै र लजाउँदै गएको छ । बहुपदीय मर्यादाभित्र अध्यक्ष निर्णायक हुने र अलिअलि दायरा फराकिलो भए पदाधिकारीमा सीमित रहने स्थिति विकास भएको छ । यसबेला यदि मैले बुझेको गलत होइन भने अहिले पार्टी जीवनमा सामूहिकता अभावमा जे अभ्यास अवलम्बन र विकास भइरहेको छ, त्यसले पनि नेतृत्व चाहे जुन कुनै कमिटीको किन नहोस् ! अध्यक्ष चाहिँ जसरी पनि हुनुपर्ने दौडमा असिनपसिन छ । कतिपय नेतृत्व केन्द्रीय कमिटी छाडेर प्रदेश अध्यक्ष हुन दौडधुपमा उत्रिएको छ । प्रदेश कमिटी सदस्यले आफ्नो गहकिलो जिम्मेवारी छाडेर जिल्ला अध्यक्ष हुन बाटो हेरेको छ । जिल्ला कमिटी सदस्य यो जिम्मेवारी छाडेर पालिका कमिटी अध्यक्ष हुन चाँजोपाँजो मिलाउँदै छ । चुनावमा जितेपछि जित्ने ठालु पल्टने र हारेपछि जित्ने–हार्नेबिच शत्रुतापूर्ण सम्बन्ध विकास हुने स्थिति बन्ने गरेको छ । 

अर्थात्, सिद्धान्तको सहिपना र यसको व्यवस्थापनमा सिद्धान्त र व्यवहारबीच ठूलो दुरी छ, देखादेखी बेमेल छ । यसबाट फाटेको धाँजालाई सम्म्याउनुपर्ने छ, अस्वस्थ्य दौडधुपमा भएको जीत र हारका कारण चोइटिएको मनलाई खाटा र टाटा बस्न नपाउँदै मिलाउनुपर्ने छ र पार्टी जीवनको आन्तरिक लोकतन्त्रलाई सिकाइ र अभ्यास अवलम्बनका क्रममा थप सबल र सुदृढ बनाउन आवश्यक मात्रामा गोडमेल गर्नुपर्ने छ । 

राजनीतिक योग्यता बोकेको नेतृत्वमाझ शक्ति विन्यासका दृष्टिकोणले कमिटीको प्रमुखले राजनीतिक सत्ताको नेतृत्व र यसको कार्यकुशलतापूर्वक सञ्चालन गर्नुपर्छ र राजकीय सत्ताको लागि आवश्यकताअनुसारको जनशक्ति निर्माणमा अलगअलग ढंगले ध्यान दिनुपर्छ । सचिव उपसचिव सहसचिव ब्युरोक्रेसीका अघिपछि दस्तखत प्रमाणित गर्न मात्र नउभियोस् हाम्रो जनप्रतिनिधि भन्ने अर्थमा विषयगत योग्यताका साथ कार्यकर्ताको पङ्क्ति तयार गर्नुपर्छ । 

जनमतले आफ्नो नेता, प्रतिनिधि र जनप्रतिनिधि अत्यन्तै पारदर्शी जीवनशैली अँगालेको, व्यवहारमा मलिन, शिष्ट र भद्रपात्रको रूपमा सधैँभरि आफूसँगै रहेको देख्न चाहँदो रहेछ । अबको सङ्गठनात्मक कामको व्यवस्थापनभित्र प्रमुख अतिथिसँगै बैठक स्थल पुग्ने र बैठक सकिनासाथ फर्किने प्रकृतिको पात्र विशेष प्रवृत्ति होइन, मानवीय संवेदनशील अवस्थाको साह्रोगाह्रो, औषधी उपचार, मर्दापर्दाबाहेक अविराम भूगोलमा रहने कार्यकर्तालाई मात्र भूगोल आधारित कमिटीको जिम्मेवारी दिने अनिवार्य शर्त विकास गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने देखिएको छ । 

राजनीतिक पक्ष

निराशा व्याप्त विद्यमान नेपाली समाजको नेतृत्व गर्ने राजनीति शक्तिमा पुराना दल र नेतृत्वविरुद्ध एउटा जबरजस्त नकारात्मक भाष्य खडा गर्न खोजिँदै छ । एकातिर राजनीतिक संयन्त्रमाथिको धावा बोलेर व्यवस्थाप्रति टीकाटिप्पणीको चाङ लगाउने प्रयत्न भएको छ भने अर्कोतिर मुलुकको अर्थ राजनीतिलाई कमजोर र धारासायी तुल्याउने पनि उत्तिकै भरमग्दुर प्रयास भइरहेको देखिन्छ । गठबन्धन र यसमा सामेल दलको अकर्मण्यताका कारण पुरानाप्रति निशाना साँधिएको यो नकारात्मक भाष्यले शनैशनै तलसम्म जरा गाडेको छ । यद्यपि, यसका अघिपछि देशी विदेशी शक्तिको ठूलो लगानी छ । यसलाई एकदमै कम आँक्नु पनि हुँदैन । पुराना राजनीतिक दलहरू पटक पटक टेस्टेड हुन् भन्ने कुराले पाका र नयाँ दुवै पुस्तालाई गाँजेको छ । यसरी झ्वाट्ट हेर्दा एमालेले पनि अवसर नपाएको भने होइन । पाएकै हो । तत्कालीन, अल्पकालीन र दीर्घकालीन महत्वका कामहरू गर्न चाहेको यो हो, गर्न यति मात्र सकियो भनेर एक खालको महशुस भएको आधार प्रस्तुतिसहितको अग्रसरता लिनुपर्छ । 

वस्तुतः हाम्रो यति बेलाको गन्तव्यको मिशन ८४ भनेको के हो ? मिशन प्राप्त भएपछि हामी जाने कहाँ र कता हो ? समाजवादको आधार निर्माणको वस्तु पक्ष के हो ? विशेषतः जिल्ला र पालिका–पालिकाको वस्तुगत परिस्थिति, परिस्थितिजन्य उपस्थिति र आवश्यकताका आधारमा सूक्ष्म योजना तर्जुमा र कार्यान्वयनका उपाय सहित अग्रसरता लिन अविलम्ब गृहकार्य आरम्भ गर्नुपर्छ । 

यतिबेला एमालेमा नीति र नेतृत्वमा अन्यौल छैन । तर साँचो कुरा चाहिँ के हो भने मातहतका कमिटी प्रणालीअन्तर्गत पार्टी सम्बन्धित कमिटीभित्र बहुकेन्द्र बन्ने होड, मोह र दौडमा छ । एकले अर्कालाई साथ लिने÷दिने होइन, व्यवहारतः सहँदै नसहने स्थिति विकास भएको छ । कम्युनिष्टविरोधी देशी विदेशी शक्ति यो नै चाहन्छन्, जुन हामी स्वयं गरिआएका छौँ । परस्पर विभेदजन्य व्यवहार, हेलाँ, उपेक्षा आदि प्रस्टैसँग झल्किन्छ । यो सैद्धान्तिक र राजनीतिक रङ्ग, रोगन, लेपन आदि केही होइन, कुनै प्रश्न र प्रस्थान बिन्दु केही पनि होइन, फुली प्राप्तिको मृगतृष्णा मात्र हो । सीमित नेताहरूको शक्तिसंघर्षले खेलेको निर्णायक भूमिकाको प्रतिफल हो । यसलाई निरुत्साहित तुल्याउन जरुरी छ ।  

सङ्गठनात्मक पक्ष

राजनीतिक सत्ता र राजकीय सत्ताको जोड घटाउले पनि पार्टी सङ्गठनात्मक जीवन प्रभावित हुने गरेको छ । अवसरको गणितअनुसारको झण्डा बोक्नेलाई पार्टीको नाम लिन थालेकै दिनदेखि पहिचान गर्न सक्नुपर्छ । आफूले टिकट नपाउँदा वा आफू अनुकूल नहुँदा आफ्नै सहयात्री साथी सूर्य चिन्ह ध्वाजाबाहक उम्मेदवारलाई हराउन देखादेखी लागेका, उछितो काढ्दै हिँडेका, असहयोग र अन्तर्घात गरेकालाई कारबाहीको दायरामा ल्याउनुपर्छ । यस्ता ढोँगी, अन्तर्घाती, बिचौलिया, खोटी, लोभी र लालची प्रवृत्तिलाई दैनन्दिन गतिविधिमा निषेध गर्न सक्नुपर्छ । नत्र, यो पार्टीमा जे गरे पनि हुन्छ, छुट छ भन्ने मनोदशाले दिशाविहिनस्वरूपमा आकार लिँदै जाने खतरा बढ्दो छ । 

प्रत्येक नेता कार्यकर्ताको कार्यसम्पादन स्वमूल्याङ्कन विधि निर्धारणमा जोड दिइरहँदा कसैकाविरूद्ध कसैले कुरा लगाएको भरमा मूल्याङ्कन हुने र नेतृत्वले धारणा बनाउने कुरालाई निरुत्साहन तुल्याउन सक्नुपर्छ र विगतका साह्रा गाह्रा र अभरका बखतमा काम उठाउने र काँध थाप्ने साथीहरूको मन गलेको यथार्थलाई स्मरण गर्नुपर्छ । 

यसो अलिअलि केही अवसर पायो कि (वडाध्यक्ष, मेयर, प्रदेश मन्त्री, मुख्यमन्त्री) भयो कि गाउँमा भए शहरमा आउनुपर्ने, घर गाडी आदि जोड्नुपर्ने, तारे होटलको लभीकक्षलाई भेटघाट स्थल बनाउनुपर्ने, अचाक्ली ठूलो तामझामका साथ घरायसी कर्म, संस्कार, पर्व आदि मनाउनुपर्ने, समग्रतामा आफ्नो निम्ति, आफ्नो परिवारको निम्ति, आफ्ना आफन्तजनको सुख सुविधा प्राप्तिका निम्ति सोच्नु कुरालाई व्यवहारतः निरुत्साहन गर्नुपर्छ । गैर कम्युनिस्ट र हामी कम्युनिष्टबीच फरकपन दिन सक्ने रहरलाग्दो, भरलाग्दो र आशलाग्दो  कार्यक्रम, कार्यकर्ता आचरण सहितको सांस्कृतिक गतिविधिमा अग्रसरता लिनुपर्छ । 

पालिका तहसम्म आइपुग्दा पनि समुदायमा आधारित पार्टीसम्बद्ध जनसङ्गठनको पहुँच बिस्तार हुन सकेको छैन । प्रायशः वडा–वडामा शोक–समवेदना, भोजभतेर स्थलको सहभागिताबाहेक पार्टी देखिँदैन, भेटिँदैन । पालिकामै पार्टी कमिटीबाहेक जनसङ्गठन गठित र परिचालित अवस्थामा छैनन् । पार्टी कमिटीले पनि समुदायका मुद्दाउपर बोल्ने गर्दैन । फलतः जसले आफ्ना कुरा बोल्छ, ओकल्छ, समुदाय त्यसैतर्फ आकर्षित रहन्छ । जनजनको मन मिश्रित समुदायमा आधारित आधारभूत जनसङ्गठन निर्माणमा ध्यान जानुपर्छ । 

व्यवस्थापकीय पक्ष

कम्युनिष्ट आन्दोलनको यो मूल घर एउटै छ तर यो घरको छानोमुनि ओतिएको कार्यकर्ता पङ्क्ति र यसको व्यवस्थापनमा हुनेखाने र हुँदा मात्र खानेबीचको विभेद कायम छ । पटक पटक अवसर लिने र कहिल्यै केही नलिनेबीचको उपस्थिति उसको ब्राण्डेड पहिरन, ठाँटिलो चालढाल, शासकीय हाउभाउ र आकर्षित चिल्लो र निम्छरो फुस्रो अनुहारमा सर्लक्कै देखिन्छ । आम्दानीको स्रोत नभएको वा स्रोत परिचालन गर्न नसक्ने कार्यकर्ता अब पार्टीमा र पार्टीको नियमित काममा टिक्न, देखिन र भेटिन सक्ने अवस्था छैन । धान्न नसकेपछि अब क्रमशः आशलाग्दो कार्यकर्ता पङ्क्ति पलायन हुने दिन नआओस् भन्नेतर्फ सचेत हुन जरुरी छ । 

परस्पर व्यवस्थापनमा असमानता, महँगो हाम्रो राजनीतिक जीवनशैली र संसदीय अभ्यासलाई औसतमा जनमुखी, सर्वग्राह्य र सुपाच्य बनाउन जरुरी छ । नत्र, लक्षित समुदायबाट नेतृत्व विकास नहुने, उदासिन रहने र क्रमशः समुदाय नै हामीबाट टाढिने खतरा पनि उत्तिकै छ । 

​​​​​​​उपसंहार

नेपालका राजनीतिक अस्थिरता र अर्थ राजनीतिलाई खुम्च्याउन चाहने तागत र तिनका गोटीले जे जे प्रचार दुष्प्रचार गरे पनि प्राप्त राजनीतिक व्यवस्थाको विकल्प अर्को कुनै हुन सक्दैन । यो व्यवस्थाअन्तर्गत रहेर एमालेको अगुवाइमा नीति निर्माणमा आमरूपमा सबैको सहभागिताको सुनिश्चितता, महिलाको अनिवार्य ३३ प्रतिशतको सुनिश्चितता, छुवाछुतमुक्त अभियानको समष्टिमा व्यवस्थापन, आदिवासी जनजातिका मुद्दाको पहिचान र उठान, सिमान्तकृत र लोपोन्मुखलाई समेत मूलधारमा ल्याउने काम भएको छ सन्देश प्रवाह गर्न जरुरी छ । 

आमरूपमा बेरोजगारी व्यवस्थापन, देशभित्रै रोजगारी, पूर्वाधार विकास, मानव संशाधन विकास, खासगरिकन महिला, दलित, उपेक्षित, सीमान्तकृतका लागि आर्थिक सामाजिक रूपान्तरणका मुद्दाहरू, भूमिहीनताको मुद्दा र समग्र सांस्कृतिक रूपान्तरणको मुद्दालाई समाजका ससाना विषयका रूपमा उठाउन खोजियो भने यसले एउटा नयाँ ज्वार सिर्जना गर्न सक्छ । 

वस्तुतः अकारण होइन, विभिन्न कारणले बिग्रिएका हामी हौँ, जनमत होइन । बिग्रिएको तहगत नेतृत्व हो, आधारभूत तहको कार्यकर्ता पङ्क्ति होइन । बिग्रिएका हाम्रा जनप्रतिनिधि हुन्, मतदाता होइनन् । बेला छँदै सुधार्न सके, स्वयंलाई सच्याउन सके जसरी सूर्यको रापतापलाई कुनै पनि हत्केलाले रोक्न र छेक्न सक्दैन, त्यसरी नै एमालेको गहकिलो वर्तमानमा आधारित चहकिलो भविष्यलाई कसैलाई रोक्न छेक्न सक्दैन । शुद्धि र सुदृढीकरणपछि बलियो राष्ट्र शक्ति बन्ने एमालेको सङ्कल्पले पनि पूर्णता पाउने छ । 

बास्कोटाको यो लेख एमालेको केन्द्रीय समिति बैठक चलिरहेको बेला उपलब्ध भएपनि कारणवश प्रकाशन गर्न सकेनौँ । एमालेको केन्द्रीय बैठक लक्षित उक्त लेख समय सान्दर्भिक लागेर ढिलै भए पनि प्रकाशन गरिएको हो । -सम्पादक  

 

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ८ : ५२ बजे