एमाले कैलालीको मतदान अनिश्चितकालका लागि स्थगित

कैलाली । नेकपा (एमाले) कैलालीको निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

अधिवेशन सुरु भएको पाँचौं दिन बिहीबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएकोमा साढे ५ बजे निर्वाचन कमिटीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको जनाएको हो ।

अधिवेशनका प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले अर्को सूचना जारी नभएसम्ममा लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन ६ गते आइतबार अधिवेशनको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै उहाँले सहमति नभए भोलिपल्टै निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिनुभएको भए पनि कैलालीमा मतदान हुन सकेको छैन् ।

कैलालीमा नेतृत्वका लागि हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगाना प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ८ : १९ बजे