‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

लिग–२ः नामिबियाविरुद्ध नेदरल्यान्ड्सको सहज जित

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेदरल्यान्ड्सले नामिबियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।

१२४ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.२ ओभरमा (१३६ बल बाँकी छँदै) तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि माइकल लेभिटले सर्वाधिक ५७ रनको यागदान दिए भने म्याक्स ओ’डोडले २८ रन जोड्दा बास डि लिडे २१ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नामिबिया ३५.१ ओभरमा सबै विकेट गुमाएर मात्र १२३ रन बनायो । नामिबियाका लागि जोनाथन स्मिथले एक चौका र २ छक्कासहित सर्वाधिक २६ रनको योगदान दिए । रुबेन ट्रम्पलम्यानले ३९ बलमा २० रन बनाए । जेन ग्रिनले १९ रन बनाउँदा निकोलास डेभिन र कप्तान जेरहार्ड इरास्मसले १३–१३ रनको योगदान दिए ।

नामिबियालाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका आर्यन दत्त एक्लैले ६ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले ३४ रन खर्चे । यस्तै, कायल क्लेइनले २ तथा म्याक्स ओ’डोड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए ।

यसअघि नेपालसँग पराजित नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो । यता, नेपाललाई हराउँदै प्रतियोगिताको विजयी सुरुवात गरेको नामिबियाले भने पहिलो पराजय ब्यहोर्यो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  २ : ४८ बजे