आज ७४औं प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनीया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

प्रजातन्त्र दिवसमा २००८ सालपछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ ।  

सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरूपमा दिवस मनाउन आह्वान गरेको छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी हुन सफल भएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ७ : ४१ बजे