मेलम्ची परियोजना : पौने ७ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा भीम उपाध्यायसहित १५ विरूद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा करिब पौने ७ अर्ब भ्रष्टाचार भएको अभियोगमा १८ विरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तीन पूर्व सचिवसहित १५ जना व्यक्ति र तीनवटा कम्पनीविरुद्ध ६ अर्ब ७३ करोड बराबरको बिगो कामय गर्दै मुद्दा दायर गरेको हो ।

काठमाडौं उपत्यकामा खानेपानी ल्याउने वर्षौंदेखि उक्त परियोजनामा काम नै नगरी रकम भुक्तानी गरेको, भएको काममा बढी भुक्तानी गरिएको, ठेकेदारलाई लाभ हुनेगरी निर्णय गरिएको लगायतको कसुरमा भ्रष्टाचार मुद्दा दायर भएको हो । सरकारी सम्पत्ति हानीनोक्सानी गरी निर्माण व्यवसायीलाई लाभ गराएको र त्यस वापत् बैंक जमानीबाट असुल गरी सोमा लाग्ने ब्याज असुल नगरेको तथा पेश्की फर्स्यौट नहुँदै निर्माण व्यवसायीको कारणले ठेक्का अन्त्य भएपछि असुल हुन बाँकी रहेको रकम बैंक जमानतबाट असुल गर्दा त्यसमा लाग्ने ब्याज असुल नगरेको लगायतको अभियोगसहित मुद्दा दायर भएको हाे ।

पूर्वसचिवहरू सञ्जय शर्मा, भिम उपाध्याय र गजेन्द्र ठाकुरसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । तीनै जना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन् ।

यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ

पूर्वसचिव शर्मा र सहसचिव समेत रहेका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेलविरुद्ध ६ करोड ९७ लाख ८३ हजार १ ७८ रुपैयाँ बिगो मागदाबी गरिएको छ । त्यस्तै पूर्वसचिव उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २ सय ७९ र अर्को पूर्वसचिव ठाकुरविरुद्ध ६० करोड ५९ लाख १९ हजार ८ सय ८४ रुपैयाँ बिगो र त्यतिनै जरिवाना र कैद सजालय मागदाबी गरिएको छ । तीनै जना पूर्वसचिव मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष पनि हुन् ।

यी हुन् मुद्दा चलेका व्यक्ति र संस्था

१) तत्कालीन बोर्ड अध्यक्ष एवम् खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. सञ्जय शर्मा
२) अर्थ मन्त्रालयका तत्कालीन सह–सचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्द प्रसाद पौडेल
३) मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्याय
४) मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर
५) मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्र सिंह तामाङ
६) मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य चन्द्र बहादुर थापा
७) मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराई
८) मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव (लेखा) मणिभद्र न्यौपाने
९) मेलम्ची खानेपानी विकास समितिका तत्कालीन लेखा अधिकृत राम चन्द्र न्यौपाने
१०) मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव (लेखा) बेगनाथ पौडेल
११) मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव (लेखा) केदार प्रसाद अर्याल
१२) समितिका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर तथा उप–कार्यकारी निर्देशक (निर्माणस्थल) भोजबिक्रम थापा
१३) परामर्शदाता ईप्टिसा– बीईटीएस जेभीका तत्कालीन डेपुटु टिम लिडर शिवकुमार शर्मा
१४) परामर्शदाता ईप्टिसा सर्भिस डे इन्जिनियर्स एसएल र बीईटीएस कन्सलटिङ सर्भिसेज लिमिटेड जेभी
१५) निर्माण व्यवसायी सीएमसी डी राभेना

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ६ : १५ बजे